‘आफ्नो शक्ति लुकाऊ र मौकाको प्रतीक्षा गर।’ तेङ स्याओ पिङले दिएको यो प्रसिद्ध सल्लाहले गएको ४० वर्षमा चीनको निकै भलो गर्यो। तेङकै आर्थिक नीतिले चीनमा पूरै फेरबदल ल्यायो। उनले बुझेका थिए– धनी र बलियो बन्ने हो भने चीनले पश्चिमसँगको टक्करबाट बच्नै पर्छ।
तर, २०१२ देखि चीनमा शासन चलाउँदै आएका सी चिनफिङले भने ‘मौकाको प्रतीक्षा’ गर्ने युग समाप्त भएको निर्णय गरेका छन्। उनी त्यस्तो चीनको कुरा गर्छन्, जो ‘लड्ने हिम्मत गर्छ।’ सीको भनाइको अर्थ चीन युद्धमा होमिनैपर्छ भन्ने नभए पनि उनले आफ्नो वचन र कर्म दुवैले संकेत गरेका छन्– बेइजिङ आफ्ना अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीहरुलाई टक्कर दिन तयार छ।
सीको तर्क छ– उनका नीतिहरु अमेरिकी आक्रमकताको जवाफ मात्र हो। चिनियाँ जनतालाई ‘लड्ने हिम्मत गर्न’ आह्वान गरेको भाषणमा उनले अमेरिकाले चीनलाई नियन्त्रण र दमन गर्ने नीति अपनाएको आरोप लगाएका थिए।
तर, चीनको अवस्थाबारे सीको निष्कर्ष तीन महत्वपूर्ण हिसाबले गलत छ। यो निष्कर्षले अमेरिकी उदेश्यको गलत व्याख्या गर्छ। चीनको अर्थतन्त्रमा अमेरिकी नीतिले उत्पन्न गरेको खतरालाई यसले बढाइचढाइ गर्छ। र, अमेरिकासँग द्वन्द्वको जोखिमलाई यसले कम आँक्छ।
चिनियाँ अधिकारी र विद्वानहरु निजी छलफलमा प्रायः के तर्क गर्छन् भने चीनलाई ताइवान युद्धमा तानेर अमेरिका चीनको आर्थिक प्रगतिमा रोक लगाउने कोसिस गरिरहेको छ। तर, वासिङ्टनमा यस्तो षड्यन्त्र रचिएकै भए पनि (रचिएको छैन) त्यसलाई छल्न सजिलो छ। त्यसका लागि सीले ताइवानमाथि आक्रमण वा नाकाबन्दी नगरे बचे पुग्छ।
दोस्रो विश्वयुद्धअघि जापानीहरुले भन्ने गरेझैँ चिनियाँहरु आफ्नो अर्थतन्त्रलाई अमेरिकाले नाकाबन्दी गरेको गुनासो गर्छन्। तर, अमेरिका त्यो आरोप अस्वीकार गर्छ। अमेरिकाले प्रविधि निर्यातमा लगाएका प्रतिबन्ध चीनको युद्ध क्षमतामा मात्र केन्द्रित रहेको अमेरिकाको भनाइ छ। तर, चीनको समग्र आर्थिक वृद्धिलाई नै रोक्ने योजना अमेरिकाले बनाए पनि त्यो सम्भवतः सफल हुने छैन।
अरु मुलुकहरुजस्तै चीनका पनि आफ्ना समस्या छन्। तर, चीनको आर्थिक उदय भने अझै गज्जबको छ। यही वर्ष चीन जापानलाई उछिनेर विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बन्ने प्रक्षेपण गरिएको छ।
खासगरी चीनले विद्युतीय गाडी विकासमा निकै राम्रो प्रगति गरिरहेको छ। भविष्यमा विद्युतीय सवारी साधनकै वर्चस्व रहनेछ। अमेरिकाले प्रविधि निर्यातमा लगाएको प्रतिबन्ध प्रत्युत्पादक हुनसक्ने बिल गेट्सको तर्क छ। जसले चीनलाई आफ्नै प्रविधि र क्षमता तीव्र गतिमा विकास गर्न उत्प्रेरित गर्नेछ। माइक्रोसफ्टका संस्थापक गेट्सले हालै मसँग भनेका थिएः ‘अमेरिका चीनलाई उत्कृष्ट चिप्स उत्पादन गर्नबाट रोक्न सफल हुन्छजस्तो मलाई लाग्दैन।’
एप्पलका टिम कुकजस्ता पश्चिमका सबैभन्दा शक्तिशाली कम्पनीका सीईओहरुले स्पष्ट पारिसकेका छन्, चीनबाट बाहिरिने उनीहरुको कुनै उदेश्य छैन।
स्वघोषित मार्क्सवादीका रुपमा सीले के बुझ्न जरुरी छ भने विश्वमा राजनीतिक शक्तिको स्रोत आर्थिक शक्ति नै हो। चीनलाई आफ्नो अन्तर्राष्ट्रिय शक्ति र प्रभाव विस्तार गर्न गोली चलाएर युद्ध जित्न जरुरी छैन। व्यापार, सहयोग र लगानीले नै त्यो काम गर्नेछ। त्यो पनि बिनाकुनै जोखिम, बिनाकुनै रक्तपात।
विश्वका १२० भन्दा ज्यादा मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो चीन। अमेरिकाको भन्दा धेरै। यसले चीनलाई निकै ठूलो शक्ति प्रदान गर्छ।
अमेरिका निराश छ किनभने युक्रेन युद्धका विषयमा ‘ग्लोबल साउथ’ का थुप्रै मुलुक रमिते भएर बसे। तर, ब्राजिल र इन्डोनेसियाजस्ता व्यापार र लगानीका लागि चीनको बाटो हेर्ने मुलुकहरु पनि अन्तर्राष्ट्रिय मामिलामा कमसेकम वासिङ्टनको कुरा पनि बेइजिङको जत्तिकै सुन्छन्। यो कुरा चीनबाट ठूलो ऋण लिएका श्रीलंका, पाकिस्तान, अंगोला वा जाम्बियाको हकमा अझ बढी साँचो छ।
नयाँ पूर्वाधार बनाउने चीनको क्षमताले पनि उसको प्रभावलाई बढाएको छ। चीनले दक्षिणपूर्वी एसियामा जति पैसा खर्च गर्छ, त्यसैगरी पैसा खन्याएर उसँग प्रतिस्पर्धा गर्न नसकेको एक अमेरिकी अधिकारीले गुनासो गरे। र, चीनको प्रभाव आफ्नो वरिपरि मात्र होइन, धेरै टाढाटाढासम्म फैलिएको छ। चिनियाँ कम्पनीहरुले अहिले इजिप्ट र कोलम्बियाको राजधानीमा मेट्रोरेल निर्माण गरिरहेका छन्।
उसोभए गल्ती कहाँनेर हुनसक्छ त? यसको उत्तर स्पष्ट छ– युद्ध। चीनले देखिनगरी ताइवानमा आक्रमणको तयारी गरिरहेको छ। सीको राष्ट्रवादी वक्तव्यबाजीले बेइजिङमा अभिमान र सनकको खतरनाक मिश्रण तयार गर्दैछ। ताइवान मामिलामा चिनियाँ नेताले ‘आफैँलाई मुक्का हान्ने’ चिन्ता कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेसनल पिसका तोङ चाओ व्यक्त गर्छन्।
तर, यदि सीले ताइवानमा आक्रमण गरे र जो बाइडेनले वाचा गरेझैँ अमेरिका सो द्वन्द्वमा पस्यो भने त्यो सीले तेस्रो विश्वयुद्धको सुरुवात गरेको ठहरिनेछ। जसले सीको मुलुक र समग्र विश्वमै अगणनीय परिणाम ल्याउनेछ।
ताइवानले तुरुन्तै हार स्वीकार गरे पनि, अथवा अमेरिका युद्धमा सहभागी नभई बाहिरै बसे पनि ताइवान युद्धले चीनको विश्वव्यापी छवि सदाका लागि बिगार्नेछ। अहिले चीनको मामिलामा तटस्थ बसिरहेका प्रत्येक पश्चिमा मुलुक वा कम्पनीले चीनविरुद्धको कठोर नाकाबन्दीमा सहभागी हुनुपर्नेछ। भूमण्डलीकृत अर्थतन्त्र टुक्राटुक्रामा विभाजित हुनेछ। जसले हरेकलाई ठूलो क्षति गर्नेछ।
यत्तिका जोखिमका बाबजुद ताइवानमाथिको विजयले आफ्नो नाम ‘चिनियाँ राष्ट्रको महान् कायाकल्प’ पूरा गर्ने नेताका रुपमा इतिहासमा लेखिने विश्वास सीलाई हुनसक्छ।
तर, इतिहासमा नाम लेखाउने महत्वाकांक्षा राख्ने नेताहरु प्रायः घटनाक्रम आफ्नो नियन्त्रणबाहिर गएको हेर्न विवश हुन्छन्। त्यसको पछिल्लो उदाहरण भ्लादिमिर पुटिन हुन्। युक्रेनमाथि छोटोछरितो र गौरवपूर्ण जित हासिल गर्ने उनको आशा भयंकर दुस्वप्नमा परिणत भएको छ। पुटिन त त्यस्तो मुलुकको नेतृत्व गरिरहेका थिए, जो आर्थिक शक्तिको आधारमा महाशक्तिको हैसियत कायम राख्न सक्षम थिएन। सीका लागि अझै पनि त्यो हैसियत प्राप्त गर्ने आर्थिक मार्ग खुला छ। उनले त्यही मार्ग रोज्नु बुद्धिमानी हुन्छ।
(फाइनान्सियल टाइम्सबाट)
प्रतिक्रिया