राजनीति


एकीकृत समाजवादीको ‘मिनी’ राष्ट्रिय भेला : तीन नेताको बहिष्कार

जब ‘पर्‍यो देशलाई चोट...’ नेता कार्यकर्ताको नाचगान
एकीकृत समाजवादीको ‘मिनी’ राष्ट्रिय भेला : तीन नेताको बहिष्कार

समाजवादीको केन्द्रीय परिषद् भेलामा नाचगान गर्दै नेता कार्यकर्ता। तस्बिर : विक्रम राई/नेपालखबर


रुपक चौलागाईं
असार १३, २०७९ सोमबार १९:५३, काठमाडौँ

सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक जारी छ। सोमबार र मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित परिषदको बैठकमा सहभागी हुन देशभरबाट प्रतिनिधि उपस्थित भएका छन्।

प्रज्ञा भवनमा सोमबारदेखि सुरु केन्द्रीय परिषदको बैठकमा समूहगत छलफल सुरु भएको छ। पहिलो दिनको बैठकमा प्रदेशगत रुपमा ११ वटा समूह निर्माण गरी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’माथि छलफल सुरु भएको छ।

समूहगत छलफलबाट आएका निष्कर्षसहित मंगलबार बस्ने बैठकमा थप छलफल गरेर अध्यक्षले बैठक समापन गर्ने एकीकृत समाजवादीले बताएको छ।

मन्त्रीबाट बिदा ३ नेता अनुपस्थित
केन्द्रीय परिषद बैठकमा आइतबारमात्र मन्त्री पदबाट बिदा भएका ३ जना निवर्तमान मन्त्री अनुपस्थित भए। देशभरका प्रतिनिधिहरू उत्साहित हुँदै बैठकमा उपस्थित हुँदा काठमाडौंमै रहेका उनीहरु भने बैठकमा देखिएनन्।

निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ बैठकमा उपस्थित भएनन्। पार्टीले पूर्व जानकारी नगराई निर्णय गरेको भन्दै असन्तुष्ट भएर सरकारबाट बाहिरिन आनाकानी गरेका उनीहरु केन्द्रीय परिषद् बैठकमा उपस्थित नहुनु अर्थपूर्ण भएको चर्चा बैठकस्थल भित्रै चलेको थियो।

ढिलो पुगेकी रामकुमारी निराश
शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आइतवार मात्रै राजीनामा घोषणा गरेकी नेतृ रामकुमारी झाँक्री भने बैठकस्थलमा ढिलागरी उपस्थित भएकी थिइन्।

झाँक्री पुग्दा अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका थिए। मन्त्री पदबाट राजीनामा दिँदै गर्दा रामकुमारीले सिंहदरबारमा बगाएको आँसुको चर्चा समाजवादीको बैठकस्थलमा आज पनि चल्दै थियो।

बैठकस्थलमा पुग्दै गर्दा उनको अनुहारमा उत्साह थिएन। केही बेचैनी र उदासीनतासहित उपस्थित भएकी झाँक्री बैठकमा पुगेसँगै मोबाइलमा ब्यस्त देखिइन्।

केही कार्यकर्ता अघि–पछि लगाएर पुगेकी झाँक्रीले सुरुमा महासचिव वेदुराम भुसालसँग केही भलाकुसारी गरिन्। लगत्तै, मञ्चको पछिल्लो लाइनमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईनजिक पुगेर बसिन्।

नेपालले सम्बोधन गरिरहँदा केही कार्यकर्ता हुटिङ गरिरहेका थिए। सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसाल भने डकुमेन्टमा काममा ब्यस्त देखिन्थे। तर, झाँक्रीले बैठक अवधिभर घोप्टो परेर मोबाइल चलाइरहिन्।

सदस्यको हातमा कालो ब्याग र फारम
केन्द्रीय परिषद् बैठकमा उपस्थित हुन आएका सबै प्रतिनिधिलाई पार्टीले एउटा कालो ब्याग उपलब्ध गराएको थियो। एक–एकवटा फारम र एउटा प्रतिवेदन राखेर सदस्यहरुलाई ब्याग उपलब्ध गराइएको थियो।

अध्यक्ष नेपालको सम्बोधन सकिएपछि महासचिव भुसालले सबै सदस्यहरुलाई उक्त ब्याग खोल्न आग्रह गरेका थिए। ब्यागभित्र भएको फारम भरेर समूहगत रुपमा उपलब्ध गराउन भुसालले आग्रह गरेका थिए।

फारममा ब्यक्तिगत विवरण भर्न आग्रह गरिएको छ। एउटा फोटोसहित सदस्यहरुलाई आफ्नो नाम, जन्म मिति, जन्म स्थान, पार्टी सदस्यता नम्बर, ठेगाना लगायतका विवरण भर्ने गरी फारम उपलब्ध गराइएको हो।

‘फलानो कमिटीको फलानो पद’ भन्दै सपथग्रहण
केन्द्रीय परिषदमा अहिले विभिन्न क्षेत्रबाट निर्वाचित भएकाहरु र मनोनित भएर केन्द्रीय परिषदको सदस्य भएका सदस्यहरुलाई सपथ गराइएको थियो।

पार्टी अध्यक्ष नेपालले सपथ खुवाएका थिए। पदेन सदस्यहरुले भने सपथ ग्रहण गरेनन्। सल्लाहकार परिषद र ज्येष्ठ कम्युनिस्ट परिषदका छुटेका सदस्यहरुलाई पनि सपथ गराइएको थियो।

जसका लागि महासचिव भुसालले केन्द्रीय कमिटी र केन्द्रीय निकायमा मनोनित भएका केही सदस्यलाई सपथ लिन आग्रह गरेका थिए।

सपथ सुरु हुनासाथ प्रज्ञा भवनको हलमा केहीबेर हाँसोको फोहोरा छुटेको थियो। ‘म नेकपा एकीकृत समाजवादीको फलानो कमिटीको फलानो पद...’ भन्दै सपथ ग्रहणको ब्यहोरा पढेका थिए। धेरै कमिटीका सदस्यहरुलाई एकैपटक सपथ गराइएको कारणले उनले ‘फलानो कमिटीको फलानो पद’ भन्दै सपथ खुवाएका थिए।

जब ‘पर्‍यो देशलाई चोट...’ गुन्जियो
बैठकको बीचमा गायक नवीन पौडेल मञ्चमा देखिए। उनले ‘पर्‍यो देशलाई चोट, संविधान नै मास्नेलाई किन दिन्छौं भोट...’ बोलको गीत गाए।

उनले गीत गाउन सुरु गरेपछि मञ्च अगाडि बसेका प्रतिनिधिहरू नाच्न थाले। केहीबेरमा अध्यक्ष नेपाल, नेता खनाल, महासचिव भुसाल लगायतका नेताहरु पनि उठेर गीतको बोलमा रमाउन थाले।

मञ्चमा गीत गुन्जिरहँदा सचिव झाँक्री भने मोबाइलमै ब्यस्त थिइन्। गीत सकिएपछि केही समय ग्याप गरेर समूहगत छलफल भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .