ad ad

विचार


युक्रेनको जितको कुराले यसकारण डराउँछ अमेरिका

युक्रेनले नाघ्यो मस्को र वासिङ्टन दुवैको सीमा
युक्रेनको जितको कुराले यसकारण डराउँछ अमेरिका

गिडियन राकमन
भदौ १२, २०८१ बुधबार २१:११,

कुर्स्क क्षेत्रमा आक्रमण गरेर युक्रेनले रुसको सीमा मात्र पार गरेको छैन। उसले वासिङ्टनमा निर्धारण गरिएको सीमा पनि नाघेको छ। युक्रेनमा रुसको आक्रमण सुरु भएदेखि नै अमेरिकाले जोड दिएर भन्दै आएको छ– हाम्रो उदेश्य भनेको युक्रेनलाई आफ्नो भूमिको रक्षा गर्न र सार्वभौम मुलुकका रूपमा टिक्न सघाउनु हो। युद्धलाई रुसी भूमिसम्म लैजाने सुझावलाई खतरनाक मानिँदै आएको छ।

कुर्स्क आक्रमणपछि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकाले तोकेको त्यो सीमाप्रति आक्रोश व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘हाम्रा केही साझेदारले गरेको युद्धको मूल्यांकनमा रुसले तोकेको तथाकथित सीमारेखाको बुद्धु र भ्रामक अवधारणा हाबी भएको थियो। त्यो दृष्टिकोण अब ध्वस्त भएको छ।’

तर, के यसो भएको हो त? वासिङ्टनको सावधानी र किभको जोखिम मोलाइमा देखिएको फरक भ्लादिमिर पुटिनलाई कति परसम्म धकेल्न सकिन्छ भन्ने विषयमा रहेको फरक धारणा मात्र होइन। यो उनीहरूको युद्धको उदेश्यमा रहेको सूक्ष्म अन्तरको प्रतिबिम्ब पनि हो।

लडाइँको सुरुवातमा राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनको दुई लक्ष्य निर्धारण गरेका थिए। पहिलो, युक्रेनको समर्थन गर्नु थियो। तर, दोस्रो लक्ष्य थियो– तेस्रो विश्वयुद्ध हुन नदिनु। यदि यी दुई लक्ष्यमध्ये एउटा रोज्न बाध्य हुने हो भने अमेरिकाले स्पष्टतः दोस्रो लक्ष्य रोज्ने छ।

तर, युक्रेन आफ्नो अस्तित्व जोगाउन लडिरहेको छ। रुससँगको युद्धमा अमेरिकाको प्रत्यक्ष सहभागितालाई उसले स्वीकार गर्ने छ। डेविड सेंगरको पछिल्लो पुस्तकका अनुसार बाइडेनले आफ्नो सहयोगीहरूलाई भनेका थिए, जेलेन्स्की जानीबुझी अमेरिकालाई तेस्रो विश्वयुद्धतर्फ घिसार्ने कोसिस गरिरहेका छन्।

फलस्वरूप वासिङ्टन र किभमा जोखिम मोल्ने जाँगरको मात्रा अलगअलग छ। अमेरिका आफूले युक्रेनलाई दिएको हतियारका विषयमा सुरुदेखि नै सतर्क छ। पहिलोपटक लामो दूरीमा मार हान्न सक्ने हाइमार्स रकेट युक्रेनलाई आपूर्ति गर्दा बाइडेन प्रशासनले सो हतियार प्रयोग गरी युक्रेनले कति टाढासम्म हान्न सक्छ भनेर सीमा तोकेको थियो। यसैवर्षको मे महिनामा मात्र आफूले दिएको हतियार प्रयोग गरेर युक्रेनले रुसको सीमाभित्र हान्न सक्ने अनुमति अमेरिकाले दिएको थियो। कतिपय प्रतिबन्धहरू अझै कायम छन्। युक्रेनीहरू भने त्यसलाई हटाउन निकै जोडबल लगाइरहेका छन्।

अमेरिका र युक्रेनबीच जोखिम मोल्ने मामिलामा देखिएको यस्तो फरक युरोपमा पनि देखिन्छ। जुन देश युद्धमोर्चाबाट नजिकै छन् र जसलाई रुसबाट सोझै खतरा महसुस हुन्छ, ती देशहरू युक्रेनलाई अझ आधुनिक हतियार र तिनलाई आफूखुसी प्रयोग गर्ने स्वतन्त्रता दिनुपर्ने कुरा गर्छन्। उदाहरणका लागि पोल्यान्ड र इस्टोनियालाई लिन सकिन्छ। यसमा जर्मनी निकै पछाडि छ।

यसरी आफ्नो शक्तिशाली सहयोगीले सतर्कता अपनाउँदा आफूलाई असर परेको गुनासो युक्रेनीहरूको छ। आफूलाई एउटा हात बाँधेर रुससँग लड्न भनिएको उनीहरूको तर्क छ। युक्रेनको जहाँसुकै हान्न रुसलाई छुट छ, तर जवाफी हमला गर्न युक्रेनलाई मनाही छ।

युक्रेनी र अमेरिकी दुवै सरकारले भन्दै आएका छन्– कुर्स्क आक्रमणअगाडि किभले यसबारे वासिङ्टनलाई कुनै जानकारी दिएको थिएन। हुन त रुसको भूमिमा आक्रमण गर्ने योजनामा आफ्नो सहभागितालाई अस्वीकार गर्नुमै अमेरिकाको हित छ। तैपनि, उनीहरूको भनाइ साँचो प्रतीत हुन्छ।

कुर्स्कमा आक्रमण गरेर युक्रेनले इजरायलको किताबबाट एउटा पाठ सिकेको देखिन्छ– वासिङ्टनले स्वीकृति नदिएको सैन्य कारबाही गर्ने। इजरायल र युक्रेन दुवैको हिसाबकिताब के देखिन्छ भने यदि त्यो सैन्य कारबाही सफल भयो भने पछिबाट अमेरिकाले त्यसलाई अनुमोदन गर्नेछ। असफल भए पनि अन्ततः त्यसको परिणामसँग जुध्न अमेरिकाले सहयोग गर्ने नै छ।

अहिलेलाई युक्रेनको कुर्स्क आक्रमणबारे वासिङ्टनमा सावधानीपूर्ण आशा देखिन्छ। यद्यपि, युक्रेनी सेनाले आफूले कब्जा गरेको भूमि जोगाउन र पूर्वी युक्रेनमा रुसको आक्रमण झेल्न सक्छ कि सक्दैन भन्नेमा सन्देह कायम छ। 

तर, युक्रेन सफल नै भए पनि अमेरिकाले सावधानी बिर्सिने सम्भावना छैन। अझै पनि अमेरिकीहरू रुससँगको प्रत्यक्ष झडपबाट बच्न चाहन्छन्। र, अझै पनि आणविक खतरालाई गम्भीरतापूर्वक लिन्छन्।

अमेरिकालाई थाहा छ, पुटिनले सार्वजनिक रूपमै आणविक हतियार उपयोग गर्ने धम्की दिएका छन्। रुसले सैन्य अभ्यासहरूमा निरन्तर आणविक हतियार प्रयोगको अभ्यास गर्दै आएको छ। २०२२ मा अमेरिकी गुप्तचर निकायले आणविक हतियार प्रयोग गर्ने विषयमा रुसी सैन्य अधिकारीहरूबीचको विस्तृत कुराकानी रेकर्ड गरेको थियो।

तीमध्ये कुनै संवाद दुस्मनले सुनोस् भन्ने उदेश्यले नै गरिएको हुनसक्छ। तर, अमेरिकाले रुसको सार्वजनिक धम्की र गुप्त बातचितलाई गम्भीरतापूर्वक लियो। बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले आणविक हतियार प्रयोग गरे त्यसको प्रलयकारी परिणाम हुने चेतावनी पनि रुसलाई दिए।

रुसको धम्कीका अगाडि झुकेको आरोप खण्डन गर्न अमेरिकीहरू सलिभानको चेतावनी देखाउँछन्। रुसले कोरेको सीमाको सम्मान गर्नुको सट्टा अमेरिका र उसका सहयोगीहरूले बिस्तारै बिस्तारै त्यसलाई कुल्चेका छन्। उनीहरू परख गरिरहेका छन्, पुटिनलाई कहाँसम्म धकेल्न सकिन्छ।

केही पश्चिमा विश्लेषकहरूको मत छ– कुर्स्क आक्रमणले अब पुटिनको परमाणु धम्कीलाई बेकार साबित गरिदिइसकेको छ। युनिभर्सिटी अफ सेन्ट एन्ड्रयुजका फिलिप्स ओब्रेन भन्छन्, ‘रुसको अन्तिम ‘रेड लाइन’ भनेको रुसमाथिको आक्रमण थियो। जसलाई अहिले युक्रेनीहरूले पार गरिसकेका छन्।’

तर, अमेरिकालाई विश्वास छैन, अन्तिम सीमा सफलतापूर्वक पार भइसक्यो भनेर। बाइडेनका सल्लाहकार अझै पनि मान्छन्– आफ्नो हार निश्चित भयो भन्ने पुटिनलाई लाग्यो भने रुसीहरूले परमाणु हतियारको प्रयोग गर्न सक्छन्। युक्रेनीहरूको गुनासो छ– हाम्रो जितबारे सोच्दा मात्रै पनि हाम्रा सहयोगीहरू डराउँछन्। उनीहरूको कुरा सही हो।

(फाइनान्सियल टाइम्सबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .