राजनीति


माओवादीसँग एकता प्रस्तावमा झलनाथ खनालको फरक मत

माओवादीसँग एकता प्रस्तावमा झलनाथ खनालको फरक मत

फाइल तस्बिर


रुपक चौलागाईं
असार २२, २०७९ बुधबार १२:३४, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले फरक मत राखेका छन्। 

गत सोमबार बसेको पार्टी सचिवालय बैठकमा ‘वाम एकता’ को प्रस्तावबारे ब्रिफिङ भएको थियो। 

एकीकृत समाजवादीको सचिवालय बैठकअघि आइतबार साँझ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच ललितपुरमा भेटवार्ता भएको थियो। उनीहरुले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका थिए। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का भान्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा तत्कालीन नेकपाका ५ सचिवालय सदस्यबीच भेटवार्ता भएको थियो। 

उक्त भेटमा पछिल्लो समय वामपन्थी दलहरु एकीकरणको अभियानमा लागेका नेता वामदेव गौतम पनि सहभागी थिए। 

पछिल्लो समयमा कांग्रेसलाई छाडेर वाम गठबन्धन या समाजवादी केन्द्र निर्माणको बहस चलिरहेका बेला तीन नेताहरुको भेटलाई अर्थपूर्ण मानिएको थियो। 

उनीहरुबीच उक्त भेटमा वाम एकताबारे कुरा भएको थियो। त्यसबेला सबै वामपन्थी दलबीच सम्भव भएसम्म एकता यदि त्यसो हुन नसके एकीकृत समाजवादी र माओवादी केन्द्रलाई मिलाएर लैजाने निष्कर्षमा नेताहरु पुगेका थिए। 

तर, दुई दलबीचको एकता प्रस्तावमा सम्मानित नेता नेता खनालले फरक मत राखेका छन्। उनले समाजवादीलाई नै अघि बढाउनुपर्ने मतसहित माओवादीसँगको एकतामा विमति जनाएका थिए। 

सचिवालय बैठकपछि नेपालखबरसँगको कुराकानीमा पनि खनालले आफूहरु पार्टी निर्माणमै केन्द्रित भएको भन्दै केही टुंगो नलाग्ने बताएका थिए। 

आगामी निर्वाचनमा माओवादीसँग एकताको कुरा के हो? भन्ने नेपालखबरको प्रश्नमा खनालले भनेका थिए, ‘अहिले केही टुंगो छैन, चुनाव नै कहिले घोषणा हुने भन्ने थाहा छैन। हामी पार्टीको आन्तरिक जीवन सुदृढीकरण अभियानमै छौं।’

बरु एमालेसँग गठबन्धन
एमालेबाटै विभाजित भएर नयाँ दल बनाएको एकीकृत समाजवादीले नीति र सिद्धान्त मिल्नेसँग कार्यगत एकता हुनसक्ने प्रष्ट पारेको छ।

‘अहिले माओवादीसँगै एकता हुन्छ भन्ने छैन,’ एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘झलनाथ कमरेडको पनि यसमा फरक मत छ। बरु चुनावमा एमालेसँग गठबन्धन बनाउने कुरामा उहाँ (झलनाथ) सकारात्मक हुनुहुन्छ।’

नीति मिल्नेसँग कार्य,गत एकता र नमिल्नेसँग वामपन्थी एकता गर्ने सकिने खनालले नेपालखबरलाई बताएका छन्। 

‘एमाले पनि वामपन्थी दल नै भएकाले केही मात्रामा चुनावी सहकार्यसम्म सोच्न सकिन्छ,’ खनालको मुड बुझेका एक नेताले बताए।

कांग्रेसको विकल्प
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेसले आफूहरुलाई धोका दिएको निष्कर्ष समाजवादी र माओवादीले निकालेका छन्। 

प्रचण्डले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट धोका भएको सार्वजनिक रुपमै निकालिसकेका छन्। 

पार्टीको केन्द्रीय समिति बैठकलाई असार १९ मा प्रज्ञा भवन कमलादीमा सम्बोधनका क्रममा दाहालले कांग्रेसबाट निर्वाचनमा धोका भएकाले अब समीक्षा गरेर अघि बढ्ने बताएका थिए। 

'कांग्रेसबाट धोका भएको महसुस भएको छ। आगामी दिनमा शिक्षा लिनुपर्नेछ', उनले  भने, 'गठबन्धनलाई कसरी अगाडि लाने भन्नेमा छलफल जरुरी छ।'

दाहालले सार्वजनिक मञ्चबाटै यसो भनिरहँदा वाम दलहरुबीच मिल्ने उपायको खोजी जारी छ। प्रचण्ड, माधव नेपाल र जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच समाजवादी केन्द्र निर्माणका लागि पटक पटक छलफल भएको छ। 

तत्कालीन नेकपा रहेका बेला पनि यी नेताहरुबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा समाजवादी केन्द्र निर्माणका लागि तीन पटकसम्म छलफल भएको थियो। 

त्यसलाई निरन्तरता दिँदै गत असार ४ गते प्रचण्ड र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको थियो। 

बाबुरामको पहलमा भएको भनिएको यो वार्तामा समाजवादी केन्द्र निर्माणमाथि नै छलफल भएको थियो। त्यसबेला पनि जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनाउनेबारे छलफल भएको थियो। 

प्रमुख वाम शक्ति एमालेसँगको वैमनस्यता बढिरहेका बेला अन्य वाम शक्ति मिल्ने प्रयासको मोडालिटीमा अझै अलमल छ। समाजवादी केन्द्र निर्माण गर्ने या पार्टी नै मिलाएर लैजाने भन्नेमा समस्या छ। 

यसैलाई लिएर तत्कालीन नेकपाका पाँच सचिवालय सदस्य हात्तीवनमा जुट्दा पार्टी एकताको कुरा उठेको थियो।

जहाँ नेता खनालले माओवादीसँग एकता गरेर जान नसकिने मत राखेपछि यी दुई दलबीचको एकता सम्भावना कमजोर बनेको हो। आगामी मंसिरमा हुने भनिएको संघ तथा प्रदेशसभा निर्वाचनअघि नै एकताको कोशिशमा वाम दल लागेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .