राजनीति


एमाले सचिवालयका निर्णय : चुनावको समीक्षादेखि एसपीपीसम्म

घनश्याम भुसालमाथि न स्पष्टीकरण, न कारवाही
एमाले सचिवालयका निर्णय : चुनावको समीक्षादेखि एसपीपीसम्म

रुपक चौलागाईं
जेठ ३१, २०७९ मंगलबार १०:३७, काठमाडौँ

पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको विषयले राजनीति तरंगित भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा सार्वजनिक भएपछि यसबारे झनै चर्चा सुरु भएको छ।

सोमबार बसेको नेकपा एमालेको सचिवालय बैठक पनि यही विषयमा केन्द्रित रह्यो । देउवा सरकारले बाह्य सम्बन्धहरुमा विचलन ल्याएको एमालेको निश्कर्ष छ। सरकारले देशलाई नजानिँदो गरी भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम गरेको एमाले बैठकले निश्कर्ष निकालेको छ।

‘मुलुकको राष्ट्रिय राजनीतिका विभिन्न आयामहरुका बारेमा छलफल भयो। वर्तमान सरकारले हाम्रा बाह्य सम्बन्धहरुमा जुन ढंगको विचलन ल्याउँदै गएको छ, हाम्रो स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति खल्बलिँदै गएको छ,’ बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘नेपाललाई नजानिँदो गरी भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम वर्तमान सरकारबाट भइरहेको छ, त्यसको निम्ति बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ।’

ज्ञवालीका अनुसार एमालेले आवश्यकताअनुसार त्यसको आलोचना, विरोध र भण्डाफोर गर्नेछ। ज्ञवाली भन्छन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतामाथि आँच आउनेखालका कुनै पनि कामहरु हुन नदिनका लागि राष्ट्रियताको बलियो पहरेदारका रुपमा पार्टीको भूमिका अझ बलियो बनाउने निश्कर्ष निकालेका छौं।’ 

भुसाललाई भएन कारबाही


एमाले केन्द्रीय कार्यालयमा ६ घन्टा लामो बैठक चलेको थियो। पार्टी कार्यालय च्यासलमा सरेपछि केन्द्रीय सचिवालयको ९ औं बैठक पहिलोपटक बसेको हो।

स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारवाही हुन सक्ने भन्दै  यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको थियो। तर, भुसालका बारेमा बैठकमा छलफलै नभएको एक नेताले बताए । 

केही दिनअघि एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्ताको विषयलाई लिएर पार्टी अनुशासन आयोगले भुसालमाथि कारबाही सिफारिस गरेको थियो। 

यद्यपि सो विषय अहिलेसम्म केन्द्रीय सचिवालयमा नआइपुगेको उनले बताए। ‘अनुशासन आयोगले कारबाही सिफारिस गरेको विषय केन्द्रीय सचिवालयमा आइपुगेको छैन,’ उनले भने, ‘अनुशासन आयोग पार्टीको एउटा संवैधानिक अंग हो। उहाँहरुले जानकारी नदिई एजेण्डा बन्ने कुरा भएन।’

स्थानीय तह निर्वाचनको समीक्षा, निर्वाचित जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण तथा प्रशिक्षण र पार्टीका विभागहरुलाई पूर्णता दिने लगायतका कार्यसूची आइतबार नै तय भइसकेका थिए। सोही कार्यसूचीमा रहेर केन्द्रीय सचिवालयका सदस्यले लामो छलफल गरेका थिए। 

निर्वाचन समीक्षा : नतिजा अनपेक्षित, लोकप्रिय मतमा गर्व
एमालेले बैठकको मुख्य एजेण्डा ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षालाई बनाएको थियो। निर्वाचन प्रक्रियामा देखिएको विकृतिप्रति एमालेले गम्भीर चिन्ता व्यक्त गरेको छ। 

निर्वाचनको परिणामलाई भने एमालेले दुई हिसाबमा विश्लेषण गरेको छ। उपमहासचिव ज्ञवालीका अनुसार पालिका प्रमुख र उपप्रमुखको नतिजा अनपेक्षित आएको हो। तर, लोकप्रिय मत बढेका कारण आफूहरुलाई गर्व लागेको उनले बताए।

‘परिणामलाई दुई हिसाबले हेरेका छौं। निश्चय नै हामी पालिका प्रमुख र उपप्रमुखको हिसाबले ०७४ को निर्वाचनभन्दा कमजोर भएका छौं। हाम्रा लागि यो अपेक्षित होइन’, ज्ञवालीले भने, ‘तर, लोकप्रिय जनमतको हिसाबले नेकपा एमाले ३४ प्रतिशत मतसहित अगाडि आएको तथ्य स्थापित आएको छ। यो निर्वाचनमा यावत घेराबन्दी, सत्ताको दुरुपयोगको अगाडि पनि नेकपा एमाले नै मुलुकको स्थापित शक्ति हो भन्ने कुरा देखिएको छ। यसमा हामी गर्व गर्छौं।’

निर्वाचन प्रक्रियामा विकृति देखिएको भन्दै एमाले बैठकले चिन्ता व्यक्त गरेको छ। ‘ठाउँ–ठाउँमा लोकतन्त्रलाई नै खिसिट्युरी बनाउने काम भयो। प्रक्रियामा देखिएका विकृतिप्रति गम्भीर चिन्ता छ,’ ज्ञवालीले भने, ‘सरकारले जुन ढंगले निर्वाचनको स्वच्छतालाई दुषित बनाउने काम गरेको छ त्यसबारे चिन्ता गरेका छौं।’

०६४ को निर्वाचन र त्यसअघिको प्यार्टनलाई एमालेले हेर्दा अहिले पनि बलियो शक्तिका रुपमा आफूहरु रहेको निश्कर्ष बैठकले निकालेको छ।

‘हामीले ०६४ साल र त्यसअघिदेखि नै नेपालको मतको प्याटर्न हेरेका छौं। त्यो हेर्दा नेकपा एमाले र नेपाली कांग्रेस मुख्य शक्ति रहेको र पछिल्लो समय ०७४ को निर्वाचनपछि पपुलर भोटमा नेकपा एमाले कांग्रेसभन्दा शक्तिशालि भएको देखेका छौं,’ बैठकपछि ज्ञवालीले भने, ‘मंसिरमा हुनुपर्ने, गरिनुपर्ने निर्वाचनको तयारीमा हामी केन्द्रित भएर लाग्नेछौं। अहिलेको निर्वाचनबाट प्राप्त शिक्षालाई लिएर हामीले अघि बढ्छौं।

अन्तर्घातको खोजी
ज्ञवालीका अनुसार पार्टीमा भएका अन्तर्घातका कारण पनि कमजोर परिणाम ब्यहोर्नुपरेको निश्कर्षमा केन्द्रीय सचिवालय बैठक पुगेको छ।निर्वाचनको गम्भीर समीक्षा गरेको र त्यसको आन्तरिक कारणहरु पनि रहेको उनले बताए। ‘कतिपय ठाउँमा आकांक्षीहरुको ब्यवस्थापन गर्न नसक्दा, समयमै उम्मेदवार तय गर्न नसक्दा लगायतका केही आफ्ना कमजोरीहरु पनि हामीले सफलता प्राप्त गर्न सकेनौं,’ उनले भने, ‘केही ठाउँमा घात अन्तर्घातका कुराहरु पनि छन्, तथ्यले प्रमाणित हुने त्यस्ता गतिविधिहरुलाई पार्टीका सम्बन्धित कमिटीले कारबाही पनि गर्नेछन्।’

तर, पपुलर जनमतको हिसाबले नेकपा एमाले ३४ प्रतिशत मतसहित अगाडि आएको तथ्य स्थापित भएको उनले बताए। ‘यो निर्वाचनमा यावत घेराबन्दी, सत्ताको दुरुपयोगको अगाडि पनि नेकपा एमाले नै मुलुकको स्थापित शक्ति हो भन्ने कुरा देखिएको छ। यसमा हामी गर्व गर्छौं,’ उनले भने, ‘चक्रव्यूहघेराबन्दीका बीच एमालेलाई मत दिने जनताप्रति आभारी छौं।’

‘वाम गठबन्धन सम्भव छैन’
पछिल्ला केहीदिन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच संवादहिनताक तोड्दै छलफल भएका खबरहरु सार्वजनिक भइरहेका छन्। तर, एमाले नेता ज्ञवालीले भने अहिले वाम गठन्धनको कुनै सम्भावना नभएको दाबी गरेका छन्। ‘तत्काल निर्वाचनअघि वामपन्थी ध्रुवीकरण वा सहकार्यको सम्भावना देखेको छैन,’ सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘अहिले भएका छलफलहरु वामपन्थी राजनीतिसँग सम्बन्धित छैनन्।’ 

राजनीतिक दलका नेताहरुबीच छलफल हुनु समसामयिक राजनीतिको विषय रहेको उनले बताए। ‘वाम गठबन्धनको अनुमान सही होइन। यो बीचमा विभिन्न राजनीतिक दलका नेताहरुबीच छलफल चलिरहेको छ। पहिलो कुरा नेकपा एमाले वामपन्थी एकातिर र गैर वामपन्थी भन्ने ध्रुवीकरणको पक्षमा छैन्,’ उनले भने, ‘त्यस्ता वामपन्थीहरु जसले देशलाई बलियो बनाउने, कम्युनिस्ट आन्दोलन बलियो हुनुपर्छ भन्ने अठोट राख्ने र कम्युनिस्ट आन्दोलनको मुल शक्तिलाई परास्त गरेर कांग्रेसलाई शीरमा चढाउँदा खुसीयाली मनाउने साथीहरुलाई वामपन्थी भन्ने वा नभन्ने भन्ने प्रश्न महत्वपूर्ण छ। नेकपा एमाले मुलतः बलियो राष्ट्रिष्य शक्तिको रुपमा थप सुढृढ बनाउनेतिर लागेको र निर्वाचनअघि वामपन्थी ध्रुवीकरण वा सहकार्यको संभावना नदेखेको ज्ञवालीले बताए।

‘एमालेले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन’


केही समयअघि एमालेले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री अफर गरेको खबरहरु सार्वजनिक भएका थिए। तर, ज्ञवालीले भने त्यो कुरा शतप्रतिशत गलत भएको जिकिर गरे। ‘नेकपा एमालेले प्रधानमन्त्री अफर गरिएको भन्ने कुरा शत प्रतिशत गलत हो,’ उनले भने,‘नेकपा एमाले अहिले कसैलाई प्रधानमन्त्री अफर गर्ने मुडमा छैन।’

एमालेले त्यो अवस्था अहिले आवश्यक नभएको बताए। कांग्रेससँग बार्गेनिङ पावर बढाउन गरिएको सुनियोजित प्रचारको रुपमा उनले त्यसलाई औंल्याएका छन्। ‘नेपाली कांग्रेससँग बार्गेनिङ बढाउने सुनियोजित प्रचारबाजी हो। नेकपा एमाले त्यस्तो धन्दामा छैन्।’ उनले भने।
‘स्वतन्त्रको झुकाव बढेको निश्कर्ष होइन।’

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले जितेको विषयलाई पनि एमालेले गम्भीर रुपमा लिएको छ। तर, दलगत वितृष्णा बढेको भन्नेमा भने एमाले सहमत छैन। 

‘केही ठाउँमा स्वतन्त्रले जित्नुभयो, केही ठाउँमा जमानत जफत भएको छ,’ ज्ञवालीले भने,‘काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मेयर जित्दैगर्दा पार्टीको उम्मेदवार सुनिता डंगोलले उहाँले भन्दा धेरै मत ल्याउनुभएको छ। निरपेक्ष ढंगले स्वतन्त्र उम्मेदवारको झुकाव बढ्यो भन्ने निश्कर्ष निकाल्न मिल्दैन।’

कतिपय ठाउँमा कहिँ अभियानको बलमा, अन्य नाराको बलमा स्वतन्त्र उम्मेदवार आएको उनले बताए। ‘जनताको त्यो छनोटलाई हामीले सम्मान गर्नुपर्छ। उहाँहरु जनताबाट निर्वाचित हुनुहुन्छ, यो कार्यकाल सmल बनाउने कुरामा समर्थन रहन्छ।’ ज्ञवालीले भने।

‘राज्यसत्ताको चरम दुरुपयोग भयो’
एमाले केन्द्रीय कार्यालय बैठकले राज्यसत्ताको चरम दुरुपयोग गर्दैै लोकतन्त्रलाई खिसिट्युरी बनाउने काम भएको निश्कर्ष निकालेको छ। ‘स्थानीय तह निर्वाचनको गम्भीर समीक्षा गरेका छौं। निर्वाचन उच्चतम लोकतान्त्रिक अभ्यास हो। निर्वाचन प्रक्रियामा जित र हार स्वभाविक प्रक्रिया हुन्,’ उनले भने, ‘यसपटक निर्वाचनको समीक्षा गर्दैगर्दा कयौं ठाउँमा स्वस्थ, मर्यादित, निष्पक्ष भएन।

चुनाव जसरी पनि जित्नुपर्छ, जनताको अभिमत स्वतन्त्र ढंगबाट प्रकट हुनपर्छ भन्नेभन्दा पनि जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने कुराबाट निर्देशित भएर सत्ता गठबन्धनको तर्फबाट राज्यसत्ताको दुरुपयोग भयो।’

२०५ प्रमुख र २४० उपप्रमुखलाई प्रशिक्षण
एमालेले आगामी असार २ र ३ गते निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ। पालिका प्रमुख र उपप्रमुखलाई काठमाडौं बोलाएर पार्टीका अध्यक्ष र महासचिवले प्रशिक्षण दिने कार्यक्रम रहेको ज्ञवालीले बताए। 

‘निर्वाचित जनप्रतिनिधिका लागि असार २ र ३ गते राष्ट्रिय सभागृहमा जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम राखेका छौं,’ उनले भने, ‘स्थानीय तहका अधिकार र कार्यक्षेत्र, नीति तथा कार्यक्रम बनाउँदा समृद्धि र समाजवादका आधारहरु कसरी बनाउने, पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध, जनप्रतिनिधि र अरु निकाय बीचको सम्बन्ध, उहाँहरुको शैलीका बारेमा प्रशिक्षित गरिनेछ।’
२०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरु सहभागी हुने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .