राजनीति


हँसिया हथौडाबाटै चुनाव लड्न माधव र बाबुराम सहमत

चार कम्युनिस्ट समूहको एउटै साझा चुनाव चिन्ह रहने
हँसिया हथौडाबाटै चुनाव लड्न माधव र बाबुराम सहमत

सागर न्यौपाने
साउन ९, २०७९ सोमबार २०:३२, काठमाडौँ

नेकपा समाजवादी केन्द्र बनाउने गरी छलफललाई तीव्र पारेका चार कम्युनिष्ट घटकले माओवादी केन्द्रकै चुनाव चिन्ह (गोलाकारभित्र हँसिया हथौडा) लिएर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिने भएका छन्।

जसपा पुनर्गठन गरेका डा. बाबुराम भट्टराईको नयाँ गठन हुने पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय अभियान पार्टी गोलाकारभित्रको हँसिया हथौडा चिन्ह लिएर चुनावमा जान सहमत भएका हुन्।

यसअघि यो चुनाव चिन्ह नेकपा माओवादी केन्द्रले प्रयोग गरेको थियो। ०७४ को चुनावमा डा. भट्टराईले आँखा चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएका थिए। गत वैसाखको चुनावमा माधव कुमार नेपालको पार्टीले कलम चुनाव चिन्ह लिएको थियो। भर्खरै खुलेको वामदेवको पार्टीले भने चुनावमा भाग लिएको छैन।

चारै दलले आगामी चुनावमा समाजवादी गठबन्धन बनाएर जाने सहमति जुटाएका छन्।

‘समाजवादी गठबन्धन बनाएर चुनावमा जान्छौं,’ छलफलमा सहभागी डा. बाबुराम भट्टराई निकट एक नेताले नेपालखबरसँग भने, ‘मतदान चिन्ह माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा नै लिने लगभग समझदारी छ, लिखितम भएको छैन। माओवादीले २०६४ देखि सोही चिन्हबाट चुनाव लडेकाले जनतामा चर्चित नै छ, यसैलाई लिने कुरामा विवाद छैन।’

एमालेबाट विभाजन भएपछि नेकपा एकीकृत समाजवादीले  पहिलो पटक स्थानीय चुनाव लडेको थियो। अहिले एकीकृत समाजवादीको कलम, डा. बाबुरामले जसपा पुनर्गठन गर्ने भएकोले पार्टीको नाम र चिन्ह के पाउँछन् खुलेको छैन। वामदेव गौतमले गुलाफको फूल चिन्ह मागेर निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।

सबै दलभन्दा पुरानो र तीनवटा ठूला चुनाव लडेकोले माओवादीकै चुनाव चिन्हमा उठ्ने समझदारी बनेको समाजवादीका अर्का नेताले बताए।

चार दलबीच चुनाव लगत्तै पार्टी एकता गर्नेगरी नेकपा समाजवादी केन्द्र पार्टी बनाउने सहमति जुटेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए। आइतबार संसदमा पत्रकारसँग कुरा गर्दै उनले तत्काल कुनै पार्टीसँग एकता नहुने प्रष्ट्याए।

‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौं।’

पुनका अनुसार समाजवादी गठबन्धनले प्रत्यक्षका सबै सिटमा उम्मेदवारी दिनेछ।

उनी भन्छन्, ‘हामी समाजवादीबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवार उठाउँछौँ, कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ।’

मंसिरमा हुने चुनावलाई आधार बनाएर उनीहरुले सिट बाँडफाँट गर्ने प्रयास गरिरहेका छन्। सिट बाँडफाँट लगायतका विषयको निर्णय शीर्ष नेताहरु बसेर गर्नेछन्।

पछिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच दुई चरणमा छलफल भइसकेको छ।

यस्तै, प्रचण्ड र जसपा पुनर्गठन अभियानमा लागेका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच पनि चार चरणमा छलफल भइसकेको छ।

नेताहरुबीचको छलफलको निष्कर्ष भनेको पार्टी एकता गर्ने लक्ष्यसहित मोर्चा बनाएर जाने हो। शीर्ष नेताहरुबीच जुटेको सहमतिलाई दोस्रो र तेस्रो तहका नेता समक्ष प्रस्तुत गरिएको छ।

कुनै कारणले नरोकिए शीर्ष नेताबीच बनेको सहमतिलाई तल्लो तहैसम्म सर्कुलरमार्फत् पठाइने छ।

नेपाली कांग्रेससहित पाँच दल (माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी) बीच प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पनि गठबन्धन कायम राखेर जान छलफल भइरहेको छ।

तर, कांग्रेसले एकल रुपमा बहुमत ल्याउनेगरी गठबन्धन बनाउने निर्णय गरेपछि चार दल एकै ठाउँमा उभिएका हुन्।

वामदेव गौतम बाहेक तीन दल भने कांग्रेससहितको गठबन्धन कायमै राख्ने पक्षमा छन्।

कांग्रेसलाई एकल वा कसैसँग मिलेर पनि सहजै बहुमत पुर्याउन नदिन पनि छुट्टै मोर्चा बनेको नेताहरु बताउँछन्। तर, चारै दलले सिट बाँटफाँटबारे निर्णय गरिसकेका छैनन्।

३० वैशाखकाे स्थानीय तह निर्वाचनमा माओवादीले चितवन महानगर प्रमुखसहित झण्डै १५ प्रतिशत जनप्रतिनिधि चुन्न सफल भएको थियो। यस्तै एकीकृत समाजवादीले पोखरा महानगर, हेटौँडा उपमहानगर प्रमुखसहित झण्डै पाँच प्रतिशत जनप्रतिनिधि जितेको थियो। बाबुराम भट्टराईको जसपाले ३० पालिकाको प्रमुख जितेको थियो।

भट्टराईले जसपा पुनर्गठन गर्ने निर्णय गरिसकेका छन्। अब उनले  केही दिनभित्रै नेपाल समाजवादी पार्टी गठन गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .