ad ad

विचार


ओलीले बुझ्नुपर्ने प्रचण्ड

ओलीले बुझ्नुपर्ने प्रचण्ड

सीताराम बराल
फागुन २२, २०८० मंगलबार ७:१८, बेइजिङ

अघिल्लो हप्ता बेइजिङ आइपुगेको म अस्ति (२० फागुन) दिउँसोदेखि नै रोमाञ्चित थिएँ। यस कुराले कि, ‘दुई सेसन’ भनेर चिनिने र सोमबार (२१ फागुन) देखि तियान मेन स्क्वायरस्थित ‘ग्रेट हल अफ दि पिपुल’ मा सुरु हुने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) र नेसनल जनकंग्रेस (एनपीसी) को बैठकमा सहभागिताका लागि हामीलाई बिहानै बेइजिङस्थित ‘जियांगुओ होटल’ मा पीसीआर परीक्षणका लागि लगिएको थियो।

परिणाम जस्तोसुकै आए पनि परीक्षणको अर्थ चिनियाँ ‘सीपीपीसीसी’ र ‘एनपीसी’ को बैठकमा सहभागी हुन पाउने कुराको संकेत थियो। 

तर, आइतबार (२० फागुन) सम्म ‘ग्रेट हल अफ दि पिपुल’ मा जाने कुराले रोमाञ्चित मेरो मन सोमबार दिउँसो ‘ग्रेट हल अफ दि पिपुल’ मा पुग्दा अर्कै कुराले रोमाञ्चित हुन थालिसकेको थियो। ‘ग्रेट हल अफ दि पिपुल’ मा अब मेरो तन मात्र थियो, मनचाहिँ नेपालको राजनीतितर्फ डोरिइरहेको थियो।

खासमा नेपालको राजनीतिबारे मतलब नगरी चार महिना बिताउँछु भनेर म बेइजिङ आएको थिएँ। तर, काठमाडौँको सत्ता राजनीतिमा अकस्मात् आएको परिवर्तनले मलाई ‘बेइजिङमा ज्यान, काठमाडौँमा ध्यान’ को स्थितिमा पुर्‍याइदियो। (त्यसो त यस्तो परिवर्तनको आभास मैले पहिले नै गरेको थिएँ र यसबारे नेपालखबरमै केही समाचार टिप्पणी पनि गरिसकेको थिएँ।)

निःसन्देह नेपाली कांग्रेससँगको सम्बन्ध तोडेर फेरि एमालेसँग नयाँ गठबन्धन बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयले यो स्थिति सिर्जना गरेको हो। 

प्रचण्डको निर्णयका कारण यतिबेला एमालेजन पक्कै खुसी होलान्। ‘ग्रेट हल अफ दि पिपुल’ भित्रै ‘इन्टरनेट सर्फिङ’ का क्रममा केही अनलाइन न्युज पोर्टलबाट जानकारी पाएँ कि कांग्रेसजनहरु प्रचण्डसँग निकै आक्रोशित रहेछन्। सोमबार पार्टीका शीर्ष नेताहरुसँगको बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डलाई ‘धोकेबाज’ र अर्का नेता (सायद पूर्णबहादुर खड्का हुन् कि) ले ‘गठबन्धन फेर्ने मन बनाइसकेपछि प्रचण्डले पछिल्लोपटक आफूहरुसँगको कुराकानीमा निहुँ मात्रै खोज्न थालेका’ भनेका रहेछन्। 

शब्द जे प्रयोग गरिए पनि अधिकांश कांग्रेसजनलाई प्रचण्डले नराम्रोसँग धोका दिएको भन्ने यतिबेला लागेको छ। भलै ‘शेखर-गगन’ कांग्रेसलाई चाहिँ प्रचण्डले गज्जब गरिदिए भन्ने लागेको होला।

आ-आफ्नो स्वार्थअनुसार राजनीतिक शक्ति र व्यक्तिहरुले प्रचण्डलाई ‘धोकेबाज नेता’ को रुपमा चिन्ने गरेका छन्। तर, उनीहरुले धोकेबाज ठान्ने प्रचण्ड किन यस्तो बन्न पुग्छन् भन्ने बुझ्ने प्रयास गरेका छैनन्। 

आफ्नो स्वार्थ अनुसार प्रचण्डलाई ‘चिन्न’ मात्र खोज्ने उनीहरुले ‘धोका’ नपाउने हो भने अब उनीहरुले प्रचण्डलाई ‘बुझ्न’ पनि सक्नुपर्छ। तत्कालचाहिँ अब एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई ‘चिन्न’ भन्दा ‘बुझ्न’ सक्नुपर्छ। किनकि उनले प्रचण्डलाई देउवाको पोल्टाबाट आफ्नो पोल्टामा ल्याएका छन्।  

बुझ्ने पहिलो सूत्रः व्यक्तिवाद/परिवारवाद
मानौँ, कांग्रेस वा एमालेलाई अहिल्यै प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो। शेरबहादुर देउवाले के ‘म धेरैपटक प्रधानमन्त्री भइसकेँ, डा. शेखर कोइराला वा गगन थापाजी प्रधानमन्त्री बन्नुस् न त अब’ भन्लान्? 

एमालेलाई अवसर प्राप्त भयो भने केपी शर्मा ओलीले पनि उस्तै उदारता देखाएर विष्णु पौडेल वा पृथ्वीसुब्बा गुरुङलाई प्रधानमन्त्रीका रुपमा अघि सार्लान्?

देउवा वा ओलीजस्तै हुन् प्रचण्ड पनि, जो माओवादीलाई अवसर प्राप्त हुँदासम्म आफै प्रधानमन्त्री बन्न अघि सर्छन्। २०६७—०६८ ताका रामचन्द्र पौडेलसँग ८ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेका पात्र प्रचण्ड नै हुन्। केही सिप नलागेपछि मात्र डा. बाबुराम भट्टराईलाई अघि सार्न उनी बाध्य भएका हुन्। 

डा. भट्टराईले माओवादी छाड्नुमा प्रचण्डको यही ‘मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरुँ’ प्रवृत्तिको मुख्य भूमिका छ। 

व्यक्तिवादबाहेक बुझ्नुपर्ने प्रचण्डको अर्काे पाटो ‘परिवारवाद’ हो। उनको ‘परिवारवाद’ का धेरै उदाहरण छन्। त्यसमध्ये २०७४ को स्थानीय निर्वाचन र २०७९ को प्रदेश सभा निर्वाचनका दुई घटना उल्लेख्य छन्। 

कांग्रेससँग (आंशिक) गठबन्धन हुनुअघि २०७४ को स्थानीय तह निर्वाचनमा एमाले—माओवादीबीच गठबन्धनको गम्भीर प्रयास भएको थियो। चार महानगरपालिकामध्ये माओवादीले एक महानगरको नेतृत्व (मेयर) दाबी गरेको थियो। ओली राजधानीकै ललितपुरजस्तो महत्त्वपूर्ण महानगरको नेतृत्व दिन तयार थिए। 

तर एमालेसँग माओवादी केन्द्रको गठबन्धन हुन सकेन। प्रचण्डले चाहेको भरतपुर महानगरपालिकाको नेतृत्व माओवादीलाई दिन देउवा राजी भए। सहजै कांग्रेस—माओवादीबीच गठबन्धन भयो। प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर बनिन्। 

आमनिर्वाचन—२०७९ मा तत्कालीन सत्ता गठबन्धनमा माओवादीले सोलुखुम्बुको प्रतिनिधि सभा सिट प्राप्त गरेको थियो। तर, प्रचण्ड यति धेरै ‘उदार’ देखिए कि देउवाले खासै जोड नगरे पनि सहजै सोलुखुम्बु छाडिदिए।

प्रचण्ड त्यहाँ यसर्थ ‘उदार’ देखिएका थिए कि उनलाई कान्छा ज्वाइँ जीवन आचार्यका लागि मोरङको प्रदेश सभा सिट सुरक्षित गराउनु थियो। ज्वाइँका लागि उनले पार्टीको भागमा परेको प्रतिनिधि सभाको सिट नै परित्याग गरिदिए। 

‘परिवारवाद’ को पछिल्लो उदाहरणचाहिँ यसै हप्ता भएको माओवादी नेताहरुको कार्यविभाजन हो। माओवादी पदाधिकारी बैठकले सबै प्रदेशमा नयाँ इन्चार्ज—सहइन्चार्ज चयन गर्यो। सबैजसो प्रदेशमा  पोलिटब्युरो तहका नेताहरुले सहइन्चार्जको जिम्मेवारी प्राप्त गरे। 

तर, सुदूरपश्चिम प्रदेश अपवादका रुपमा रह्यो, जहाँ केन्द्रीय सदस्य बिना मगरलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ। बिना मगरले सुदूरपश्चिमको सहइन्चार्जको जिम्मेवारी पाएकी छन्। 

अलिक हप्ता वा महिनापछि पनि हुन सक्छ, प्रदेशको सहइन्चार्ज भइसकेको भन्ने तर्क अघि सारेर केन्द्रीय सदस्य मगरलाई पार्टीको पोलिटब्यूरो सदस्य बनाऊँ भन्ने प्रस्ताव गयो भने आश्चर्य नमाने हुन्छ। किनकि, बिनालाई  प्रचण्डकी बुहारी हुनुको फाइदा जो छ ।

भन्न के खोजिएको हो भने, प्रचण्डलाई बुझ्न ‘परिवारवाद’ र ‘व्यक्तिवाद’ को चस्मा पनि लगाउनुपर्छ। ‘व्यक्तिवादी’ वा ‘परिवारवादी’ स्वार्थ पूरा हुने भयो भने उनीसँगको पिरती मजासँग जम्न सक्छ।  होइन भने ‘धोका’ पनि मिल्न सक्छ।

यति कुरा देउवा र ओली दुवैले नबुझेका छैनन्। बुझेकैले कांग्रेसमा विवाद—असन्तुष्टि हुँदाहुँदै रेनु दाहाल दुईपटक भरतपुरको मेयर बन्न सफल भएकी छन्। ज्वाइँसा’ब डा. शेखर कोइरालाको निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्य बन्न पाएका छन्। 

बिना मगरले ओलीको दोस्रो प्रधानमन्त्रीकालमा खानेपानी मन्त्रालयमा मन्त्री खान पाएको पनि ओलीले प्रचण्डको परिवारवाद बुझेकैले हो। 

कसैले बुझ्न नसकेको लचकपना/कठोरता
प्रचण्डबाट हुने निर्णयमा ‘व्यक्तिवाद’ र ‘परिवारवाद’ जत्तिकै (अझ केही बढी) भूमिका खेल्ने अर्काे पक्ष पनि छ। त्यो उनको ‘लचकपना।कठोरपना’ हो। उनको ‘लचकपना।कठोरपना’ लाई बुझ्न नसक्दा अन्यथा निर्णय गरेका छन्, जसलाई कांग्रेस—एमालेले ‘धोका’ को रुपमा चित्रण गर्ने गरेका छन्।  

प्रचण्ड कठोरता मन पराउने नेता होइनन्। खासमा उनलाई लचकता धेरै मन पर्छ। कठोरता देखिन्छ भने पनि त्यो अर्काे (विरोधी) पक्षमा देखिने कठोरपनाको परिणाम हो।

२०५२ मंसिरमा संयुक्त जनमोर्चाको तर्फबाट राखिएको ४० बुँदे माग लचकताको परिणाम थियो। तर, देउवा नेतृत्वको सरकार वार्ता र माग पूरा गर्ने बाटोमा लाग्नुको साटो दमन (कठोरता) तर्फ लाग्यो। त्यसपछि नै सशस्त्र जनयुद्ध सुरु भएको हो। 

तर, प्रचण्ड विश्वका अन्य माओवादीजस्तो कठोर देखिएनन्। लचक बने, माओवादीलाई शान्ति प्रक्रियामा ल्याए। बरु विभाजन भएर उनको पार्टी छिन्नभिन्न भयो, उनी आफै पनि कमजोर बने। तर, लचकता परित्याग गरेनन्। कटवाल काण्डमा पनि लचक बनेर प्रधानमन्त्री पदबाट राजीनामा दिए।

२०७३ मा ओलीलाई प्रधानमन्त्रीबाट अपदस्थ गरेपछि प्रधानमन्त्री बनेका उनको हातमा दोस्रोपटक राज्यशक्ति आयो। तर, ओलीले साथ दिने वचन दिँदादिँदै देउवालाई थपक्क प्रधानमन्त्री पद सुम्पे। 

तर, तिनै देउवामा आम निर्वाचन—२०७९ पछि जुन कठोरता देखियो, त्यसपछि प्रचण्ड पनि ‘कठोर’ बने। एमालेसँग मिलेर नयाँ गठबन्धन बनाए। आफ्नै ‘एसम्यान’ बाहेक अर्काेलाई राष्ट्रपति नबनाउने अडान (कठोरता) ओलीमा देखियो, त्यसमा पनि प्रचण्डले कठोरता अँगाले, एमालेसँगको गठबन्धन नै टुटाएर। 

पछिल्लो समय उनले आफू (प्रधानमन्त्री) लाई अटेर गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महत र आर्थिक अनियमितताको आरोपमा अख्तियारमा बयान दिइरहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई हटाउन उनले कांग्रेस सभापति देउवासँग परामर्श गरेका थिए। तर, यी दुवैलाई कायमै राख्ने विषयमा देउवा कठोर बने, अडान त्यागेनन्। उनीहरु पदबाट हट्न गठबन्धन नै टुट्नुपर्‍यो।  

नेकपाको ‘कार्यकारी अध्यक्ष’ को जिम्मेवारी पाउँदा २०७५ मंसिरमा कति पुलकित थिए प्रचण्ड? लगत्तै ओलीलाई ‘साढे दुई वर्ष होइन, पाँचै वर्ष तपाईं नै प्रधानमन्त्री हुनुस्’ भन्दै ओलीलाई ‘सुखद सरप्राइज’ दिने पात्र पनि प्रचण्ड नै हुन्। अर्काे पक्ष लचक देखिँदा उनी पनि त्यस्तै बन्छन् भन्ने कुराको उदाहरण हो त्यो घटना। 

तर, त्यसको केही हप्तापछि नै जब ओलीले ‘हरिबहादुर शैली’ मा ‘कुनचाहिँ कार्यकारी अध्यक्ष रे?’ भन्दै प्रचण्डलाई जब उल्लु बनाउन खोजे, त्यसपछि प्रचण्डले पनि कठोरता अँगाले, त्यो कठोरताले ओलीलाई दोस्रोपटक सत्ताच्युत गरायो। ओलीलाई अझै प्रधानमन्त्री हुन हम्मे परिरहेको छ। 

प्रचण्डको ‘व्यक्तिवाद’ र ‘परिवारवाद’ लाई सबैभन्दा राम्रोसँग बुझेका नेता हुन् ओली। उनले ‘लचकता’ र ‘कठोरपना’ दुवै देखेका छन्, भोगेका पनि छन्। तर, ‘बुझ्न’ सकेका छैनन्। 

अब प्रचण्डको ‘लचकता’ र ‘कठोरपना’ बुझ्ने र सोहीअनुसार व्यवहार गर्न सक्ने हो भने प्रचण्डसँग उनको पिरती लामै समय जानेछ।

बुझ्न सकेनन् भनेचाहिँ अहिले कांग्रेसले जस्तै केही महिनापछि ओलीले फेरि सुकमित गुरुङको ‘धोका दियौ तिमीले’ बोलको विरह गीत गाउनुपर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .