सर्लाही घर भएका माओवादी केन्द्रका दुईजना पोलिटब्युरो सदस्यलाई कारबाही गर्न भन्दै पार्टीका तीनवटा नगर कमिटीले अलग-अलग रुपमा पार्टीका माथिल्ला निकायलाई सिफारिस गरेका छन्।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय अच्युतम काफ्ले र रामेश्वर राय यादवलाई कारबाहीका लागि माओवादी केन्द्रका हरिवन, बागमती र बहरथवा नगर समितिले पार्टीको मधेश प्रदेश समिति र पार्टी केन्द्रलाई छुट्टाछुट्टै सिफारिस पठाएका हुन्।
केही दिनअघि सम्पन्न माओवादी केन्द्रका हरिवन, बागमती र बहरथवा नगर समितिका बैठकले नेताद्वयलाई कारबाहीका लागि सिफारिस गरेको बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताले जानकारी दिए।
पोलिटब्युरो सदस्य काफ्ले माओवादी केन्द्रका सर्लाही जिल्ला इन्चार्जसमेत हुन्। पार्टीको अर्का पोलिटब्युरो सदस्य राय पूर्वमन्त्री र सर्लाही ३ बाट निर्वाचित निवर्तमान संघीय सांसद हुन्।
काफ्ले र रायले अन्तर्घात गर्दा मंसिर ४ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलबार पराजित भएको निष्कर्ष पार्टीका स्थानीय समितिले निकालेका छन्।
काफ्ले र रायले एमाले उम्मेदवारसँग मिलेमतो गरेर पार्टीका उम्मेदवार साहलाई हराउन भूमिका खेलेको पुष्टि भएपछि उनीहरलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटिका एक पदाधिकारीले जानकारी दिए।
निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार साह एमालेका नेता हरि उप्रेतीसँग हारेका थिए। उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा कलवारले ३२ हजार १६८ मत ल्याएका थिए।
माओवादी सर्लाहीका एक नेताका अनुसार साहले प्रतिनिधिसभा सदस्यको टिकट पाउँदा काफ्ले र राय रुष्ट थिए। सोही कारण उनीहरुले एमाले उम्मेदवार उप्रेतीसँग मिलेर साहलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ।
‘काफ्ले र रायले पार्टी उम्मेदवारलाई पराजित गर्न गरेको षड्यन्त्रका केही प्रमाण पनि हामीले केन्द्रमा पठाएका छौँ,’ ती नेताले भने, ‘उनीहरुले अन्तर्घात नगरेको भए सर्लाही ३ मा पार्टीका उम्मेदवारले हार्ने थिएनन्। यो यथार्थ पार्टी केन्द्रलाई पनि जानकारी छ।’
माओवादीको स्थानीय कमिटीले काफ्ले र रायसँगै माओवादी नेता राजकुमार यादवले पनि साहलाई हराउन भूमिका खेलेको निष्कर्ष निकालेको छ। तर, यादवविरुद्ध कारबाहीको सिफारिस गरिएको छैन।
उनी माओवादीका कुनै पनि समितिमा नभएकाले उनलाई कारबाहीको सिफारिस नगरिएको माओवादी सर्लाहीका एक नेताले जानकारी दिए।
‘यादव एमाले छाडेर माओवादी केन्द्रमा फर्किए पनि उनलाई अहिलेसम्म पार्टीका कुनै कमिटीमा राखिएको छैन। त्यसैले उनलाई कारबाहीको सिफारिस नभएको हो,’ उनले भने।
दुई वर्षअघि पार्टी विभाजन हुँदा यादव माओवादी छाडेर एमालेतिर लागेका थिए। एमालेतिर लागेपछि उनलाई एमालेले राष्ट्रिय भूमि आयोगको सर्लाही अध्यक्ष बनाएको थियो।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेपछि उनको अध्यक्ष पद पनि गएको थियो। त्यसपछि उनी पुनः माओवादी केन्द्रमै फर्किएका थिए।
Shares
प्रतिक्रिया