राजनीति


सिंहदरबारमा झरेको रामकुमारीको आँशु....

सिंहदरबारमा झरेको रामकुमारीको आँशु....

रुपक चौलागाईं
असार १२, २०७९ आइतबार २०:३५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा गरेको निर्णयअनुसार आइतबार दुईजना मन्त्रीले पदबाट राजीनामा दिए। बाँकी दुईजना मन्त्रीको राजीनामाको खबर आएन तर उनीहरु पनि आइतबार मन्त्री पदबाट हटाइए।

शहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएको घोषणा गरे।

झाँक्रीको ठाउँमा आइतबार नै मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त भएका छन्। त्यस्तै, प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ पर्यटनमन्त्री बनेका छन्।  

राजीनामाको घोषणा नगरे पनि स्वाथ्यमन्त्री विरोध खतिवडाको पनि मन्त्री पद गुमेको छ। खतिवडाको ठाउँमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई बढुवा गरेर स्वाथ्यमन्त्री बनाइएको छ। स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई ल्याइएको छ।

श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई पनि हटाएर गैरसांसद शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाइएको छ।   

एकीकृत समाजवादीबाट थपिएका मन्त्रीहरुको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने शीतलनिवासले जनाएको छ ।

झाँक्रीको आँशु....
निवर्तमान मन्त्री रामकुमारी झाँक्री नेपाली कांग्रेस महामन्त्री गगन थापाकै समकालीन युवा नेतृ हुन्। उनी पनि थापाजस्तै विद्यार्थी संगठनबाट राजनीतिमा उदाएकी हुन्। यसबीचमा उनले केपी ओलीसँग असहमति राख्दै माधव नेपाललाई साथ दिइन्। हात दिइन्। फलस्वरुप एमालेमा हुँदा नपाएको अवसर उनले नयाँ पार्टीमा पाइन्। हाल उनी पार्टीको केन्द्रीय सचिव छन्।

प्रेम आले र किसान श्रेष्ठ भने अन्तिम घडीसम्म केपी ओलीको क्याम्पमा थिए। उनीहरुले एमालेबाट मन्त्री नपाएको झोंकमा माधव नेपालको पार्टी रोजेको आम जनमानसको बुझाइ थियो। विरोध खतिवडाले भने वैचारिक रुपमै माधव नेपाललाई साथ दिएको बताउने गरिएको छ।

एकीकृत समाजवादीले रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा र कृष्णकुमार श्रेष्ठलाई मन्त्री बनाउँदैखेरि ६ महिनाका लागि समय तोकिएको अध्यक्ष माधव नेपालले बताउँदै आएका छन्।

तर, जब मन्त्रीबाट हट्ने र नयाँ टिमलाई सरकारमा पठाउने कुरा आयो, प्रेम आलेदेखि रामकुमारीसम्मको एउटै स्वर सुनियो। यो परिघटनाले रामकुमारीमाथि समेत मन्त्री पदमा आशक्ति देखाएको दाग लागेको छ। आइतबार उनले सिंहदरबारबाट बिदा हुँदा झारेको आँशुले पनि त्यो आशंकालाई पुठ दिएको छ।

रामकुमारीजस्तो उमेर र सम्भावना दुवै भएकी युवा नेतृका विषयमा यस्तो सन्देश जानु पक्कै पनि सुखद पक्ष होइन, उनको राजनीतिक जीवनमा।      

मन्त्री बनेको ८ महिना २० दिनपछि पदबाट राजीनामा दिएकी शहरी विकासमन्त्री झाँक्रीले सिंहदरबारबाट बिदाइका क्रममा आयोजना गरेको पत्रकार सम्मेलनमा निकैबेर ‘भावविह्वल’ भइन्। उनले तरक्क आँशु नै झारिन्।

पटक–पटक टिस्यू पेपरले आँशु पुछेपछि उनलाई पत्रकारले ‘किन यति धेरै भावुक भएको?’ भन्दै प्रश्न गरेका थिए। जवाफ उनले आफू ‘इमोसनल’ भएको र बिदाइका कुराहरुले प्रभाव पार्ने बताइन्।

झाँक्रीले पत्रकार सम्मेलनमा सकेसम्म पत्रकारका प्रश्नहरुको जवाफ नदिन खोजिन्। धेरैजसो पत्रकारले भावुकता मिसाएर प्रश्न गर्न थालेपछि उनले ‘मलाई रिस उठ्ने प्रश्न गर्नु न’ भन्दै ठट्टा समेत गरेकी थिइन्। पत्रकार सम्मेलन चलिरहँदा बेलाबेलामा उनी भावुक हुन्थिन्। बेलाबेलामा आफूलाई सम्हाल्न खोजेजस्तो गर्दै हाँसोको फोहोरा छुटाउने प्रयास गरिन्।

उनले कर्मचारीमार्फत नै पत्रकारका प्रश्नको जवाफ दिन लगाउन खोजेकी थिइन्। बीचमा एकजना पत्रकारले ‘तपाईंहरु सकेसम्म राजीनामा नदिने लाइनमा हुनुहुन्थ्यो, आज एक्कासी कसरी पत्रकार सम्मेलन नै गरेर राजनीामा घोषणा गर्ने अवस्थामा पुग्नुभयो?’ भन्दै प्रश्न गरे।

त्यसपछि बल्ल उनले आफ्नो मौनता तोडिन्। र, मन्त्री नियुक्त हुनेबेलादेखि अहिलेसम्मका विषयहरु बेलिविस्तार लाइन्।

मन्त्री झाँक्रीकै शब्दमा उनको प्रष्टीकरण
हामीले पहिल्यै नै गएर पार्टी अध्यक्षलाई भनेका थियौं– यो मिडियाबाट थाहा पाएर रमाइलो हुँदैन। हामीलाई इन्फर्म गर्नुभयो भने वातावरण बनाएर आजजस्तै गरी छाड्छौं भनेका थियौं।

त्यो चैततिरै थियो। त्यतिबेला एमसीसीमा गठबन्धन के हुन्छ भन्ने कुरामै रुमलिएका थियौं। त्यसपछि केही केही मन्त्री बनाउनेहरुले र बन्नेहरुले तपाईंहरुले सपथ खाएको कहिले हो रे! भन्दै प्रश्न गर्न थाल्नुभयो। असोज कार्तिक कति गते रे भन्ने प्रतिप्रश्न आयो। हामीले त्यसपछि असोज २२ गते भन्यौं।

त्यसपछि असोज, कात्तिक, मंसिर भनेर गनेको थाहा भएपछि साथीहरुले काउन्ट डाउन सुरु गरेछन् भन्ने थाहा भयो। त्यसपछि हामीले पार्टीले नै गर्ने निर्णय हो भनेर पहिल्यै जानकारी हुँदा वातावरण बनाएर छाड्छौं भनेका थियौं।

त्यसपछि स्थानीय चुनाव घोषणा भयो। चुनावमा गयौं। आएर बजेटको काममा लाग्यौं। बजेट वक्तव्यमा अर्थमन्त्रीज्यूको पनि स्थानीय तहलाई आफैं सक्षम बनाउने धारणा हो। उहाँको विचारसँग अलिकति शहरी विकास मन्त्रालय नजिक थियो। जसले गर्दा हामीले एउटै अभिमूखीकरण कार्यक्रम पनि बनाएका थियौं। बजेट वक्तव्यको थ्रेस होल्डबाट धेरै कार्यक्रम तल जाने भएपछि मन्त्रालयको सन्तुलन भएन कि भन्ने समीक्षामा थियौं।

त्यतिबेला मेरो पार्टीले निर्वाचनको समीक्षा गर्नका लागि बैठक बोलाएको भन्ने मिडियाबाट थाहा भयो। समीक्षा गर्न बोलाएको बैठकमा मन्त्रीबारे निर्णय भएछ।

हैन, हामी त यहीँ मन्त्रालयकै काममा थियौं। आइतबार विदा थियो । ३ बजे बैठक छ भन्ने थियो। तर, १ बजे समाचारहरुमा आइसकेको रहेछ। हामीले केही छैन भनेर भन्यौं। तर, हामीले मिडियाबाट जानकारी नहोस्, पहिल्यै जानकारी होस भनेका थियौं। मिडियाबाटै थाहा पायौं। किनभने विरोध दाइहरुले थाहा पाइसक्नुभएको थियो।

हामीले बजेट बनाएका छौं, त्यसको डिफेन्स गर्छौं र छाड्छौं भनेर अध्यक्षलाई भनेका थियौं। हामीले प्रधानमन्त्रीलाई पनि त्यही भन्यौं। ‘पार्टीले फिर्ता ल्याउने भनेको छ, पत्र आएपछि काम गर्न जाने कुरा भएन’ भन्दै प्रधानमन्त्रीलाई कुरा राख्यौं। किनभने पार्टीले फिर्ता बोलायो, अर्को नयाँ मान्छे बोलायो भनेपछि प्रधानमन्त्रीलाई भेटेका थियौं।

हामी बालुवाटारबाट निस्कने बेलामा गठबन्धनको बैठक पनि थियो। प्रधानमन्त्रीले बजेटसम्म बसेर काम गर्नुस् भन्नुभयो। मुख्यसचिवलाई त्यहीँबाट निर्देशन दिनुभयो। बजेटसम्म उहाँहरुले काम गर्नुहुन्छ भनेर सबै सचिवहरुलाई सर्कुलेशन भयो। त्यसपछि हामीले आएर काम गर्यौं।

बजेटको डिफेन्स गर्ने कुरा मलाई चाँहि अलि बढी रहर थियो। किनभने, हामीले काम गरेका थियौं, त्यो कुरा भन्न र स्थापित गर्न रहर थियो। यो बीचमा अनेक अड्कलबाजीहरु भए।

आज राष्ट्रियसभामा कुराहरु भए। मेरो ढंगले यहाँ साथीहरुलाई धन्यवाद भएर हिँड्न चाहन्थेँ। (भावुक हुँदै) त्यसकारण मैले अहिले प्रेस मिट आयोजना गरेको हो।

पार्टीले फिर्ता बोलाउने कुरालाई कार्यान्वयन गर्नुपर्ने थियो। आजसम्मको सहयोगका लागि धन्यवाद भन्नका लागि तपाईंहरुलाई बोलाएको हो। ... प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद पुनर्गठन गर्नुहुन्छ होला।

(भावुक हुँदै) हामीले राजीनामा दिनुपर्दैन। हामीले कुनै फौजदारी कसुर गरेको पनि होइन। गर्नुपर्ने पनि होइन भन्नुभयो प्रधानमन्त्रीले। खासगरी मन्त्रालयको टिमलाई धन्यवाद भन्नका लागि यहाँ बोलाइएको हो। अरु धेरै कुरा लिखित नै भनौँला कुनै दिन । अहिले मैले धेरै भन्न सकिनँ।

सरकारमा रहँदा रामकुमारीले के कस्ता कामहरु गरिन् ? मन्त्रालयमा सुधारका के कस्ता प्रयास गरिन् ? यसको मूलयांकन हुँदै जाला । तर, उनले लिएको राजनीतिक बाटो अर्थात् एकीकृत समाजवादीको भावी यात्रामा उनको भूमिका कस्तो रहला ? यो प्रश्न पनि साथैमा लिएर सिंहदरबारबाट बाहिरिएकी छन् रामकुमारी ।

गह्रुंगो मन लिएर सिंहदरबारबाट बाहिरिएका एकीकृत समाजवादीका अन्य नेता विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठको पार्टीगत एवं राजनीतिक निष्ठामाथि पनि यही प्रश्न तेर्सिएको छ ।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .