राजनीति


प्रधानमन्त्री देउवाले भने : जसपाका मन्त्रीहरुलाई तत्काल हटाउँछु

प्रधानमन्त्री देउवाले भने : जसपाका मन्त्रीहरुलाई तत्काल हटाउँछु

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०७९ मंगलबार १४:३४, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चारजना मन्त्रीहरुलाई तत्काल हटाउने बताएका छन्।

मंसिर ४ को निर्वाचनका लागि प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेपछि जसपाबाट सरकारमा आएका चार मन्त्री हटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको थियो।

मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा पनि जसपाका मन्त्रीहरु हटाउनेबारे कुरा भएको थियो। जसपाले सत्ता गठबन्धन छाडेपछि अहिले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले कांग्रेससँग तालमेल गरिसकेको छ। 

यस्तोमा मंगलबार बालुवाटार पुगेका एकजना मन्त्रीका अनुसार देउवाले जसपाबाट प्रतिनिधित्व गर्ने चार मन्त्रीलाई तत्काल हटाउने बताएका हुन्।

'जसपा एमालेसँग तालमेलमा गइसक्यो। अब उसका मन्त्रीहरुलाई तत्काल हटाउँछु', भेटपछि फर्किएका ती मन्त्रीले नेपालखबरसँग भने, 'यसबारे गठबन्धनमा पनि कुरा भइसकेको छ, सरकारबाट हटाउँछौँ।'

क्याबिनेटको अधिकार प्रधानमन्त्रीमा निहित भएकाले चार मन्त्री हटाउनका लागि मन्त्रिपरिषद् बैठक आवश्यक नपर्ने कुरा पनि मंगलबारको गठबन्धन बैठकमा भएको छ। त्यही अनुसार देउवाले निर्णय गरेर जसपाका मन्त्रीहरुलाई बिदा गर्न लागेका हुन्। 

जसपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव देउवा क्याबिनेटमा छन्। 

जसपाको मन्त्रालय खोस्ने या हटाउने विषयमा देउवाले कानुन व्यवसायी र गठबन्धन दलसँग पनि परामर्श गरिसकेका छन्। छलफलपछि देउवाले जसपाका मन्त्रीहरुलाई सरकारबाटै बिदा गर्न लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .