ad ad

विचार


बेइजिङमा विदेशमन्त्री वाङसँग सवालजवाफमा मैले ‘नेपाल’ भेटाएँ

बेइजिङमा विदेशमन्त्री वाङसँग सवालजवाफमा मैले ‘नेपाल’ भेटाएँ

विदेशमन्त्री वाङ यीले एक चिनियाँ उखान उद्धृत गरे, ‘टाढाको नातेदार भन्दा सुमधुर सम्बन्ध भएको छिमेकी धेरै महत्वपूर्ण हुन्छ’ (तस्बिरः एससीएमपी)


सीताराम बराल
फागुन २७, २०८० आइतबार १५:२०, बेइजिङ

थिएँ म बेइजिङस्थित प्रसिद्ध तियानमेन स्वायर र ग्रेट हलबाट केही परको मिडिया सेन्टरमा। ७ मार्चमा त्यहाँ आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीद्वारा अभिव्यक्त विचार र धारणाहरु आफ्नो रिपोर्टिङ डायरीमा नोट गरिरहँदा कैयौँ पटक मलाई त्यहाँ मेरै मुलुक नेपालका परराष्ट्रमन्त्री पो राष्ट्रिय–अन्तर्राष्ट्रिय  पत्रकारहरुसँग सम्बाद गरिरहेका छन् भन्ने लागिरहेको थियो। 

किनकी विदेशमन्त्री वाङ यीले मिडिया सेन्टरमा विश्वभरबाट जम्मा भएका पत्रकारहरु सामु अन्तर्राष्ट्रिय मामिलाका सन्दर्भमा जे धारणा राखिरहेका थिए, ती नेपालले अन्तर्राष्ट्रिय राजनीति र मामिलाका सन्दर्भमा राख्दै आएका धारणासँग नजिक थिए, कतिपय त हुबहु मिल्दाजुल्दा समेत थिए।  

पत्रकार सम्मेलनमा आफ्नो डायरीमाा नोट भएका विदेशमन्त्री वाङ यी र पत्रकारहरुबीचको अन्तरक्रियामा मैले किन र कसरी नेपाल भेटेँ भन्ने विषयको चर्चा गर्नुअघि अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिबारे नेपाली धारणाको संक्षिप्त चर्चा गर्न चाहन्छु। 

नेपाल नै हो, जसले सुरुदेखि नै ‘एक चीन नीति’ को मान्यता जोडदार रुपमा अँगाल्यो। जनवादी गणतन्त्र चीनलाई संयुक्त राष्ट्रसंघको सदस्यताको बैध अधिकारको पक्षमा सदैब जोडदार लबिङ पनि गर्यो।  

नेपाल संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका पाँच सदस्य राष्ट्रहरुबीच सुमधुर सम्बन्धको पक्षमा छ। यी मुलुकहरुबीच प्रतिस्पर्धा पनि होस् भन्ने चाहन्छ। तर स्वच्छ—रचनात्मक प्रतिस्पर्धामात्र, जसले विश्वमा आर्थिक विकास र आर्थिक विकासको गतिलाई अरु तीब्रता देओस्। 

नेपाल रुस—युक्रेनबीचको युद्धको वार्ताद्वारा शान्तिपूर्ण समाधान चाहन्छ, हमास—इजरायलबीचको द्वन्द्वको समाधानमा पनि नेपाल वार्ताकै अपरिहार्यता देख्छ। प्यालेष्टिनीहरुको आत्मनिर्णयको अधिकार र अलग राष्ट्रको वकालत पनि नेपालले सुरुदेखि नै गर्दै आएको छ। 

भूपरिवेष्ठित मुलुक नेपाल विश्वको दुई ठूला अर्थतन्त्र चीन र भारतको बीचमा छ।  सीमा जोडिएका यी दुई समृद्ध छिमेकीसँगको सुमधुर सम्बन्ध नेपालको विकास, समृद्धि, सार्वभौमिकता सबै दृष्टिले महत्वपूर्ण छ। दुबै छिमेकीसँगको सुमधुर सम्बन्ध नै नेपालको सार्वभौमिकताको रक्षाकबच पनि हो।  

संयुक्त राष्ट्रसंघ, शक्ति राष्ट्रहरुबीचको सम्बन्ध र विश्वराजनीतिका सन्दर्भमा नेपाल र चिनियाँ धारणा समान रहेको मैले विदेशमन्त्री वाङको पत्रकार सम्मेलनका क्रममा पाएँ। 

हो, एक घण्टा बढी समय पत्रकारहरुसँग अन्तरक्रिया गर्दा उनले कहीँकतै नेपालको सन्दर्भ र नाम उच्चारण गरेनन्। तर, अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धका सन्दर्भमा उनले चिनियाँ धारणा सार्वजनिक गरिरहँदा ती धारणाभित्र मैले थुपै पटक ‘नेपाल’ पाएँ। 

पत्रकार सम्मेलनमा ‘ग्लोबल टाइम्स’ की सम्बाददाताले जारी ‘टु सेसन’ को सन्दर्भ उल्लेख गर्दै सन् २०२४ मा चीनले अख्तियार गर्ने छिमेकनीतिबारे प्रश्न गरेकी थिइन्। 

यो प्रश्नको उत्तरका क्रममा विदेशमन्त्री वाङले एक चिनियाँ उखान उद्धृत गरे, ‘टाढाको नातेदार भन्दा सुमधुर सम्बन्ध भएको छिमेकी धेरै महत्वपूर्ण हुन्छ।’  

उखानलत्तै उनले सबै छिमेकी मुलुकसँग शान्तिपूर्ण सहअस्तित्वका आधारमा सम्बन्धलाई अझ उचाईमा पुर्याउन चीन लालायित रहेको उल्लेख गरे। 

नेपाल त झन् चीनको सीमा जोडिएको मुलुक हो। त्यसैले, यो जवाफमा नेपाल देखिन्थ्यो। नेपालप्रतिको चिनियाँ सम्मानपनि झल्कन्थ्यो। किनकी उखानमार्फत् उनले छिमेकी (नेपाल लगायत) सँगको सम्बन्ध चीनका लागि कति महत्वपूर्ण छ भन्ने अथ्र्याउन खोजेका थिए।

नेपालले आफ्नो विदेश सम्बन्धको मूल आधार पञ्चशीलमा आधारित शान्तिपूर्ण अस्तित्वको सिद्धान्तलाई बनाएको छ। नेपालको विदेशनीतिको जे आधारस्तम्भ हो, चीनको आधारस्तम्भ पनि त्यही रहेछ, जुन कुरा विदेशमन्त्री वाङ बताउँदै थिए। 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी पाँच मुलुकहरुसँग नेपालको सुमधुर सम्बन्ध छ। यस्तै सुमधुर सम्बन्ध सुरक्षा परिषदका पाँचै सदस्य राष्ट्रहरुबीच समेत होस् भन्ने चाहना नेपालको छ।   

नेपाली उखानै छ, ‘ताली एक हातले बज्दैन।’ दुई मुलुकबीच सुमधुर सम्बन्ध विकासमा पनि यही कुरा लागू हुन्छ। सुमधुर सम्बन्धको पहिलो शर्त आपसी सम्मान हो। 

ब्लुमबर्गका पत्रकारले विदेशमन्त्री वाङसँग चीन–अमेरिका सम्बन्धको सन्दर्भमा गरेको प्रश्नको उत्तर शक्ति राष्ट्रहरुबीचको सन्दर्भमा नेपालको धारणासँग हुबहु मिल्ने खालको थियो। 

चीन–अमेरिका सम्बन्धको सन्दर्भमा विदेशमन्त्री वाङले राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘तीन नीति’ प्रस्तुत गरे। तिनमा आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुबैको जीत हुने सहकार्य थिए।

‘चीन–अमेरिका सम्बन्धको सम्बन्ध दुबै मुलुकका जनता, सम्पूर्ण मानव समाजको सुखद जीवन र विश्वसँग सम्बन्धित छ’ विदेशमन्त्री वाङले भने, ‘अन्तर्राष्ट्रिय परिदृष्यमा जस्तोसुकै परिवर्तन आओस्, चीन–अमेरिका सम्बन्धलाई स्थायी र स्थिर बनाइराख्न हामी यो नीतिलाई कायम राख्नेछौँ, इतिहास र जनताका लागि यस्तै जिम्मेवारपूर्ण व्यवहारका आधारमा चीन–अमेरिका सम्बन्ध सञ्चालन गर्नेछौँ।’ 

चीन र अमेरिका फरक संस्कृति र राजनीतिक प्रणाली अँगालेका मुलुक भएकाले दुई मुलुकबीचको सम्बन्धमा ‘आपसी सम्मान’ पूर्वसर्त भएको विदेशमन्त्री वाङले बताए। र, आपसी सम्मान, संस्कृति–शासन पद्दतिको विविधताको स्वीकारोक्तिबाट मात्रै दुई मुलुकबीच अन्तरसम्वाद सम्भव हुने उल्लेख गरे। 

‘चीन र अमेरिकाजस्ता मुख्य शक्ति राष्ट्रबीच द्वन्द्व र संघर्षको कल्पना गर्न सकिँदैन त्यसैले यी दुई मुलुकको सम्बन्धमा ‘शान्तिपूर्ण सहअस्तित्व’ बटम लाइन हो’ उनको भनाई थियो, ‘सँगै मिलेर काम गर्दा दुवैको जित हुनेखालको सहकार्य हाम्रो उद्देश्य हो। विश्वका लागि लाभदायी हुने धेरै चिज यी दुई मुलुक मिलेर सम्पन्न गर्न सक्छन्।’

यसैरुपमा अभिव्यक्त नभएको होला, तर चीन–अमेरिका सम्बन्धको सन्दर्भमा नेपालको चाहना पनि यस्तै हो। 

विदेशमन्त्री वाङले ताइवान स्वतन्त्रताका लागि हुने उक्साहटलाई आगोसँग खेल्ने कदम हुनेछ भन्ने चिनियाँ व्याख्या दोहोर्याए। 

नेपालले पनि  तिब्बत, ताइवान, हङकङ–मकाउलाई चीनको अभिन्न अंग मान्दै आएको छ र नेपाल यस विपरितका कदमले यो क्षेत्रमा शान्ति र अस्थिरता बढ्ने कुराले चिन्तित छ। 

भविष्यको विश्व व्यवस्थामा ‘ग्लोबल साउथ’ को महत्वको बारेमा विदेशमन्त्री वाङले प्रस्तुत गरेको धारणा पनि मलाई उत्तिकै उल्लेखनीय लाग्यो। उनले भनेका थिए, ‘कुनै दिन विश्वमा ग्लोबल साउथ निर्णायक भएर आउनेछ।’ 

विदेशमन्त्री वाङले यो कुरा भनिरहँदा मलाई हाम्रै पक्षमा बोलिरहेजस्तो यसर्थ लाग्यो कि, नेपालपनि ‘ग्लोबल साउथ’ को एक महत्वपूर्ण विकासशील मुलुक हो। 

शीतयुद्धको समयमा नेपाल कुनै शक्तिराष्ट्रको पक्षमा लागेन, ऊ असंलग्न बस्यो। असंलग्न आन्दोलनको एक अग्रणी संस्थापक सदस्य नै थियो नेपाल।

शीतयुद्धको समय विश्व व्यवस्थामा सोभियत संघ र अमेरिकाको बोलबाला थियो। सोभियत संघको पतनपछि त्यो विश्व व्यवस्थामा परिवर्तन आयो, अमेरिका एक्लो महाशक्ति बन्यो। 

तर, एक ध्रुबीय विश्व व्यवस्थामा अमेरिकी प्रभुत्व लामो समय रहेन। अब चीन धेरै हिसावले अमेरिकाको हाराहारीको मुलुक बनिसकेको छ। त्यसबाहेक आधा दर्जन भन्दा बढी मुलुक क्षेत्रीय शक्तिराष्ट्रका रुपमा उदाएका छन्। तिनीहरु पनि भविष्यमा विश्व शक्तिराष्ट्र बन्नसक्ने ल्याकतका छन्। 

अर्थात् विश्वव्यवस्था दुई ध्रुवीयबाट एकध्रुवीय हुँदै बहुध्रुवीय बन्ने क्रममा छ। तर, विश्वव्यवस्थामा खटनपटन भने अहिलेसम्म एकध्रुवीय विश्वव्यवस्थाकालकै छ। संयुक्त राष्ट्रसंघदेखि अन्य विश्वस्तरीय संस्थाहरुमा अझै सीमित राष्ट्रको बोलबाला छ।  

यस्तो खालको विश्वव्यवस्था न अहिलेको परिस्थिति अनुकूल छ, न त अहिलेको आवस्यकतासँग मेल खाने खालको नै। 

ठूलो होस् वा सानो, गरिव होस् वा धनी, सैन्यशक्ति सम्पन्न होस् वा नहोस्, अबको विश्वव्यवस्थामा सबै मुलुकको समान हैसियत र साझेदारी हुनुपर्छ। 

नेपालपनि यस्तै धारणा राख्छ। 

‘अबको विश्व व्यवस्थामा हामी सबैको बराबरी साझेदारी चाहन्छौँ’ विदेशमन्त्री वाङले हाम्रै नेपालजस्ता साना, विकासशील र शान्तिप्रिय मुलुकहरुको भाषा पत्रकार सम्मेलनमा बोले, ‘आकारमा जत्रो भएपनि अबको बहुध्रुवीय विश्वव्यवस्थामा सबै मुलुकको स्थान समान हुनुपर्छ र यो कुरालाई संयुक्त राष्ट्रसंघको बडापत्रमा स्पष्टसँग उल्लेख गरिनुपर्छ।’ 

हमासलाई निमिट्यान्न पार्ने बहानामा इजरायलले गाजाक्षेत्रमा गरेको आक्रमणबारे इजिप्टका पत्रकारले वाङलाई प्रश्न सोधेका थिए– ‘यो स्थितिमा कसरी प्यालेष्टिनी जनतालाई राहत दिन सकिएला?’ 

उत्तर दिने क्रममा विदेशमन्त्री वाङले इजरायल—प्यालेष्टाइन द्वन्द्व समाधानका लागि राष्ट्रपति सी चिनफिङले ३० नोभेम्बर २०२३ मा अगाडि सारेको नीतिपत्रका पाँच बुँदा सुनाए। तिनमा युद्धविराम र द्वन्द्वको अन्त्य, सर्वसाधारणको जीवनरक्षा, मानवीय सहायताको सुनिश्चितता, कुटनीतिक मध्यस्थताको बृद्धि र राजनीतिक समाधानको खोजी— यसअन्तर्गत प्यालेष्टाइनलाई छुट्टै राज्यको मान्यता लगायत छन्। 

आफ्ना अडान सार्वजनिक गर्ने भाषा र तौरतरिका चीन र नेपालका अलग–अलग होलान्। तर, इजरायल–प्यालेष्टाइन द्वन्द्व समाधानका सन्दर्भमा चीनले अघि सारेको यो नीतिसँग नेपालको नीतिपनि मेल खान्छ। 

जस्तो कि, नेपालले प्यालेष्टिनी जनताको बाँच्न पाउने अधिकार र उनीहरुको छुट्टै राज्यको पनि वकालत गर्दै आएको छ।  

विदेशमन्त्री वाङले पनि उस्तै धारणा राखे, ‘प्यालेष्टिनी जनतालाई पनि बाँच्न पाउने अधिकार छ। अन्तर्राष्ट्रिय समुदायले त्यहाँको द्वन्द्व समाधान र युद्ध विरामका लागि तत्काल भूमिका खेल्नु जरुरी छ।’ 

उनले थपे, ‘संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यतासहितको प्यालेष्टाइन राज्य नै त्यहाँको द्वन्द्वको समाधान हो, यसमा कुनै मुलुकले अवरोध गर्नुहुँदैन।’ 

प्यालेष्टिनी जनताको अधिकारको सन्दर्भमा चीनको तर्फबाट विदेशमन्त्री वाङले अघि सारेको यो दृष्टिकोण मलाई थप दृढ लाग्यो र नयाँपनि लाग्यो। 

नेपालको नाम उच्चारण नगरेपनि विदेशमन्त्री वाङका प्रत्येक जवाफमा किन मैले ‘नेपाल’ भेटाएँ? मिडिया सेन्टरबाट चियानवेई डिप्लोम्याटिक रेसिडेन्सियल कम्पाउण्ड फर्कंदा यो प्रश्नले मेरो दिमागलाई ‘स्ट्राइक’ गरिरह्यो। 

उत्तर खोज्ने क्रममा काठमाडौँमा छँदा विदेशमन्त्री वाङको नेपाल ‘कनेक्सन’ बारे आफैले लेखेका स्टोरीहरु मैले इन्टरनेटमा सर्च गरेँ। 

सन् २०१३ मा विदेशमन्त्री, त्यसअघि विदेश उपमन्त्री र सहायकमन्त्री हुँदादेखि नै नेपालप्रति उनको स्नेहलाई ती स्टोरीले पुनर्ताजगी गराए। राष्ट्रपति सीले सन् २०१९ अक्टोबरमा गरेको ऐतिहासिक नेपाल भ्रमणमा उनको भूमिका पनि मैले ती स्टोरीहरुमा भेटेँ। 

यसबाहेक चिनियाँ विदेशनीतिका मूलभूत पक्ष वा विशेषताबारे इन्टरनेन्टमा खोजेँ। 

छोटो अध्ययनबाट म यो निष्कर्षमा पुगेँ कि, चिनियाँ विदेशनीतिको मूलभूत पक्ष असमानता होइन, समानता रहेछ। दमन होइन, न्याय रहेछ। युद्ध होइन, शान्ति रहेछ। समस्या सिर्जना होइन, समाधानको खोजी रहेछ। घाउ होइन, मलम रहेछ।

अर्थात् नेपाल र चीन दुबैको विदेश नीतिको मूलभूत पक्ष वा विशेषता समान रहेछन्। 

र, पो त मैले विदेशमन्त्रीको नेपाल शब्द उच्चारण नगरेपनि प्रत्येक जसो उत्तरमा मैले ‘नेपाल’ भेटाएको रहेछु। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .