राजनीति


रेनु जिताएका उमेशको परीक्षा, कसले जित्ला चितवन २?

रविको उम्मेदवारीले दुवै पक्षलाई चिन्ता
रेनु जिताएका उमेशको परीक्षा, कसले जित्ला चितवन २?

चितवन ३ मा प्रमुख दुई दलसहितका तीन उम्मेदवार


सागर न्यौपाने
असोज ३१, २०७९ सोमबार ६:३३, काठमाडौँ

३१ वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई जिताउन खटिएका थिए–नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ।

रेनु जति तनावमा थिइन्, पार्टीभित्रको अन्तविरोध र विवाद  मिलाउन त्यो भन्दा कयौँ तनावमा थिए विनाविभागीय मन्त्रीसमेत रहेका उनी।

रेनुविरुद्ध कांग्रेसबाटै उम्मेदवार उठेपछि आन्तरिक विवाद मिलाएर सहज विजयी गराउन केन्द्रदेखि चितवनसम्मको सम्पर्क सूत्र भइ काम गरेका श्रेष्ठको फर्मुला अन्ततः  काम लाग्यो।

कांग्रेसको असन्तुष्ट पक्षले झण्डै १५ हजार मत काट्दा पनि रेनुले एमाले उम्मेदवार विजय सुवेदीलाई पाखा लगाउँदै कार्यकाल दोहोर्‍याइन्। 

हिजो भरतपुर महानगरमा खटिएर रेनु जिताउन सफल उनै उमेश मंसिर ४ को प्रतिनिधि सभा चुनावमा चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्।

तर, उनले उम्मेदवारी दिएको क्षेत्रमा भरतपुर महानगर मात्रै छैन, एउटा गाउँपालिका र एउटा नगरपालिका पनि समेटिएको छ।

यो चुनावमा उनको बलियो पक्ष सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

त्यही क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र स्वतन्त्र राष्ट्रिय पार्टीका रवि लामिछानेसहित १६ उम्मेदवार उठेका छन्। 

पोखरेल २०७० को संविधान सभा र २०७४ को प्रतिनिधि सभामा विजयी भएर संसदमा राम्रो उपस्थिति देखाइसकेका छन्। 

उनी अहिले पनि जितेर ह्याट्रिक गर्ने दाउमा छन्। त्यही भएर एमालेले अन्तरविरोध नदेखिने गरी त्यस क्षेत्रमा विशेष चासो दिएको छ।

जिल्लाकै उच्च सिराइचुलीदेखि नारायणगढसम्म फैलिएको क्षेत्र नम्बर २ ले कालिका नगरपालिकाका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाकाको १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडा समेट्छ। 

एमाले उम्मेदवार कृष्णभक्त पोखरेल

२०७४ को अंकगणित
अहिलेको चुनावी विश्लेषण गर्नुअघि पाँच वर्षअगाडि फर्कनुपर्ने हुन्छ।

त्यस क्षेत्रबाट कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। 

नेकपा माओवादी केन्द्रको साथ पाएका उनले कांग्रेस उमेदवार शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतान्तरले पराजित गरेका थिए।

पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत मात्र पाए। 

यसपटकको चुनावमा कृष्णभक्त फेरि दोहोरिएका छन्। तर, उनलाई पाँच वर्षअघि साथ दिएको माओवादी एमालेसँग छैन।

बरु माओवादीसहितको सत्ता गठबन्धन उमेशको साथमा छ।

त्यसबाहेक एमालेको माधवकुमार नेपाल, झलनाथ खनालसहितको एउटा टिमको साथ पनि कृष्णभक्तले पाउँदैनन्।

तर, एमालेको सांगठनिक मत त्यस क्षेत्रमा निकै बलियो छ। स्थानीय चुनावले पनि त्यही देखाएको छ।

२ नम्बर क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाको १० वडामध्ये ३, ११ र १२ एमालेले जितेको छ।

एमालेले स्थानीय चुनावका बेला त्यस क्षेत्रमा राप्रपासँग तालमेल गरेको थियो। 

माओवादी र एकीकृत समाजवादीसँग तालमेल गरेको कांग्रेसले १, २, ४, ५, १० र २९ वडा गरी ६ वटा जितेको छ। 

वडा नं. ७ भने नेकपा एकीकृत समाजवादीले जितेको छ।   १० वटा वडाबाट गठबन्धनले १९ हजार २८१ मत पाएको देखिन्छ ।

भरतपुर महानगरका १० वटा वडाबाट एमालेले १७ हजार १२८ मत पाएको छ। 

स्थानीय चुनावको वडागत विश्लेषण गर्दा गठबन्धन अघि छ।

तर, यसपटकको चुनावमा सञ्चारकर्मीसमेत रहेका रवि लामिछाने पनि प्रतिस्पर्धामा भएकाले यो मत सबै गठबन्धन वा एमालेलाई खस्ने सम्भावना कम छ।

एमालेलाई फाइदा पुर्या‍उन सक्ने स्थानीय तह हो–कालिका नगरपालिका ।

पूर्वी चितवनको उक्त नगरपालिका एमालेले जितेको हो।

कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ

मेयर विनोद रेग्मी र उपमेयरमा विमला तामाङले जितेका थिए।

मेयर जितेका रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पाँच दलीय गठबन्धनबाट कांग्रेसका शिवराम केसीले १० हजार ५७१ मत ल्याएका छन्।

यस्तै उपमेयरमा एमालेकी तामाङले १० हजार ४ सय ४९ मत ल्याउँदा उपमेयर उम्मेदवार माओवादीकी सविता लामाले ९ हजार ६ सय ८८ मत मात्रै पाइन्। 

११ वटा वडा रहेको कालिका नगरपालिकामा माओवादीले ३ र ८ नम्बर वडा जितेको छ।

यस्तै कांग्रेसले १, ५, ६, ७ र १० वडा जितेको छ।

२, ४, ९ र ११ नम्बर वडा एमालेले जितेको छ। 

कांग्रेससहितको सत्ता गठबन्धनले वडामा कूल १० हजार ६५७ मत ल्याएको छ।

एमालेले १० हजार ४९० मत पाएको छ। 

मेयरमा खासै अन्तर नभए पनि उपमेयरमा गठबन्धनभन्दा एमाले अगाडि देखिन्छ। 

एमालेलाई बलियो देखाउने अर्को तह हो, इच्छाकामना गाउँपालिका। 

अध्यक्ष र उपाध्यक्ष दुवै लिएको एमालेले २, ३, ४, ५ र ६ वडा पनि जितेको छ। 

वडामा एमालेका उमेदवारले पाएको मत ५ हजार ५१५ छ।

माओवादीले १ नम्बर वडा र कांग्रेसले ७ नम्बर वडा जितेको छ। 

इच्छाकामना गाउँपालिकाबाट गठबन्धनले ५ हजार १६ मत पाएका छन्।

वडागत आधारमा हेर्दा उक्त गाउँपालिकामा गठबन्धन पछि छ।

इच्छाकामना गाउँपालिका अध्यक्षमा एमालेका दानबहादुर गुरूङले ६ हजार १ सय १० मत ल्याइ विजयी भए।

कांग्रेसकी गीताकुमारी गुुरूङले ४ हजार ६ सय ८ मत मात्र पाइन्। 

यस्तै उपाध्यक्षमा एमालेकी माया सिलवाल ५ हजार ३ सय ४४ मत ल्याई विजयी भइन्। उपाध्यक्षमा माओवादीले ५ हजार ४४ मत पाएको छ। 

पालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धन यहाँ पछि छ।

पहिलो जितको खोजीमा उमेश, कृष्णको ह्याट्रिक दाउ

क्षेत्र नम्बर २ मा यसपटक पनि विजयी भएर ह्याट्रिक गर्न चाहन्छन् कृष्णभक्त पोखरेल।

उनी आफ्नो संगठित मतप्रति विश्वस्त छन्। 

एमाले बागमती प्रदेश इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले संगठन र पहाडी क्षेत्रमा भएको विकासले सहज भएको बताउँछन्।

त्यसबाहेक कांग्रेस बीपी र कांग्रेससँग असन्तुष्ट पक्षको मत पनि पाइने विश्वास एमालेले लिएको छ।

‘कृष्णभक्तजीले संसदमा राम्रो भूमिका खेल्नुभयो, पछिल्ला दिन पहाडी क्षेत्रमा काम भएका छन्,’ अधिकारीले नेपालखबरसँग भने, ‘इच्छाकामना र कालिका नगरपालिकाबाट हामीलाई निर्णायक मत पाउने विश्वास छ।’
दाबी

एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले कृष्णभक्तको स्वभावले पनि पहिलेका मतदाता नबिच्किएको दाबी गरे।

‘अहिले एमालेले आफ्नो मतलाई इन्ट्याक राखिरहेको छ,’ न्यौपानेले नेपालखबरसँग भने, ‘गठबन्धनको मत रविले काट्छन्, कांग्रेसभित्रको आन्तरिक समस्याले हामीले जित्न कठिन छैन।’

कांग्रेस चितवन सभापति राजेश्वर खनालले गठबन्धनको चुनावी प्रचार सुरु भएको बताए।

‘क्षेत्र नम्बर २ सदरमुकामसँग जोडिएको क्षेत्र भएकोले प्रचार हिजोबाट सुरु गर्‍यौँ,’ खनालले भने, ‘शिक्षाका प्रभावशाली उम्मेदवार उठाउनुको फाइदा यसपटक यो क्षेत्रले लिन्छ।’

दुई पटक चुनाव जितेर पनि १० वर्षमा केही गर्न नसकेकोले एमालेलाई मत दिने मानिस असन्तुष्ट बनेको उनको विश्लेषण छ।

‘दुईपटक सांसद भएर पनि एमालेका सांसदले यो क्षेत्रमा के काम गर्नुभयो? किन यहाँको अवस्था दयालाग्दो र निराशाजनक भयो? सूचकांकमा किन पछि पर्‍यो? यही प्रश्न मतदाताले सोध्नुभएको छ, हामीले योग्य र शैक्षिक क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई उम्मेदवार बनाएका छौँ, जितेपछि विकासले कायापलट गर्छौं,’ उनले थपे।

खनालले गठबन्धन एक मत भएर खटिएको दाबी गरे ।

‘हामीमा समस्या छैन, बागी उम्मेदवार पनि फिर्ता भएका छन्,’ खनालले भने। 

कांग्रेस चितवन जिल्ला कार्यसमिति उपसभापति राजीव न्यौपानेले गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुँदा चितवन २ मा आफूहरुले जित्ने दाबी गरे।

‘यो क्षेत्रमा लहर वा हल्लाखल्लाले मतलाई असर गर्दैन, फिक्स मत छ,’ न्यौपानेले नेपालखबरसँग भने, ‘संघमा र प्रदेशमा एमालेसँगै प्रतिस्पर्धा हुन्छ, त्यसमा हामी जित्छौँ, गठबन्धन धेरै ठाउँमा अगाडि छ।’

टोल सुधार समिति, वडा समिति, बुथ समिति लगायतले घर घर पुगेर डाटा लिएकाले मत यताउता हुने सम्भावना नरहेको उनी बताउँछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने

के होला रविको  
रवि लामिछाने पनि त्यस क्षेत्रका उम्मेदवार हुन्। उम्मेदवारी दिएको दिनदेखि उनको पनि चर्चा छ।

अहिले कतिपयले चुनावमा माहोल रविको पक्षमा देखिन थालेको बताएका छन्। 

सोसल मिडियादेखि चिया पसलमा पनि रविकै चर्चा हुन थालेको छ।

उनका कार्यक्रम हेर्न जाने, जोडिने संख्या बढेको देख्न सकिन्छ। 

‘रविको पक्षमा सामाजिक सञ्जालतिर व्यापक प्रचार तिहार अघिसम्म मात्र हो,’ उपसभापति न्यौपानेले भने, ‘त्यसपछि घण्टी बन्द हुन्छ। रविलाई हिजो अप्ठेरो पर्दा चितवनले साथ दिएको हो त्यसबेला सबै पार्टीले सहयोग गरे। भोट दिन्छु भन्या हो र?’

‘रविको जमानत जफथ हुँदैन, त्यति हो,’ न्यौपानेले थपे।

तर, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने भने रविले ल्याउने मत गठबन्धनबाटै काटिने ठोकुवा गर्छन्।

‘गठबन्धनको मत रविले काट्छन्,’ उनले भने, ‘त्यसबाहेक सदरमुकाम क्षेत्रका र केही युवाको मत उनको पक्षमा जाँदा हामीले जित्न सक्छौँ।’

कृष्णभक्तका दुःख
पटक पटक सांसद भएर पर्याप्त बजेट नलगेकोदेखि पहाडी सडक र बाटा नबनाएको असन्तुष्टिले चुनावबाट कृष्णभक्त पोखरेल केही हच्किएका छन्।

चितवन एमालेका एकजना प्रभावशाली नेताका अनुसार कृष्णभक्त चुनाव उठेसँगै चिन्तित देखिएका छन्। 

‘गठबन्धनसँग लड्नु त छदैँछ, त्यसमाथि एमालेमै एउटै व्यक्तिको पटक पटक उम्मेदवारीले केही साथीहरु असन्तुष्ट हुनुहुन्छ,’ ती नेताले भने।

३ बाट २ सरेका उमेश
शैक्षिक क्षेत्रलाई व्यावसायिक स्वरुप दिएर सफल भई राजनीतिमा होमिएका उमेश श्रेष्ठले क्षेत्र नम्बर ३ बाट चुनाव लड्न चाहेका थिए। 

उनले स्थानीय तहको चुनावमा घर घर पुगेर मतदाताको मनोविज्ञान पनि बुझे।

तर, गठबन्धनबाट त्यस क्षेत्र माओवादी केन्द्रको भागमा प¥यो, अनि उनले पाए क्षेत्र नम्बर २।

‘उमेशजीले क्षेत्र नम्बर ३ लाई राजनीतिक थलो बनाएर २ मा जानुपरेको छ,’ चितवन कांग्रेसका एक नेताले भने, ‘स्थानीय चुनावको रणनीति यहाँ काम नलाग्न सक्छ। उनी हेभीवेट नेता पनि होइनन्।’

तर, गठबन्धनको एउटा दल माओवादीको मत त्यस क्षेत्रमा एमाले र कांग्रेस जतिकै बराबर भएको दाबीसहित उनीहरु चुनाव जित्ने बताउँछन्।

‘माओवादी र समाजवादीको निर्णायक मत उमेशजीलाई नै खस्छ, यसपटक गठबन्धनले एक भएर मत खसाल्दा जीत निकाल्न समस्या छैन,’ चितवन कांग्रेस सभापति खनालले भने। 

नेताहरुले जे दाबी गरेपनि चुनावी परिणामबारे अहिले नै विश्लेषण गर्न कठिन छ। किनभने बल्ल चुनाव प्रचार सुरु हुँदैछ। नेताहरु घरदैलो अभियानमा पुगेकै छैनन्। यस्तो मतदाताको मुड अहिले नै बुझ्न कठिन हुन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .