राजनीति


मन्त्री खान्नँ भनेका दीपकबहादुर राज्यमन्त्री भएपछि...

मन्त्री खान्नँ भनेका दीपकबहादुर राज्यमन्त्री भएपछि...

सुनिता विष्ट
माघ ३, २०७९ मंगलबार १७:४३, हेटौँडा

मकवानपुरबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई हराएर चर्चा कमाएका दीपकबहादुर सिंह उर्जा तथा जलश्रोत राज्यमन्त्री बनेका छन्।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री भएका छन्। सो पार्टीबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डे सहरी विकासमन्त्री बन्दा सिंहले राज्यमन्त्री पाएका हुन्।

तर, सिंह राज्यमन्त्री बनेपछि उनका थुप्रै मतदाता भने आश्चर्यमा परेका छन्। किनभने चुनाव जितेपछि पनि सिंहले मन्त्री समेत नखाने बताउँदै आएका थिए।

जम्मा दुई वटा प्रतिनिधि सभा क्षेत्र रहेको मकवानपुरमा राप्रपाले ३ दशकपछि मकवानपुरमा जित हात पारेको थियो। पटकपटक हार बेहोरेका सिंह पाँचौँ प्रयासमा विजयी भए। 

संघीय संसदमा विजयी भएपछि सिंहले मतदाताको घरघरमा गएर भ्रष्टाचार नगर्ने र राज्यको ढुकुटी रित्याउने फोहोरी खेलमा राप्रपा नलाग्ने वचन दिएका थिए। संसदमा बेथितिका विरुद्ध आवाज उठाउने र मन्त्री पद नलिने बताएका सिंहले लुसुक्क राज्यमन्त्रीको पद लिएपछि उनका मतदाता आश्चर्यमा परेका हुन्।

मेयरमा हारेका सिंह 
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिको मेयर पदमा पराजित भएका थिए सिंह। सिंह २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो बनेका थिए। उनले दोस्रोमा रहेको एमालेका उम्मेदवार अनन्त पौडेल भन्दा ३ सय मत मात्रै कम पाएका थिए।

स्थानीय तहको चुनावमा राम्रो मत ल्याएकै कारण उनी प्रतिनिधि सभामा उम्मेदवार बनेका थिए। आम निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्यायलाई २ हजार ३ सय ९३ मतअन्तरले हराउन सफल पनि भए। सिंहले २७ हजार ८ सय १६ मत पाए। उपाध्यायले २५ हजार ४ सय २३ मत ल्याइन भने सूर्य चुनाव चिन्हबाट उम्मेदवारी दिएका कमल थापाले २५ हजार ४ सय २० मत ल्याए।

को हुन् उर्जा राज्यमन्त्री सिंह?
बुबा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहको कोखबाट विं.स. २०१५ सालमा धनकुटामा जन्मिएका हुन् उनी। दीपकबहादुर ७÷८ वर्षको हुँदा आमाबाबुले उनलाई लिएर हेटौंडा आएका थिए। त्यसयता सिंह परिवारको स्थायी बसोबास हेटौंडा बन्यो। 

माध्यामिक शिक्षा भुटनदेवी विद्यालयबाट लिएका सिंहले वीरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका हुन्। दीपकका बुबा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण राजनीतिक यात्रामा थिएनन्। तर दीपकको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भयो। 

२४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष बनेका उनी सुरुदेखि नै राप्रपामा आबद्ध छन्। उनी हेटौंडाका सफल व्यवसायी समेत हुन्।

०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरमा राप्रपाको उम्मेदवार रहेका उनी डोरमणि पौडेलसँग १२ सय मतअन्तरले पराजित भएका थिए। त्यस्तै, ०५६ सालको संविधान सभाको निर्वाचनमा समेत उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग लगभग १३ सय मतअन्तरले पराजित भएका थिए भने ०७० सालको क्षेत्रीय निर्वाचनमा पनि नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतअन्तरले हारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .