ad ad

राजनीति


अर्बपति उम्मेदवार विनोदसँग नवलपरासी १ को देहात चहार्दा

विनोद चौधरी–हृदयश त्रिपाठी ‘घाँटी रेट्ने’ प्रतिस्पर्धा
अर्बपति उम्मेदवार विनोदसँग नवलपरासी १ को देहात चहार्दा

नवलपरासीको १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका विनोद चौधरी कांग्रेसका कार्यकर्ताले घेरिएका छन्


वाशुदेव मिश्र
कात्तिक २६, २०७९ शनिबार १७:३८, नवलपुर

चुनावी रिपोर्टिङको क्रममा म यतिबेला उद्योगपति विनोद चौधरीको ‘उद्योग साम्राज्य’ अर्थात् नवलपुरमा रहेको चौधरी ग्रामको सेरोफेरोमा आइपुगेको छु। विनोद चौधरी निकै व्यस्त छन्। उनलाई आउँदो मंसिर ४ को चुनाव लागेको छ।

नवलपरासीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका विनोद बिहानैदेखि घरदैलो अभियानमा निस्केका छन्। दिउँसो हुने भेलाहरुमा सम्बोधन गरेका छन्, कांग्रेसको चारतारे झण्डा बोकेका युवा, वृद्ध र कार्यकर्ताले घेरिएका छन्।

आधा समय आकासमा बिताउने उनले ‘ल्याण्डरोभर’ छाडेर पैदलयात्रा रोजेका छन्। तराइको दिउँसोको घाम र धूलोको पर्वाह छैन। हेर्दा लाग्छ, उनले वर्षौंदेखि त्यहाँको बस्ती र मान्छेहरु चिनेका छन्। 

दशकौँ व्यवसायमा बिताएर मुलुकको अर्बपति बनेका उनलाई अहिले उद्योग–व्यवसायको पनि चिन्ता छैन। देहातका शुभेच्छुकहरुसँग जे पाकेको छ, त्यही खाएका छन्। हाँसेर बोल्ने, मान्छेलाई सुन्ने र यदाकदा गम्भीर देखिने उनी झण्डै ‘मस्तराम’ छन्। 

चौधरी मंसिर ४ को चुनावमा संसदीय राजनीतिका माहिर खेलाडी हृदयश त्रिपाठीका प्रतिस्पर्धी बनेका छन्। नवलपुर क्षेत्र नम्बर १ बाटसमेत सिफारिसमा परेका उनलाई अन्तिममा कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ पठायो। २०६४ सालमा संविधानसभामा भेटेका हृदयशसँग प्रतिस्पर्धा गर्न उनी चौधरी ग्रामभन्दा तल ओर्लिए।

अघिल्लोपटक एमालेको सूर्य चिन्हबाटै चुनाव लडेका हृदयश यो पटक जनता प्रगतिशील पार्टीको ‘कोदालो बोकेको मान्छे’ चुनाव चिन्ह लिएर मैदानमा छन्। उनी आफूलाई पक्का मधेशी र धर्तीपूत्र ठान्छन्। ५ पटक चुनाव जितेका हृदयशलाई हराउन सजिलो छैन। चतुर विनोदले पक्कै बुझेका छन्– चुनावी राजनीतिमा जित्नुपर्छ। त्यसैले त उनी मैदानमा मतदाताका घरघर पुगिरहेका छन्– आर्थिक विकासका एजेण्डासमेत लिएर। 

२०७८ सालको जनगणना अनुसार २ लाख ३७  हजार १२५ जनसंख्या रहेको नवलपुरको क्षेत्र नम्बर १ मा बर्दघाट नगरपालिका, सरावल गाउँपालिकाका २ देखि ७ नम्बर वडा, प्रतापपुर र सुस्ता गाउँपालिकाको पूरै भाग पर्छ। बर्दघाट नगरपालिकाको जनसंख्या ७५ हजार १७, सरावलमा ४२ हजार ३१७, प्रतापपुरमा ५० हजार ३३६ र सुस्ता गाउँपालिकाको ३९ हजार ७९८ जनसंख्या रहेको छ। 

विनोदको अगाडि अर्बपति व्यापारी, लेखक, गायक र पछिल्लो समय उत्प्रेरक भाषणवाजको उपमा झुण्डिएका छन्। उनी चर्चित छन्। नवलपरासीको पूर्वी क्षेत्रमा बढी घुलमिल भएका विनोदलाई अहिले पक्का पश्चिमको हुनुपरेको छ। जातीय रुपले मधेशी र पहाडियाहरुको छ्यासमिस र छुट्टै बस्ती भएको यो क्षेत्रमा विनोदले जित्नको लागि निकै कसरत गर्नुपर्ने देखिएको छ।

त्यहाँ मधेशी मुलका हृदयश त्रिपाठी उम्मेदवार छन्। भोजपुरी र अवधीमा मत माग्दै हिँडेका विनोदलाई कतिपयले अनेक ‘वचनबाण’ गरेपनि उनी टसमस भएका छैनन्। यसका दुई कारण छन्– पहिलो, नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले मधेसी खुलातर्फ उम्मेदवारी थिए। काठमाडौंमा बस्ने ‘डलर अर्बपति’ चौधरी मधेशीतर्फबाट उम्मेदवार बनिरहँदा साँच्चिकै मधेशीको अधिकार खोसिने तर्क गरियो। उनी आलोचित पनि बने।

संयोग अहिले उनलाई मधेश झारियो। तर, मतदाताकहाँ पुग्दा विनोद साँच्चिकै ‘देहाती’ र मधेशको समस्यासँग वर्षौंदेखि जानकार देखिएका छन्।

‘यहाँका किसानले उखुको भुक्तानी पाएका छैनन्, केराको दाम छैन’, चौधरीले सँगै हिंड्दै गर्दा भने, ‘पूर्वाधार निर्माण एकातिर छ, हामी किसान र यहाँका जनताका साना साना समस्या सबैभन्दा पहिला हल गर्न चाहन्छौँ।’

उनले नवलपरासीमा उद्योगग्राम, जनतालाई रोजगारी र त्यहाँबाट उत्पादित बस्तुहरुको भारत निर्यातको सपना पनि सुनाए। 

‘भारतीय नाकासँग जोडिएको फाइदा नवलपरासीले लिन सकेको छैन। उल्टै गुगल म्यापमा नेपालीको जग्गा भारतको नक्साभित्र देखिँदा बैंकबाट ऋण लिन नपाउने अवस्था छ। रोजगारी नहुँदाको पीडा भनिसाध्य छैन’,  विनोदले भने, ‘पहिला शैक्षिकस्तर सुधार्नुपर्ने छ, यसको लागि व्यावसायिक शिक्षा र तालिम दिने संस्थाहरुको स्थापना गर्ने मेरो लक्ष्य छ। शैक्षिक विकासले सामाजिक उत्थान हुन्छ। अब यस क्षेत्रमा बन्ने पूर्वाधारहरु दुईदेशीय व्यापार प्रवद्र्धन गर्ने खालका हुनुपर्छ।’

दोस्रो, बाजेबाटै नेवारी सिकेका विनोदले ‘भाषिक विभेद’ पनि भोगेकै छन्। तर, लेखकको समेत परिचय बनाएका विनोद चौधरीले वर्ण र जातको आधारमा नेपालमा हुने ‘भेदभाव’ बुझेका छन्। मुख्य कुरा, उनले नवलपरासीमा सपना देखाएका छन्। पूर्वी नवलपरासीमाजस्तै पश्चिममा उद्योग खोल्ने उद्घोष गरेका छन्। रोजगारीदेखि विकाससम्मका एजेण्डा उठाएका छन्। राजनीतिमा व्यवस्थापकीय नेतृत्वबाट मात्रै समृद्धि प्राप्त हुन्छ भन्ने सन्देश प्रवाह गरेका छन्।

विनोदकै भाषामा भन्ने हो भने, विकास र समृद्धिको दृष्टिले छिमेकी जिल्लाभन्दा ३० वर्ष पछि परेको नवलपरासीलाई त्यो नियतिबाट मुक्त गर्ने अठोटसहित उनी चुनावमा होमिएका हुन्। 

‘‘नवलपरासीलाई अब विकास, समृद्धि र सामाजिक परिवर्तनको बाटोमा हिँड्नुपरेको छ,’ उनले जनतासामु भन्ने गरेका छन्, ‘पटक–पटक व्यवस्था फेरिए पनि अवस्था नफेरिने बिडम्बनाबाट मुक्त गर्ने मेरो प्रतिज्ञा हो।’

विनोदले प्रतिस्पर्धीलाई लाञ्छना लगाएनन्। बरु ३० वर्षदेखि विकास नहुनुको कारण बुझ्न मतदातासँग आग्रह गरे।

विनोद आखिर जनतासँग के भन्छन् र जनताले उनीबाट के चाहन्छन्?

मैले अर्को एक बिहान बर्दघाट नगरपालिकाको वडा नम्बर १० र १६ को घरदैलोमा उनलाई पच्छ्याएँ। कार्यकर्ताले घेरिएका विनोद निस्फिक्री देखिन्थे।

परिचयपछि उनले भने, ‘मेरो कुरा त तपाईंहरुले सुनाउँदै आउनुभएको छ। तपाईंहरु यहाँका जनताको कुरा सुन्नुहोस् न। उहाँहरुको चाहना के छ हामीलाई सुनाउनुहोस्।’

साँच्चिकै विनोदसँग पीडा सुनाउनेहरु र आशा गर्नेहरु बढी थिए। घरदैलोको क्रममा विनोदसँग एक वृद्धाले भनिन्, ‘हाम्रा नातीहरु यहाँ नअडिने भए, यतै केही काम गर्ने चाँजो मिले उनीहरु किन विदेश जान्थे र?’

उनको आग्रहपूर्ण प्रश्नपछि विनोदले भने, ‘म त्यही काममा लाग्छु भनेर तपाईंको आशीर्वाद लिन आएको हो।’ 

त्यसपछि उनले हामीतिर फर्केर थपे, ‘हामीलाई अहिले चाहिएको पहिलो कुरा रोजगारी नै हो, त्यसको लागि शिक्षा र रोजगारीका कार्यक्रम सँगै लैजानुपर्छ।’

वडा नम्बर १६ को सूर्यनगर टोलमा पुगेर उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या सल्टाउने बाचा गरे।

संक्षिप्त मन्तव्यपछि फेरि संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘बाढी र डुवान अनि अव्यवस्थित बसोबासीको समस्यामा राजनीति गर्ने हैन, यसलाई छिटो सुल्झाउने हो। म नयाँ पेशा खोज्न हैन, जनताको जीवनस्तर बदल्ने लक्ष्यसहित राजनीतिमा आएको हो। अभिमानको भारी बोक्ने लालशाले हैन, यहाँका नागरिकको मुहारमा खुसी ल्याउने चाहनाले म राजनीतिमा होमिएको हुँ।’

गल्फ खेल्न नपाएको रिस फेर्न नवलपुरमा गल्फ कोर्स बनाएका विनोदले बोलेको कत्तिको पूरा गर्छन् र विपक्षीको आरोपलाई मिथ्या सावित गर्न के गर्छन्, थाहा छैन। 

सोही ठाउँमा कोणसभा गर्दै गरेका उनका प्रतिस्पर्धी हृदयश त्रिपाठीले मसँग भने, ‘खासमा यो पटक म चुनाव नलड्ने मुडमा थिएँ तर यहाँ उनी (विनोद) आए, छाडौं भने पैसा नै लिएर छाड्यो कि भन्ने हुने भो, त्यस्तो कलंकको भारी बोक्न नपरोस् भनेर उम्मेदवारी दिएँ। राजनीतिक मान्छेसँग चुनाव लड्न पाएको भए राम्रो हुन्थ्यो, यो चुनाव मलाई मज्जा लागेको छैन।’

म प्रतापपुरका अर्जुन पोखरेलसँग गफिएँ। संयोगले उनी हृदयश त्रिपाठीका सहपाठी परेछन्। हृदयश पहिलो पटक सांसद हुँदासम्म उनी एमालेको राजनीति गर्थे रे।

राजनीति छाडेर गैरसरकारी संस्था चलाएका र अहिले व्यापारमा रमाएका उनले भने, ‘विनोद चौधरी व्यवसायी नै हुन् अनि हृदयशको राजनीति पेशा हो। अहिले नवलपरासीले राजनीतिलाई पेशा बनाउने व्यक्ति नभएर रोजगारी, उद्यमशीलता र विकास खोजेको छ।’

२०४८ सालदेखि ५ पटक जितेका र ८ पटक मन्त्री खाएका हृदयशको टाउकोमा अपजसको भारी छ। उनलाई एमालेको साथ त छ तर सूर्य चिन्ह छैन। सूर्यमै मत हाल्नेहरुले पनि यो पटक परिवर्तन खोजेको देखिएको छ।

नजिकैको चियापसलमा भेटिएका एक बृद्धसँग हामीले सोध्यौँ– भोट कसलाई हाल्नुहुन्छ?

उनले  भने, ‘यहाँबाट जानेहरुले केही गरेनन्, चौधरीजी आए केही होला कि।’

त्यसो त, विनोद राजनीति नबुझेका र फाइदा नलिएका व्यक्ति चाहिँ हैनन्। संविधानसभा सदस्य र सांसदको रुपमा ५ वर्ष बिताएर विनोद प्रत्यक्ष राजनीतिमा होमिएका हुन्। राणा र राजाको पालामा दरबारसँग नजिक रहेको विनोदको परिवार राजनीतिज्ञहरुसँग सधैं नजिक रहँदै आएको थियो। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा सुरक्षा गार्डबिना नै आफ्नो गाडीमा चढाएको, गिरिजाप्रसाद कोइराला, मदन भण्डारीसँगको सम्बन्धबारे बेलाबेला बताउने गरेकै छन्। 

विनोदले आत्मकथामा लेखेका छन्, ‘किसुनजी बारम्बार भन्नुहुन्थो, यु ह्याभ टु बि माइ इकोनोमिक एडभाइजर, विनोद।’

गिरिजाप्रसाद कोइरालासँगको प्रसंगमा पनि उनले लेको छन्, ‘उहाँ (गिरिजाप्रसाद कोइराला) आफ्ना अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारीभन्दा मलाई बढी विश्वास गर्नुहुन्थ्यो।’

एमालेसँगको त कुरै नगरौँ। विनोदले मदन भण्डारीसँगको भेट, एमालेको आर्थिक नीति बनाउन खेलेको भूमिका र आफ्नो सक्रिय राजनीतिको महत्वकांक्षा पूरा गराउने अभियानमा एमाले योगदान लुकाएका छैनन्। खुला अर्थतन्त्रको पक्षपोषण गर्दै उनले एमाले छाडे, त्यो फरक कुरा हो। 

सबैभन्दा बढी जनघनत्व भएको नवलपुरको कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ४६.६ प्रतिशत र उत्पादनमुलक उद्योगको ५.६ प्रतिशतमात्रै छ। यहाँका बहुसंख्यक जनता कृषिमै आश्रित छन्। उखु किसानका समस्या झन चर्का छन्। मिटर ब्याजको पासोमा पर्नेहरु पनि यही जिल्लाका बढी देखिएका छन्। ती यावत समस्या समाधान नगर्दासम्म आर्थिक उन्नति सम्भव छैन। मजदुरको आर्थिक स्थितिमा सुधार नभएको लुम्बिनीको स्थितिपत्रले उल्लेख गरेको छ। मानव विकास प्रतिवेदन २०१४ अनुसार प्रदेशको औसत प्रतिव्यक्ति आय १ हजार अमेरिकी डलरभन्दा कम रहेको छ। यो राष्ट्रिय औसत १ हजार १६० अमेरिकी डलर भन्दा कम हो।

आय बढाउन उत्पादन, रोजगारी र मानव संशाधन विकासमा जोड दिनुपर्छ। नवलपरासीका ११ प्रतिशत सडकमात्र पक्की रहेका छन्। यी यावत् काम गर्न बजेट चाहिन्छ र त्यसको जोहो गर्नु सजिलो छैन। विनोदले बुझेकै छन्।

चुनावको मुखमा केरासँग जोडिएको उद्योग खोल्ने निर्णयबाट ‘विवादित’ बनेका उनलाई हृदयशले प्रश्न सोधेका छन्,‘ यहाँको विकास कसले गरिदियो? उहाँले जहाँ उद्योग खोल्छु भन्नुभएको छ, त्यहाँ जाने बाटो कसले बनाइदियो, त्यहाँ बिजुली कसले पुर्यायो?’ 

अग्रज पत्रकार किशोर नेपालको शब्द सापट लिने हो भने विनोद असीमित महत्वकांक्षा र आँट भएका व्यक्ति हुन्। त्यही महत्वकांक्षा पूरा गर्न उनी राजनीतिमा होमिएकोमा द्धिविधा छैन। जुद्धबहादुर श्रेष्ठको खिचापोखरीमा रहेको मीरा होममा खोलिएको अरूण इम्पोरियम र सारी संसारबाट व्यवसायमा उदाएका विनोद अहिले प्रत्यक्ष निर्वाचित हुने ध्याउन्नमा छन्।

प्रतिस्पर्धी हृदयश कम्ताका छैनन्। उनले विनोदमाथि आरोपको बर्षा गराएका छन्। हृदयशसँगै हिँडेका एक एमाले कार्यकर्तासँग मैले जिज्ञासा राखेँ– हृदयशको भाषणमा एजेण्डाभन्दा आक्षेप बढी देखिन्छ नि?

उनले भने, ‘के गर्नु, माहौल अर्कै होलाजस्तो छ।’

‘यसलाई हतास मनस्थिति भन्दा हुन्छ?’

‘हतास नै त नभनौँ, प्रेसर चाहिँ चर्को छ।’

हो, प्रतिस्पर्धा सजिलो छैन र वचनबाणको प्रहार पनि चर्कै छ। हृदयशलाई सुन्दा लाग्छ, यस्तो वैमनश्यता सायदै कसैबीच हुन्छ।

तर, विनोदले आत्मकथामा भनेकै छन्, ‘व्यापार र राजनीतिमा एउटै कुरा समान हुन्छ–दुवैमा रिसराग भन्ने कसैसँग लिनु हुँदैन। आज जोसँग घाँटी रेट्ने प्रतिस्पर्धा छ, भोलि उसैसँग सहयात्रा गर्नुपर्ने हुनसक्छ। मुल कुरा हो अवसरको प्रतीक्षा।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .