राजनीति


एमसीसीबारे माओवादीले अमेरिकातिर फर्केर एउटा, जनतासँग अर्को कुरा गरिरहेछ : ज्ञवाली

एमसीसीबारे माओवादीले अमेरिकातिर फर्केर एउटा, जनतासँग अर्को कुरा गरिरहेछ : ज्ञवाली

सुदीप भण्डारी
माघ २३, २०७८ आइतबार १६:२१, काठमाडौँ

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रले एमसीसीको बारेमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। एमसीसी पास गर्छौं भनेर अमेरिकालाई पत्र लेखे पनि माओवादीले जनतातिर फर्केर अर्को कुरा गरिरहेको उनले बताए। 

प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले दोहोरो चरित्रले देशको विश्वसनियतामाथि आँच आउने उल्लेख गरे। 

‘सेप्टेम्बर २९ मा एउटा चिठी लेख्नुभएको छ एमसीसीलाई, हामीलाई ५ महिना समय दिनुस् पास गर्छौं भन्नुभएको छ। त्यो ५ महिनाको समय सकिँदै छ। अहिले उहाँहरुको जिम्मेवारी हो। पास गर्न उहाँहरूसँग बहुमत छ’ उनले भने, ‘अमेरिका तिर फर्केर एउटा कुरा, नेपालतिर फर्केर अर्को कुरा गरेर हुँदैन। जे गरिरहनुभएको छ त्यसले उहाँहरुको विश्वास गुमेर केही फरक पार्दैन तर नेपाललाई हेर्ने दृष्टिकोणलाई गम्भीर असर पार्छ।’

ज्ञवालीले एमसीसीको मुद्दा संसदमा प्रवेश गरे एमाले छलफल गर्न तयार रहेको बताए। उनले एमसीसी संसदमा ल्याउन लागेपनि सभामुखले ढोका बन्द गरेर राखेको दाबी गरे। 

‘सरकारले चाहेका प्रस्ताव संसदमा आउन पाउनुपर्छ। सभामुखको भूमिका पनि विवादास्पद छ’ ज्ञवालीले भने, ‘जुन दिन यो मुद्दा संसदमा आउँछ, त्यही बेला यसमा औपचारिक रुपमा आफ्ना धारणा सार्वजनिक गर्ने छौँ।’

सरकारले एमसीसी टेबुल गरे एमाले संसद सुचारु गर्न तयार छ भन्ने पत्रकारको प्रश्नमा उपमहासचिव ज्ञवालीले संसद अवरोध अलग विषय भएको भन्दै प्रष्ट जवाफ दिएनन्। 

‘एमालेले देशको सबैभन्दा ठूलो दल हो। ठूलो दलले यती गम्भीर संवैधानिक प्रश्न उठाएपछि सरकारले सम्बोधन गर्नुपर्दैन?’ उनले भने, ‘त्यो विषयमा सम्बोधन नगरुन्जेल सदन अवरोध र त्यो विषय (एमसीसी) अलग विषय हो’

ज्ञवालीले आफूहरुको माग सम्बोधन नभएसम्म संसद अवरोध रहिरहने उल्लेख गरे। संसद खुलाउने विषयमा एमालेले ४ वटा विकल्प दिएको जानकारी दिए।

कानूनी मान्यता नभएपनि एमालेले १४ सांसदलाई कारबाही गरेको सूचना टाँस हुनुपर्ने त्यसो गर्न नसके सभामुखले सार्वजनिक माफी माग्नुपर्ने ज्ञवालीको भनाइ छ।  त्यसबाहेक सभामुखको राजीनामा वा अदालतको मुद्दा पर्खिनुपर्ने उनले बताए। 

ज्ञवालीले सरकारले स्थानीय तहको चुनाव छल्न अनेक बहाना गरिरहेको दाबी गरे। उनले वर्तमान सरकार छालाका जुत्ता पानी देखेर डराएजस्तै निर्वाचनबाट भागेको उल्लेख गरे। 

‘स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ। स्थानीय तहलाई एक दिन पनि खाली गराउने छुट सरकारलाई छैन’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .