राजनीति


यस्तो छ माओवादीमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो बनाउने तयारी

यस्तो छ माओवादीमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो बनाउने तयारी

सागर न्यौपाने
माघ २७, २०७८ बिहिबार १८:३९, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यतिबेला अन्य दलका नेता-कार्यकर्ता प्रवेश गराउन भ्याइ नभ्याइ छ। 

उनी खुमलटारमै बसेर दैनिकजसो कांग्रेस र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्तालाई माओवादीमा स्वागत गरिरहेका छन्। 

उनले दुई दिनअघि जुम्लाबाट विप्लवको सिंगो जिल्ला नेतृत्वलाई पार्टीमा स्वागत गरे। बिहीबार खुमलटारमै रुपन्देहीस्थित कांग्रेस गाउँपालिका अध्यक्षसहितलाई भित्र्याए।

तर अन्य पार्टीबाट नेता-कार्यकर्ता तान्न व्यस्त प्रचण्ड पार्टीभित्रैका नेताहरुको व्यवस्थापनमा चुकिरहेका छन्। 

आठौं महाधिवेशनको एक महिना बितिसक्दा पनि महासचिवसहितका पदाधिकारी र अन्य समितिको टुंगो लगाउन नसक्दा नेता कार्यकर्तामा असन्तुष्टि देखिएको छ। 

पुसमै आठौं राष्ट्रिय महाधिवेशन गरेको माओवादी केन्द्रले अझैसम्म महासचिवसहितका पदाधिकारी चयन गर्न सकेको छैन। 

अर्कातिर स्थायी समिति र पोलिटब्युरो पनि टुंगो गर्न नसक्दा महाधिवेशनबाट चलायमान भएको भनिएको माओवादीमा फेरि भद्रगोल अवस्था देखिएको छ। 

महाधिवेशनपछि बस्ने भनिएको केन्द्रीय समिति बैठक तीन पटकसम्म स्थगित हुँदा नयाँ नेतृत्वले कार्यकर्ताले अपेक्षा गरे अनुसार काम गर्न नसकेको हो।

पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनअघि माओवादी केन्द्रको स्थायी समिति १६ सदस्यीय थियो।

महाधिवेशनबाट नयाँ नेतृत्व आएसँगै पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्यको टुंगो लगाउने प्रयास भइरहेको छ। 

यद्यपि शुक्रबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ। माओवादीमा अध्यक्ष प्रचण्ड निकट नेताहरूले एमसीसीमा सत्ता गठबन्धनभित्र देखिएको तीब्र विवादका कारण त्यसमा व्यस्त हुनु परेकाले बैठक स्थगित भएको दाबी गरेका छन्। 

‘बैठक अनिश्चितकालसम्म स्थगित हुनुको मुख्य कारण एमसीसी नै हो, कांग्रेसले एमससीसी संसदमा प्रस्तुत गर्ने खालकै कुरा छ र अहिले निरन्तर भेटघाट चलिरहेका छन्’, माओवादी केन्द्रका एक नेता भन्छन्, ‘अर्को कारण चाहिँ पदाधिकारी चयनमा गृहकार्य नपुगेको भन्ने पनि छ।’  

केन्द्रीय समिति स्थगित भए पनि बाँकी रहेका पदहरुमा जिम्मेवारीका लागि माओवादीले आन्तरिक छलफल गरिरहेको छ।

यस्तोमा आठौं महाधिवेशनअघि कायम १६ सदस्यीय स्थायी समिति अब अब १७ जना थपिने भएका छन्।

माओवादीले पदाधिकारीदेखि पोलिटब्युरो सदस्यसम्मका लागि महिला र युवा नेतृत्वलाई प्राथमिकता दिएको छ। 

सबैभन्दा समावेशी नेतृत्वको अभ्यास गरिरहेको दाबी माओवादीले गरिरहेको छ। यस्तोमा महिलादेखि युवासम्मलाई पार्टीको नेतृत्वमा ल्याउने गरी गृहकार्य अघि बढाइएको छ।

माओवादीले स्थायी कमिटीमा थप्न लागेका नेताहरुमा​ ७ प्रदेशमध्ये ५ वटाका पार्टी इन्चार्ज स्थायी समिति सदस्यहरु छन्। राम कार्की, हितराज पाण्डेलगायत प्रदेश इन्चार्ज स्थायी समिति सदस्यमा आउने छन्। 

यस्तै उर्मिला अर्याल, ओनसरी घर्ती, रेखा शर्मा, शशी श्रेष्ठ, अमृता थापामगर, जयपुरी घर्ती पनि स्थायी समितिमा बढुवा हुने लगभग निश्चित रहेको एक नेताले बताए।

‘उहाँहरू लामो समयदेखि माओवादी आन्दोलनमा हुनुहुन्छ, यसपटक स्थायी समितिमा पर्ने निश्चित छ’, ती नेताले नेपालखबरसँग भने, ‘पाँचवटा प्रदेशका इन्चार्जहरु स्वतः स्थायी समिति सदस्य हुनुहुनेछ।’

पदाधिकारीमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, हरिबोल गजुरेल, मात्रिका यादव आउने लगभग निश्चित छ।

महासचिव बन्ने आधारमा उपमहासचिव र सचिवको टुंगो लाग्ने नेताहरू बताउँछन्। 

९९ सदस्यीय पोलिटब्युरोमा केही युवा ल्याउनेबारे अध्यक्ष प्रचण्डले छलफल चलाइरहेका छन्।

‘फ्रेस युवाहरू पोलिटब्युरोमा समेट्नुपर्छ, पुरानै पोलिटब्युरोमा रहेर काम गरेका नेताहरू त पर्ने नै भए’, प्रचण्डनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘भूगोल, प्रदेश र क्लस्टर मिलाएर अन्य नाम टुंगो लगाइनेछ।’

नेकपा माओवादी केन्द्रले शुक्रबार बोलाइएको केन्द्रीय समिति स्थगित भएको छ। यद्यपि अब बस्ने बैठकबाट केन्द्रीय कमिटीका पदाधिकारीका साथै स्थायी र पोलिटब्युरो समिति चयन गर्ने तयारी छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बुधबार भेट गरेका एक वरिष्ठ नेताका अनुसार यही माघ २८ र २९ गते बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारीलगायत पार्टीका सबै कमिटी चयन गर्ने तयारी तीव्र पारिएको छ।

यस विषयमा प्रचण्डले पार्टीका नेताहरूसँग निरन्तर छलफल गरिरहका छन्।

यस क्रममा उनले बुधबार दिउँसो उनले शक्ति बस्नेत, हरिबोल गजुरेल, नारायणकाजी श्रेष्ठ र बेलुका अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मासँग प्रचण्डले छलफल गरेका छन्। 

अध्यक्ष प्रचण्डले सहमतिअनुसार नै पदाधिकारी चयन हुने नेताहरूलाई जानकारी गराएका छन्। त्यही भएर उनले आन्तरिक छलफल तीव्र पारेका हुन्। 

‘मुख्य कुरा भनेको महासचिवमा हो, त्यो पनि सहमतिअनुसार चयन गर्ने कुरामा नेताहरू सहमत हुनुहुन्छ’, ती नेताले नेपालखबरसँग भने, ‘पदाधिकारीको अन्य पदमा विवाद र प्रतिस्पर्धा छैन।’

‘अध्यक्षले नेताहरूसँग छलफल गरिरहनुभएको छ, जसको नाममा बहुमत नेताहरूको सहमति हुन्छ, उसैलाई महासचिव बनाउने उहाँको योजना छ’, ती वरिष्ठ नेताले थपे।

अध्यक्षपछिको शक्तिशाली महासचिव बन्न वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा छ। त्यसबाहेक ती दुई नेता नभए शक्ति बस्नेत पनि महासचिव बन्ने सम्भावना रहेको नेताहरू बताउँछन्।

नेता बस्नेतले पनि सहमतिमै सबै पदाधिकारी टुंगो लाग्ने दाबी गरे।

‘सहमति अनुसार नै सबै पदाधिकारीको टुंगो लाग्छ’, बस्नेतले नेपालखबरसँग भने, ‘पार्टीभित्र सहमतिको वातावरण बनिसकेको छ।’

उनले पदाधिकारीमध्ये को महासचिव हुन्छ भन्ने कुरा खुलाउन चाहेनन्।

‘जो भए पनि सहमतिमा पार्टीमा योगदान गरेकै नेता महासचिव बन्नुहुनेछ’, बस्नेतले जवाफ दिए। 

महासचिव बनाउने सहमति नजुटेकै कारण माओवादी केन्द्रले अध्यक्ष मात्र तोकी अन्य पदाधिकारी चयन थाँती राखेर आठौं राष्ट्रिय महाधिवेशन सकाएको थियो।

गत पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशन अध्यक्षमा प्रचण्डलाई  चयन गरेको हो। अन्य पदाधिकारी चयन गर्न बाँकी छ। 

त्यतिबेला उपचारका क्रममा चीनमा रहेका वर्षमान पुनले आफ्नो उपस्थिति नभई महासचिवलगायत पदाधिकारी चयन नगर्न आग्रह गरेपछि बाँकी राखिएको हो। 

चीनबाट उनी स्वदेश फर्किएकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू पनि महासचिव पदको दाबेदार रहेको र परिस्थिति चुनावतिर मोडिए चुनावमै जानसमेत तयार रहेको कुरा पुनले बताएका थिए।

२ सय ९९ जना केन्द्रीय सदस्यमध्ये माओवादी केन्द्रको महाधिवेशनबाट २ सय ४६ सदस्य मात्र चयन भएका छन्। अब बाँकी सदस्य मनोनयनसँगै स्थायी समिति, पोलिटब्युरो समिति गठन गर्ने तयारी भइरहेको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए।

‘हाम्रो पार्टीको ३३ सदस्य स्थायी समिति र ९९ सदस्य पोलिटब्युरो गठन गर्ने तयारी छ’, गजुरेलले नेपालखबरसँग भने, ‘अहिले अड्किएको महासचिवको विषयले हो, त्यो पनि सहमतीय आधारमा चयन गर्ने निर्णय हुन्छ।’

त्यसो त माओवादी केन्द्रको पदाधिकारी संख्या कति हुने भन्ने पनि अझै निश्चित भइसकेको छैन।

माओवादी केन्द्र बहुपदीय संरचनामा गए पनि उपाध्यक्ष, सचिव कति जना राख्ने भन्ने निर्क्योल भइनसकेको गजुरेलले बताए।

‘हामी बहुपदीय संरचना त गयौं तर उपाध्यक्ष, सचिव, कति बनाउने भन्ने टुंगो लागेको छैन’, गजुरेलले भने, ‘अध्यक्ष, उपमहासचिव २, कोषाध्यक्ष १ बनाउने निश्चित भए पनि ११ कि १५ कति सदस्य पदाधिकारी बनाउने टुंगो लागेको छैन।’
एक नेताका अनुसार यसपटक केही नयाँ नेता स्थायी समिति सदस्य पदमा बढुवा हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .