राजनीति


तेह्र महिनापछि देउवाले देखे 'टेबलको शासन’

अर्थतन्त्र सहीमार्गमा रहेको जनार्दन शर्माको दाबी
तेह्र महिनापछि देउवाले देखे 'टेबलको शासन’

फाइल तस्बिर


सागर न्यौपाने
साउन १८, २०७९ बुधबार १६:५६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार (१७ साउन) विभागीय मन्त्री, राज्यमन्त्री र सचिवहरूलाई सिंहदरबारमा बोलाए। तीन घण्टा बढी समयसम्म बैठक बस्यो। मन्त्रालयका गतिविधिहरूको समीक्षा, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा प्रधानमन्त्री देउवाले ‘ब्रिफिङ’ लिए ।

बैठकको सुरुमा मुख्यसचिव शंकरदास बैरागीले लिखित स्वागत मन्तव्य राखे। उनले प्रधानमन्त्रीको योजना लगायतका विषयबारे मन्तव्य राखे।

आर्थिक वर्ष भर्खरै सुरु भएकाले बजेट कार्यान्वयनकै विषयमा बैठक केन्द्रित भयो। मन्त्री र केही सचिवले आफ्ना मन्त्रालयको अघिल्लो वर्षको अवस्था र अहिलेका चुनौतिबारे धारणा राखे। सबै मन्त्रालयको बेग्लाबेग्लै रिपोर्टिङ भएको थियो।

सरकारको कामकारबाहीको विषयमा कुरा उठ्न थालेपछि प्रधानमन्त्री देउवाले कामको गति बढाउन आफै सक्रिय भएको सहभागी एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री बनेको १३ महिनापछि यसरी प्रधानमन्त्री देउवा पहिलो पटक प्रस्तुत भएका हुन्।

झण्डै चार घण्टाबढी समयसम्म प्रधानमन्त्रीले मन्त्रालयका समस्या र आगामी योजना सुनेपछि निर्देशन दिए– ‘यसवर्ष भनेकै समयमा काम हुनुपर्छ। नयाँ बजेट कार्यान्वयन गर्न कार्यसम्पादन सम्झौता गर्ने र सोही अनुसार सेड्युल बनाएर काम गर्नुपर्यो । राष्ट्रिय विकासको लक्ष्य प्राप्त गर्न सबै लागौं ।’

एक मन्त्रीका अनुसार बैठकमा एकवर्ष अघि अघिल्लो आर्थिक वर्षको काम कारवाही लिखितरुपमा प्रस्तुत भएको थियो। त्यहाँ प्रधानमन्त्री कार्यालयको पनि अहिलेसम्मका गतिविधि प्रस्तुत गरिएको थियो।

‘गतवर्ष ९आर्थिक वर्ष ०७८/०७९को बजेट कार्यान्वयन, कार्यक्रम सम्पादन समीक्षा भयो,’ ती मन्त्रीले नेपालखबरसँग भने, ‘यो आर्थिक वर्षको बजेट कार्यान्वयनको एक्सन प्लान बनाएर काम गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशन छ।’

‘एक्सन प्लान’ बनाएर काम गर्न निर्देशन दिएका प्रधानमन्त्री देउवाले त्यसमा मन्त्री, सचिव र अन्य कर्मचारीले सहयोग गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीको निर्देशन सम्बोधन अघि मन्त्रीहरु, सचिवले मन्त्रालय अवस्थाबारे रिपोर्टिङ गरेका थिए। यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्व पौडेलले अहिलेसम्मको योजना निर्माण, कार्यान्वयन र बजेट खाकाबारे ब्रिफिङ गरेका थिए।

टेबलको शासन अन्त्य गर्नुस्– देउवा
मन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष लगायतको रिपोटिङ ध्यान दिएर सुनेका प्रधानमन्त्री देउवाले ‘टेबलको शासन’ अन्त्य गर्न कडा निर्देशन दिए।

‘यस वर्षको बजेट कार्यान्वयन हुनैपर्छ, हामीले जुन लक्ष्य लिएका छौँ, त्यो मिट हुनैपर्छ, बैठकमा प्रधानमन्त्रीले भने, ‘यो संयुक्त सरकार हो, यसमा सबै पार्टीका सोच, विचार, योजना पनि अट्छन्, सरकारका नीति तथा कार्यक्रममा केन्द्रित भएर लाग्न म सबैलाई आग्रह गर्दछु।’

मन्त्रीहरुले सुरुमा आफ्ना मन्त्रालयगत समस्याबारे गुनासो गरेका थिए। त्यसको जवाफ रिपोर्टिङकै क्रममा अर्थमन्त्री जनार्दन शर्माले दिने प्रयास गरे।

मन्त्रीहरुले पर्याप्त बजेट नपाएको र कतिपय फाइल नै हराउने गरेको गुनासो गरेका थिए।

‘हाम्रो बजेटको कार्यान्वयनमा मात्र समस्या होइन, केही पद्दतिगत पनि समस्या छ, हाम्रो काम नै रोकिन्छ, ढिलासुस्ती छ,’ अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीहरुको धारणा सुनेपछि भने, ‘शाखा अधिकृत, उपसचिव, सहसचिव र सचिव हुँदै मेरो टेबलमा फाइल आइपुग्दा एक हप्ता बढी लाग्छ, अनि मैले पठाएको फाइल पनि दराजमा थन्किन्छ।’

यही भनाइलाई आधारित भएर जनार्दनको नामै लिएर प्रधानमन्त्री देउवाले निर्देशन दिए–‘टेबलमा शासन गर्ने कार्यशैली सुधारौँ।’

अर्थतन्त्र सही मार्गमा रहेको दाबी
अर्थतन्त्र डरलाग्दो अवस्थामा नभएको, वैदेशिक मुद्रा सञ्चिति बढ्दो क्रममा रहेको अर्थमन्त्री शर्माले ब्रिफिङ गरेका थिए।

‘पछिल्लो अवस्थामा वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा छैन,’ शर्माले भने, ‘तर, विलासिताका सामान नियन्त्रण गर्नुपर्छ, हामीमा उपभोगवादी चिन्तन छ, यसको समाधान भनेको हामीले केही समय आचरणमा सुधार गर्नै हो। खर्च गर्ने संस्कार बढ्यो। उपभोगवादको नियन्त्रण गरौँ।’

अर्थमन्त्री जनार्दन शर्माको नाम दुई तीन पटक लिएर प्रधानमन्त्री देउवाले उहाँले भनेकै कुराहरुलाई फलो गरौं भनेका थिए। त्यो थियो– कार्यक्रम अनुसार बजेट खर्च।

अहिले मन्त्रालयमा कार्यक्रम एकातिर बजेट अर्कातिर भएको, प्राय मन्त्रालयले अघिल्लो वर्षकै बजेट अनुसार काम गर्न नसकेको कुरा बैठकमा उठेको थियो।

पहिलो त्रैमासिकसम्म (असोज) डीपीआर, इआइए, ऐन, निर्देशिका, कार्यदिशा र कार्ययोजना बनाइसक्नुपर्छ,’ देउवाले भने, ‘कात्तिक मसान्तसम्म ठेक्का सम्झौता र मंसिरमा काम सुरु हुनुपर्यो।’

उनले त्यसपछि असारसम्म पुग्दा विकास निर्माणको कामले गति लिने बताए ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट नदिएको विषयमा केही मन्त्रीहरुले गुनासो गरेका थिए। केहीले टेबलमा फाइल रोकिएको भन्दै चित्त पनि दुखाए। त्यस विषयमा जवाफ दिँदै उनले बजेट कार्यान्वयन नगरी अरु बजेट नमाग्न आग्रह नै गरे।

पहिलो भएको बजेट कार्यान्वयन गरौं, अनि पो नयाँ कार्यक्रमका लागि स्रोत जुट्छ त,’ बैठकमा शर्माले भने, ‘हाम्रो यहाँ त कार्यक्रम नै नगरी बजेट रोकिएको छ, फेरि बजेटमात्र मागेर स्रोत कहाँबाट मिलाउने।’

उनले बजेट प्रक्रियाबारे पनि जानकारी गराए। ‘राज्यको ढुकुटीको पैसा मजदूरमा जानुपर्यो, त्यसका लागि काम हुनुपर्छ, अनि मात्र बैंकमा जान्छ,’ शर्माले थपे, ‘कार्यक्रम नहुने, खर्च पनि नहुने भएपछि कहाँबाट जुट्छ स्रोत। पहिला अघिल्लो बजेट पूरै खर्च गरौं।’

उनले अर्थमा ३ देखि ७ दिन बढी फाइल नराख्ने बताए। ‘अर्थमा मैले ३ देखि ७ दिनभित्र फाइलको काम सक्न भनेको छु, हराउने, लुक्ने, थन्किने भयो, कुनैकुनै कामलाई १५ दिन लाग्ला नत्र धेरै दिन नराख्न निर्देशन गरिसकेको छु।’

‘हर्क साम्पाङबाट सिकौं, बाँदरले झैं जुम्रा हेरेर नबसौं’
बैठकमा खेलकूद मन्त्री महेश्वरजंग गहतराजले मलको समस्या समाधान गर्न गम्भीर बन्न र राष्ट्रिय गौरवका आयोजना छिटो पूरा गर्नेगरी मलखादको विषयमा सोच्न आग्रह गरे। मलको समस्या हल गर्न गाई भैँसी पाल्नुपर्ने र त्यसका लागि सहुलियत ऋण दिन उनले सुझाव दिए। उनले हर्क साम्पाङबाट जनपरिचालन शैली सिक्न सुझाव दिएको बैठकमा सहभागी अर्का मन्त्रीले बताए।

‘हर्क साम्पाङबाट जनपरिचालन सिक्नुपर्यो,’ गहतराजले भने, ‘जनपरिचालनबाट सिञ्चाईको क्षेत्रमा काम गर्न सकिन्छ, बजेट तोकेर मापदण्ड दिएर जनतालाई परिचालन गर्ने हो भने नहर पनि बन्छ।’

उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सिक्टा सिञ्चाई आयोजनाको मूल नहरको काम सकिएको तर, शाखा र प्रशाखा ९कुलो० बन्न नसकेको भन्दै काम गर्ने मोडल बदल्न आग्रह गरेका थिए।

‘मूल नहर बनिसक्यो शाखा नहर बन्दैन, प्रशाखा पनि बनाउनेतिर कसैको ध्यान गएन,’ मन्त्री गहतराजले भने, ‘डम्पिङ साइट हो कि, कन्टेनर हो, जस्तो भयो। निश्चित बजेट पठाएर जनतालाई सहभागी नगरेसम्म विकास हुँदैन।’

खेलकूदमन्त्री गहतराजले ८ महिना चुप बस्ने र असार एक महिनामात्र तात्ने भएकाले विकास बजेट खर्च नभएको बताए।

‘हाम्रोमा ८ महिना काम नगरी यता उता गर्ने, यता मुसार्ने, उता मुसार्ने बाँदरले जुम्रा हेरे झै गरेर बस्ने गर्यौं,’ उनले भने, ‘असारमा पूरै शक्ति लगाएर रकम सकाउन लागेपछि कहाँबाट विकास निर्माण हुन्छ, कसरी विकास बजेट खर्च हुन्छ तर अन्तिममा बजेट सिध्याउन एक्टिभ हुने कार्यशैली बदल्नुपर्यो। ८ महिनामात्र काम गर्ने हो भने कता कता देश विकसित हुन्छ,’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .