राजनीति


नेविसंघ र तरुण दलको कार्यसमिति एक वर्षदेखि अध्यक्षकै भरमा

नेविसंघ र तरुण दलको कार्यसमिति एक वर्षदेखि अध्यक्षकै भरमा

नेपालखबर
चैत ९, २०७९ बिहिबार १२:३७, काठमाडौँ

नेपाली कांग्रेसका दुई भ्रातृ संगठनका केन्द्रीय कार्यसमिति विगत १ वर्षदेखि अध्यक्षको भरमा मात्रै टिकेका छन्। भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दल गत चैत ९ गतेबाट अध्यक्षका भरमा मात्रै टिकेका छन्। 

सभापति शेरबहादुर देउवाले गत चैत ९ गते नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्धान गुरुङलाई नियुक्त गरेका थिए। २०७८ फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयअनुसार उनले कांग्रेसको विधान २०१७ को धारा ४२ को उपधारा १ च बमोजिम उनीहरुलाई नियुक्त गरेका थिए। 

सभापति देउवाले शेर्पा र गुरुङलाई अध्यक्षमा नियुक्त गर्दा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्न निर्देशन पनि दिएका थिए। 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३ महिना बितिसक्दा पनि नेविसंघ र तरुण दलले अधिवेशन मात्र होइन एकजना पनि पदाधिकारी पाउन सकेको छैन। 

२०७८ मंसिरमा सम्पन्न १४ औँ महाधिवेशनपछि कांग्रेस तल्लो तहसम्मै चलायमान भएपनि भ्रातृ संगठनहरू भने लथालिङ्ग अवस्थामा छन्। केन्द्रदेखि वडासम्म ७ तहका कार्यसमिति गठन गरेर चलायमान बनेको कांग्रेसका १३ मध्ये अधिकांश भ्रातृ संगठन नेतृत्वविहीन अवस्थामा छन्। 

कांग्रेसले लामो समयदेखि अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरुलाई गतिशील बनाउन भन्दै १३ वटामध्ये १० वटाको केन्द्रीय कार्यसमिति विघटन गरे पनि अधिकांश संगठनले अझै नेतृत्व पाएका छैनन्। 

२०७८ फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले विघटन गरेका १० मध्ये ३ वटा भ्रातृ संगठनहरूले मात्रै केन्द्रीय नेतृत्व पाएका छन्। केन्द्रीय नेतृत्व पाउनेमा कांग्रेसको ‘नर्सरी’ मानिने नेविसंघ, तरुण दल र नेपाल महिला संघ छन्। 

नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघले केन्द्रीय कार्यसमिति विघटन गरिएको झण्डै एक वर्ष पुग्न लाग्दा पनि नेतृत्व पाउन सकेका छैनन्।

कार्यसम्पादन समिति बैठकले केन्द्रीय कार्यसमिति विघटन गरिएका भ्रातृ संगठनहरुका केन्द्रीय तदर्थ समितिहरु सोही महिनाभित्रै गठन गर्ने निर्णयसमेत गरेको थियो। पार्टी सभापति देउवाले आवश्यक परामर्श गरेर फागुन मसान्तभित्र केन्द्रीय कार्यसमिति विघटन गरिएका १० वटै भ्रातृ संगठनहरुको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय बैठकले गरेको थियो। 

तर, निर्णयको एक वर्ष बितिसक्दा पनि सभापति देउवाले नेविसंघ, तरुण दल र महिला संघबाहेकका संगठनहरुको तदर्थ समिति बनाउन सकेका छैनन्। उनले नेविसंघ, तरुण दल र महिला संघका अध्यक्षमात्रै मनोनित गरेर अलपत्र छाडिदिएका छन्।    

नेविसंघका अध्यक्ष राजीव ढुंगाना १४ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि संगठन नेतृत्वविहीन बनेको थियो। नैनसिंह महर अध्यक्ष हुँदा उनले महाधिवेशन गर्न नसकेपछि ढुंगानालाई तदर्थ समितिको नेतृत्व दिइएको थियो। 

यस्तै, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि संगठनको नेतृत्व तत्कालीन कोषाध्यक्ष गुरुङलाई दिइएको छ। तरुण दलको लामो समयदेखि महाधिवेशन भएको छैन। 

अध्यक्ष उमा रेग्मीलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेसँगै महिला संघ पनि नेतृत्वविहीन अवस्थामा थियो। महिला संघ नेतृत्वविहीन भएपछि उनले गत साउन २६ गते सिरहाकी उषा राउत मिश्रलाई महिला संघको अध्यक्षमा मनोनित गरेका थिए। 

मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार पनि १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि स्वतः पदमुक्त भएका थिए। उनी २०७५ वैशाख १५–१६ मा सम्पन्न मुस्लिम संघको दोस्रो महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका थिए। 

कांग्रेसका १३ भ्रातृ संस्थामध्ये नेपाल महिला संघ, नेपाल मुस्लिम संघ र नेपाल मगर संघले मात्रै निर्धारित समयमा महाधिवेशन गरेका छन्। बाँकी १० भ्रातृ संस्थामध्ये अधिकांशले निर्धारित समय गुजारेको वर्षौं बितिसक्दा पनि नेतृत्व हस्तान्तरण गरेका छैनन्।

कांग्रेसका तीन भ्रातृ संगठन नेपाल किसान संघ र नेपाल आदिवासी–जनजाति संघले १७ वर्षदेखि, भूतपूर्व सैनिक संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र राष्ट्रिय लोकतान्त्रिक अपांग संघले १३ वर्षदेखि र नेपाल दलित संघले १० वर्षदेखि महाधिवेशन गरेका छैनन्।

दलित संघका अध्यक्ष मीन विश्वकर्माले भने गत भदौमै राजीनामा दिएका थिए। कांग्रेस विधानमा भ्रातृ संगठनको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भ्रातृ संगठनको पद स्वतः रिक्त हुने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .