राजनीति


चिनियाँ विदेशमन्त्रीको भ्रमण तयारी तीव्र, बीआरआईबारे छलफल हुने

चिनियाँ विदेशमन्त्रीको भ्रमण तयारी तीव्र, बीआरआईबारे छलफल हुने

सन्तोष घिमिरे
फागुन २७, २०७८ शुक्रबार २२:२९, काठमाडौँ

सरकारले चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणको तयारी तीव्र बनाएको छ। परराष्ट्र मन्त्रालयले अर्थ, गृह, पर्यटन, कृषि र वाणिज्य मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग समन्वय गरी भ्रमणको एजेन्डामा गृहकार्य गरिरहेको सरकारी अधिकारीहरुले बताए। 

नेपालले भ्रमणको तयारी अघि बढाए पनि शुक्रबार साँझसम्म चिनियाँ पक्षले भ्रमणको यकिन मिति नेपाली पक्षलाई जानकारी गराइसकेको छैन। 

भ्रमणबारे जानकार परराष्ट्रका एक अधिकारीका अनुसार चैत १२ वा १३ गतेका दिन विदेशमन्त्री वाङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्नेछ। 

‘चिनियाँ पक्षले परराष्ट्रमन्त्री नारायण खड्का टर्की भ्रमणबाट फर्किनासाथ भ्रमण मितिबारे जानकारी गराउँदैछ। अहिलेसम्म चिनियाँ पक्षको अनौपचारिक कुरा बुझ्दा चैत १२ वा १३ मा चिनियाँ टोली काठमाडौँ उत्रनेछ,’ ती अधिकारीले नेपालखबरसँग भने। 

चिनियाँ विदेशमन्त्री वाङले नेपालका अलावा भारत र पाकिस्तानको पनि भ्रमण गर्ने सम्भावना रहेको कूटनीतिक स्रोतले बतायो। 

‘पाकिस्तान हुँदै नेपाल आउने वा नेपालबाट पाकिस्तान जाने अझै स्पष्ट भइसकेको छैन। सायद अब चाँडै निधो होला,’ अर्का एक अधिकारीले भने। 

चिनियाँ विदेशमन्त्रीको टोलीमा आधा दर्जन सहायकस्तरका चिनियाँ सरकारी अधिकारी रहने बताइएको छ। 

गत मंगलबार टर्की भ्रमणमा उड्नुअघि परराष्ट्रमन्त्री खड्काले विभिन्न मन्त्रालयका उच्च कर्मचारीलाई डाकेर चिनियाँ विदेशमन्त्रीको भ्रमणको तयारी गर्न निर्देशन दिएका थिए। त्यसको एक दिनअघि सोमबार नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री खड्कासँग टेलिफोन संवाद गरी चिनियाँ विदेशमन्त्री वाङको भ्रमण तयारीबारे कुराकानी गरेकी थिइन्। 

शुक्रबार चिनियाँ राजदूतले गृहमन्त्री बालकृष्ण खाणसँग भेटेर विदेशमन्त्री वाङको आसन्न नेपाल भ्रमणबारे कुराकानी गरेकी थिइन्। राजदूत होउले नेपालमा बढ्दो चीनविरोधी गतिविधिबारे पनि चासो राखेको स्रोतले बतायो। 

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गतका नौ परियोजना कार्यान्वयका लागि नेपालले तयार पारेको योजनाबारे छलफल हुने परराष्ट्र मन्त्रालयका ती अधिकारीले बताए। पूर्ववर्ती ओली सरकारकै पालामा चिनियाँ पक्षसँगको सल्लाहमा उक्त योजना तयार भए पनि सरकार परिवर्तन भएपछि ती योजना अलपत्र परेका थिए। देउवा नेतृत्वमा सरकार गठन भएपछि उक्त योजना कार्यान्वयनमा कुनै प्रगति भएको छैन। 

उता अर्थ मन्त्रालयले चिनियाँ विदेशमन्त्रीको भ्रमणमा उठाउनुपर्ने एजेन्डाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ। अर्थ मन्त्रालयका एक अधिकारीका अनुुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको साढे दुई वर्षअघि सम्पन्न नेपालको राजकीय भ्रमणमा घोषणा भएको ५६ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग कार्यान्वयनबारे पनि यो भ्रमणमा कुराकानी हुनेछ। 

२०७६ असोज २५ मा दुई दिने राजकीय भ्रमणमा काठमाडौँ उत्रिएका सीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको औपचारिक भेटवार्तामा उक्त अनुदान सहायता घोषणा गरेका थिए। उक्त अनुदान सहयोग कार्यान्वयनका लागि सहयोग सम्झौतामा हस्ताक्षर हुनुपर्ने हुन्छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उक्त सहयोग रकम खर्चिने नेपाल सरकारको सोच रहेको अर्थ मन्त्रालयका अर्का एक अधिकारीले बताए। 

‘यद्यपि उक्त रकम कुन क्षेत्रमा खर्चिने भन्ने कुरा चिनियाँ पक्षसँगको छलफलबाटै टुंगो हुनेछ,’ उनले भने। 

भ्रमणमा नेपालले नेपाली वस्तुको चीनमा सहज पहुँचका लागि आग्रह गर्नेछ। कोरोना महामारीका कारण ठप्प बनेका रसुवागढी र तातोपानी नाकाबाट अझै पनि नेपालले चीनतर्फ सामान निर्यात गर्न सहज परिस्थिति बनेको छैन। त्यसैगरी चीनबाट नेपालतर्फको आयात पनि सहज हुन सकेको छैन। जसका कारण चीनमा व्यापार गर्ने नेपालीले सास्ती बेहोरिरहेका छन्। नेपालको चीनतर्फको बढ्दो व्यापार घाटा लगायत आर्थिक विषयमा पनि भ्रमणमा छलफल हुनेछ। 

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षरको तयारी पनि गरिएको छ। एउटा समझदारी पत्र कृषि क्षेत्रमा दुई देशबीचको सहकार्यसम्बन्धी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .