ad ad

कर्णाली


एमाले कर्णालीका अध्यक्षमाथि यौन शोषणको आरोप, पार्टीले गर्दै छ कारबाही

एमाले कर्णालीका अध्यक्षमाथि यौन शोषणको आरोप, पार्टीले गर्दै छ कारबाही

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १८:४५, काठमाडौँ

यौनकाण्डमा विवादित हुँदै आएका नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह पार्टीको छानबिनमा परेका छन्।

शाहले आफूलाई यौन शोषण गरेको भन्दै एक महिलाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरी उजुरी दिएपछि पार्टीको अनुशासन आयोगले छानबिन गरिरहेको छ।

आयोगका उपाध्यक्ष नेत्र पन्थीको संयोजकतत्वमा गठित तीन सदस्यीय समितिले छानबिन अन्तिम चरणमा पुर्‍याएको छ। पन्थी नेतृत्वको समिति जाँचबुझका लागि असार १३ गते सुर्खेत पुगेको थियो। पन्थीसँगै अन्य दुई जना सदस्यहरू पनि थिए।

त्यतिबेला एमाले प्रदेश पार्टी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा घटनाको बारेमा समितिले जानकारी लिएको थियो। 

समितिले एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र प्रदेश कमिटी उससचिव पद्मा खड्कालाई एक्लाएक्लै राखेर सोधपुछ गरेको थियो।

त्यसपछि थप जानकारी लिनका लागि उक्त टोली सल्यान मोडिएको थियो। सल्यानमा स्थानीय नेता तथा कार्यकर्तासँग थप बुझेर टोली दाङकाे लमही गएको थियो।

टोलीले हालसम्म पार्टीलाई प्रतिवेदन भने बुझाएको छैन। एक नेताले दिएको जानकारी अनुसार, प्रतिवेदन तयारीको अन्तिम चरणमा छ।

शाहको यस प्रकरणबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले मौखिक रूपमा पहिल्यै जानकारी पाएका थिए। सोही कारण ओलीले गत असोज दोस्रो साता भएको कर्णाली प्रदेशको पहिलो अधिवेशनमा शाहलाई प्रदेश अध्यक्ष बनाउन चाहेका थिएनन्।

एमाले अध्यक्ष ओलीले कालिकोटका मीनबहादुर शाहीलाई प्रदेश अध्यक्ष बनाउनका लागि सहयोग गर्न भन्दै कर्णालीका सबै केन्द्रीय सदस्यहरूलाई आग्रहसमेत गरेका थिए।

तर, त्यतिबेला ओलीको भनाइमा कुनै नेताहरूले ध्यान दिएनन्।

एमाले महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेलले शाहलाई नै अध्यक्षको उम्मेदवार बनाएर निर्वाचितसमेत गराए।

एमालेनिकट स्रोतले दिएको जानकारी अनुसार, उजुरीकर्ता महिलाले अध्यक्ष ओलीलाई नै लिखित निवेदन दिएपछि शाहलाई तीन वर्षका लागि निलम्बन गर्ने तयारी गरिएको छ। 

तर, महासचिव पोखरेलले भने उनको निलम्बनको म्याद घटाउनपर्ने प्रस्ताव ओलीसमक्ष राखेका छन्। 

साविकको राप्ती अञ्चल हुँदा सल्यानबाट एमालेका महासचिव पोखरेलाई टक्कर दिने नेतामा हाल एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला थिए।

ज्वालालाई सल्यानमै दबाउनका लागि शाहलाई महासचिव पोखरेलले सहयोग गरेको नेताहरू बताउँछन्।

यसबारे हामीले नेता शाहलाई टेलिफोनमा सम्पर्क गरेका थियौँ। शाहले यसबारे प्रतिक्रिया दिन चाहेनन्।

नेपालखबरले प्रश्न राख्नासाथ उनले ‘ल ल है त भाइ!’ भन्दै फोन काटिदिए। 

ती महिलाले शाहले सुरूमा पढाइदिने भनेर प्रलोभन दिएको र पछि डरत्रास देखाएर धाकधम्कीसमेत दिन थालेको आरोप लगाएकी छिन्।

आफूले विवाह गरिसकेको भए पनि शाहकै कारण आफ्नो पारिवारिक जीवन नै अफ्ठ्यारोमा परेको उनको गुनासो छ।

२०७९ असारमा शाह र कर्णालीकै एक एमाले जिल्ला कमिटी सदस्य महिलाको भिडिओ सार्वजनिक भएको थियो। 

ती महिलाकै आईडीबाट अपलोड भएको ३५ सेकेन्डको भिडिओमा शाह र ती महिला एउटै बेडमा सुतेका देखिन्छन्। तत्कालीन अवस्थामा उक्त प्रकरणबारे छानबिन नगरेकोमा एमाले नेतृत्वको आलोचना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .