राजनीति


लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी ३ उम्मेदवार को हुन्?

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी ३ उम्मेदवार को हुन्?

सुदीप भण्डारी
माघ १२, २०७८ बुधबार १७:५७, बुटवल

बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा सबै (तीन) उम्मेदवार सत्ता गठबन्धनका विजयी भएका छन्।

सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्य पदमा चुनिएका हुन्। 

कांग्रेसबाट विजयी शर्मा पार्टीका वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेविसंघ सभापति हुँदा उपसभापति भएका थिए। बनारसमा बीपी कोइरालासँग उनको भेट भइरहन्थ्यो। शर्मा २०४६ सालको जनआन्दोलनताका उनी नेपाली कांग्रेस बाँकेका सभापति थिए। 

२०४५ देखि २०४९ सम्म उनी जिल्ला सभापति भए। त्यसपछि भने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यबाहेक उनी न पार्टीको कार्यकारी भूमिका थिए, न संसदीय पदमा। 

सुशील कोइरालासँग सुरुमा शर्माको राम्रै सम्बन्ध थियो। पछि वैचारिक द्वन्द्व बढ्दै गयो। सुशील कोइरालासँग मतभेदका कारण उनी गिरिजाप्रसाद कोइरालाबाट पनि रुचाइएनन्। त्यसैले उनले संसदीय निर्वाचनमा टिकट पाउन सकेनन्। 

२०७० सालको चुनावमा समानुपातिक उम्मेदवार बने, तर सांसद बन्न सकेनन्। कांग्रेसको जिल्ला सभापति भएको झण्डै ३ दशकपछि शर्मा अहिले बल्ल राष्ट्रिय सभाको सदस्य पदमा पुगेका हुन्। 

२०२४ सालमा पाल्पाको तान्सेनमा जन्मिएकी राजेन्द्रलक्ष्मी गैरे एकीकृत समाजवादीबाट राष्ट्रिय सभाकी सांसद बनेकी हुन्। २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सामेल गैरे २०४१ सालमा अनेरास्ववियु पाल्पा जिल्ला कमिटी सदस्य भइन्।

२०७० सालमा अखिल नेपाल महिला संघको पाल्पा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बनिन्। एमाले पाल्पा जिल्ला कमिटी सदस्य पनि भइन्। हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्य र पार्टीनिकट अनेमसंघको केन्द्रीय उपाध्यक्ष छन्। 

२०१५ सालमा बागलुङमा जन्मिएका तुलप्रसाद विश्वकर्मा (राजेश) २०३३ सालदेखि विद्यार्थी राजनीतिमा आबद्ध भए। २०३४ सालमा बागलुङमा राजतन्त्रविरोधी प्रसिद्ध पर्चा आन्दोलनमा उनी गिरफ्तार भए। ०३५ सालमा शिक्षण पेसा छाडेर उनी पूर्णकालीन राजनीतिमा होमिए। 

जीवन शर्माभन्दा पहिलेदेखि तुलप्रसादले सांस्कृतिक फाँटमा काम गरेका थिए। उनी लामो समयसम्म रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय सदस्य र सल्लाहकार रहे। विश्वकर्मा अहिले पार्टीनिकट जातीय समता समाजको अध्यक्ष छन्। 

२०५६ सालको संसदीय चुनाव र २ वटा संविधान सभाको चुनावमा  समानुपातिकतर्फ उमेद्वार बने पनि सांसद बन्न सकेनन्। तुलप्रसादको जितसँगै राष्ट्रिय जनमोर्चाले पहिलोपटक राष्ट्रिय सभामा उपस्थिति जनाउँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .