राजनीति


सुदूरपश्चिमका एमाले नेता भन्छन्– कांग्रेसलाई पुरानै साइजमा राखियो

बाम गठबन्धनको आवश्यक देखियो : एमाले प्रदेश सचिव धर्मराज पाठक
सुदूरपश्चिमका एमाले नेता भन्छन्– कांग्रेसलाई पुरानै साइजमा राखियो

गोकुल जोशी
जेठ ११, २०७९ बुधबार ११:३४, महेन्द्रनगर

विगत ०७४ सालको स्थानीय तह निर्वाचनमा सुदूरपश्चिममा पहिलो दल बनेको नेकपा एमाले यसपटक दोस्रोमा खुम्चिएको छ । ८७ स्थानीय तहको मत परिणाम आउँदा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

यसपालिको चुनावमा नेपाली कांग्रेसले सुदूरपश्चिममा ४० पालिकाका प्रमुख जितेको छ । ०७४ मा स्थानीय तहमा ४१ पालिका जितेर पहिलो पार्टी बनेको एमालेले यसपटक २५ पालिकामा मात्रै जित निकाल्न सकेको छ ।

संघीयतापछि दोस्रो पटक भएको स्थानीय तहको चुनावमा सुदूरपश्चिममा एमाले किन दोस्रो शक्तिमा खुम्चिन पुग्यो त ? नेकपा एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकसँग नेपालखबरकर्मी गोकुल जोशीले गरेको कुराकानी :

सुदूरपश्चिमको चुनावी नतिजालाई एमालेले कसरी लिएको छ ?

निर्वाचनअघि प्रदेश कमिटीले गठबन्धन भएको र एक्लाएक्लै चुनाव लडेको अवस्थामा हाम्रो अवस्था के हुने भन्ने आकलन गरेको थियो । जिल्ला कमिटीबाट प्राप्त विवरण अनुसार गठबन्धन भएमा २५ पालिकासम्म र नभए एक्ला एक्लै लडेमा ३५ देखि ४० पालिका जित्ने अनुमान थियो । आकलन अनुसार समग्रमा अपेक्षाकृत नतिजा पाएका छौँ ।

प्रदेशका विभिन्न ठाउँमा गठबन्धन गरेर एमालेलाई चौतर्फी घेराबन्दीमा पार्दै कमजोर बनाउने प्रयत्न भयो । डडेल्धुरा, डोटी र कैलालीमा अपेक्षाकृत नतिजा प्राप्त गर्न सकेनौँ । दार्चुला, बैतडी, बाजुरा, अछाममा विगतको तुलनामा राम्रो नतिजा ल्याएका छौँ । वडाध्यक्ष, वडा सदस्यको संख्या जोड्ने हो भने अहिले पनि हामी प्रदेशमा राम्रै पोजिसनमा रहेका छौँ ।

गठबन्धनका दलहरूको एउटै उद्देश्य एमालेलाई हराउने थियो । यो मत परिणामले एमाले एक्लै पनि शक्तिशाली पार्टी छ भन्ने देखाएको छ । अपेक्षाकृत रुपमा हामी २५ पालिका भन्दा बढी ठाउँमा जित्न सक्थ्यौँ, त्यो नतिजा भने प्राप्त गर्न सकेनौँ ।

०७४ को पहिलो पार्टी एमाले अहिले दोस्रोमा झर्यो, किन होला ?

प्रमुख जितेको सीटका आधारमा दोस्रो स्थानमा छौँ । तर, जनताले एमालेका पक्षमा दिएको अभिमत, निर्वाचित जनप्रतिनिधिको संख्याको आधारमा एमाले पहिलो दल नै हो । यो निर्वाचनमा गठबन्धन पहिलो भयो, एमाले दोस्रो । एउटा अमूक पार्टी पहिलो भयो भन्न मिल्दैन । गठबन्धनमा रहेका दलहरूको पनि मत पाएर पार्टी विजयी भएको हो । कांग्रेस, माओवादीले प्राप्त गरेको मत उसको एक्लैको मत होइन,  एमालेले पाएको मत एमालेको सग्लो एक्लैको मत हो ।

अहिले कांग्रेसको पनि त्यति धेरै सीट बढेको देखिँदैन । ०७४ मा हामीले ४१ पालिका प्रमुख जितेका थियौँ । कांग्रेसले अहिले त्यति पनि पु¥याउन सकेको छैन ।

प्रधानमन्त्रीको गृह प्रदेश हुनाले पनि सबै शक्ति यहीँ लगाइएको थियो । तर, एमालेले गरेको जस्तो प्रदर्शन गर्न सकेको छैन । कांग्रेस ०७४ कै साइजमा रहनु पनि हाम्रो उपलब्धी हो ।

सुदूरपश्चिममा एमालेको अपेक्षाकृत नतिजा नआउनुको प्रमुख कारण गठबन्धन नै हो । चुनावका क्रममा प्रदेश विभिन्न ठाउँमा देखिएको सत्ताको अनावश्यक हस्तक्षेपले पनि ०७४ को जस्तो नतिजा ल्याउन सकेनौँ ।

एमालेमा गुटगत राजनीति र टिकट वितरणले पनि असर गर्यो कि?

कतिपय पालिकाहरुमा स्थानीय स्तरका पार्टीका अन्तरविरोधको उचित व्यवस्थापन गर्न नसकेका कारण पनि पार्टी पराजय भोग्नु परेको अवस्था देखिएको छ । केही ठाउँमा सांगठनिक रुपमा नै कमजोर हुनुले पनि हार व्यहोर्नु परेको छ ।

उचित उम्मेदवार दिन नसक्नु, अन्तरविरोध लगायत आन्तरिक कारणले पनि हार व्यहोर्नु परेको हुनसक्छ भन्ने कुरा उठेको छ । तर, यो प्रस्ट रुपले आएको छैन । सबै पालिकाको अन्तिम मत परिणाम आइसकेपछि प्रदेशस्तरमा समीक्षा गर्छौँ । कुन पालिका के–के कारणले पराजय भोग्नुपर्यो, त्यो सार्वजनिक गर्छौं ।

बाम गठबन्धनको आवाज उठिरहेको छ, यसको आवश्यकता देख्नुहुन्छ?

अहिलेको अवस्थालाई हेर्ने हो भने बाम गठबन्धनको आवश्यक देखिएको छ । निर्वाचनको सन्दर्भमा बाम शक्ति एक भएर जाँदा नतिजा छुट्टै आउँछ  । यो विगतको चुनावले पनि देखाएको छ । अहिले गठबन्धनभित्र रहेका बाम शक्ति भन्ने दलहरुले पनि त्यो कुराको समीक्षा गर्दै हुनुहुन्छ होला ।

सत्तारुढ गठबन्धनमा रहेका बाम नेताहरु नेताहरूबाट आइरहेका पछिल्ला अभिव्यक्तिले बाम शक्ति एक भएर जाँदा नतिजा फरक खालको आउँछ भन्ने महसुस भएको जस्तो लाग्छ । हामी पनि बाम शक्ति एक हुँदाको नतिजा र अलग–अलग भएर चुनावमा जाँदा नतिजा अर्कै आउँछ भन्ने पक्षमा छौँ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .