ad ad

बागमती


बागमतीमा कांग्रेसले ३ मन्त्रीको ठाउँमा जब ४ जनाको नाम प्रदेश प्रमुखकहाँ पठायो...

मन्त्री बन्ने महत्वाकांक्षाले कांग्रेसभित्र किचलो
बागमतीमा कांग्रेसले ३ मन्त्रीको ठाउँमा जब ४ जनाको नाम प्रदेश प्रमुखकहाँ पठायो...

कांग्रेसका बाँकी मन्त्रीलाई शपथ खुवाउन भनेर बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा गरिएको तयारी। तर आन्तरिक भागबन्डा मिलाउन नसक्दा त्यसै स्थगन भयो।


सुनिता विष्ट
साउन ११, २०८१ शुक्रबार १०:३२, हेटौँडा

बागमती प्रदेशमा बल्ल-बल्ल सरकारको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेसलाई ‘पहिलो गाँसमै ढु‌ंगा’ भएको छ। पार्टीभित्रकै किचलोले मन्त्रिपरिषद् गठन भएको ३ दिन भइसक्दा पनि मुख्यमन्त्री बहादुरसिंह लामाले का‌ंग्रेसको भागमा परेका अझै ३ मन्त्रीको नाम टुंगो लगाउन सकेका छैनन्। 

आन्तरिक भागबन्डा मिलाउन नसकेकै कारण शपथ खाने दिन बुधबार (साउन ९ गते) कांग्रेसले मुख्यमन्त्रीसहित आफ्नो पार्टीले पाएका ७  मन्त्री पदमध्ये मुख्यमन्त्री लामाबाहेक ३ मन्त्री मात्र नियुक्त गर्‍यो- त्यो पनि बिनाविभागीय। त्यस दिन एमालेले आफ्नो भागमा परेका ६ वटै मन्त्रीलाई मन्त्रालय तोकेरै शपथमा पठाउँदा कांग्रेसले भने कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र मधुकुमार श्रेष्ठलाई बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा पठायो। 

बुधबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाइरहँदा मुख्यमन्त्री लामाको अनुहारमा खुसीको चमक होइन, तनाव देखिन्थ्यो। तारन्तार फोन कानमा लगाइरहेका उनलाई त्यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवादेखि अन्य शीर्ष नेतासम्मका फोन आएको उनीनिकट स्रोत बताउँछ।

यसपछि भोलिपल्ट बिहीबार (साउन १० गते) बिनाविभागीय ती ३ मन्त्रीलाई मन्त्रालय तोक्दै बाँकी ३ मन्त्रीलाई शपथ खुवाउने योजना थियो।  तर त्यस दिन पनि कांग्रेसलाई मन्त्री पदको भागबन्डा मिलाउन गाह्रो पर्‍यो। भागमा बाँकी संख्या ३, तर मन्त्री बन्न कस्सिए ४ जना।

त्यसपछि कांग्रेसले ७ मन्त्रीलाई विभागीय जिम्मेवारी तोक्ने र एक जनालाई बिनाविभागीय मन्त्री बनाउनेगरी ४ जनाकै नाम राखेर प्रदेश प्रमुख कार्यालयमा पत्र पठायो। प्रदेश प्रमुख कार्यालय पनि सोहीअनुरूप शपथ खुवाउन तयार हुँदै बिहीबार साँझ ५:३० को समय तोक्यो। 

तर जब सत्ता साझेदार एमालेले आफूसँगको सहमतिभन्दा बाहिर गएर कांग्रेसले आफ्ना मन्त्रीको संख्या ८ पुर्‍याउँदै छ भन्ने सुइँको पायो तब दायाँबायाँ नगर्न दबाब दियो। तर कांग्रेसभित्र कुरा मिल्नै सकेन र अन्तत: शपथ कार्यक्रम नै स्थगन गर्नपर्‍यो।

एमाले बागमती संसदीय नेता जगन्नाथ थपलियाले कुनै पनि हालतमा मन्त्री संख्या थप्न नसकिने बताएका छन्। गठबन्धनको सरकारमा आफूखुसी मन्त्री नियुक्त गरिए कडा कदम चालिने चेतावनी उनले दिएका छन्।  

मन्त्रालय बाँडफाँटमा पनि सकस

त्यसो त बाँकी मन्त्री नियुक्त गर्न मात्रै होइन, मन्त्रालय बाँडफाँटमा पनि कांग्रेसभित्र किचलो भइरहेको छ। कुन्दनराज काफ्लेलाई अर्थमन्त्री बनाउने सर्तमा बुधबार बिनाविभागीय मन्त्रीका रूपमा शपथ खुवाइएको थियो। तर बिहीबार उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएपछि कांग्रेसका मन्त्रीहरूबीच रडाको मच्चिएको हो।

बुधबार बिनाविभागीय मन्त्रीका रूपमा शपथ खाएका कांग्रेसका मन्त्रीहरूलाई बिहीबार मन्त्रालयको जिम्मेवारी दिइएको हो। तर बिहीबार पनि श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइँदा अझै मधुकुमार श्रेष्ठको मन्त्रालय तोक्न सकिएन।

अर्थ मन्त्रालयमा प्रभात तामाङ, संस्कृति तथा पर्यटनमा विमल ठकुरी, युवा तथा खेलकुदमा मीनकृष्ण महर्जन र आन्तरिक मन्त्रीमा सुरजचन्द्र लामिछाने रहने गरी कांग्रेसबाट सूची आइपुगेको प्रदेश प्रमुख कार्यालयका सचिव कमलबहादुर राजलवटले बताए। 

यता कांग्रेस नेताहरू भने बिहीबार शपथ रोकिएकाले शुक्रबार (आज) सम्म उक्त सूची फेरिन सक्ने बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .