राजनीति


राष्ट्रपति पौडेलले उपचार खर्च आफ्नै खल्तीबाट व्यहोर्नु पर्छ : गगन थापा

राष्ट्रपति पौडेलले उपचार खर्च आफ्नै खल्तीबाट व्यहोर्नु पर्छ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
बैशाख १८, २०८० सोमबार १८:१९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका छन्। 

नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमवार गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताएका हुन्। 

भारतबाट उपचार गरेर आइतवार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उनले बताए।

उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गरे। 

महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुनुनहुने बताए।

‘हामीले संसदबाट एउटा कानुन बनायौँ। गणतन्त्रमा दुई खालका नागरिक हुँदैनन् भन्यौँ। सबै समान हुन्छन् भन्यौँ। त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो भए पनि राष्ट्रध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा अरु ठूला मान्छे बिरामी भए उसको उपचार राज्यको कोषबाट, जनताको करबाट विदेश लगेर हामीले उपचार गर्ने?’, उनले भने, ‘अनि उसको उपचार खर्च जनताले व्यहोर्नुपर्ने, राज्यकोषले व्यहोर्नुपर्ने। नागरिक चाहिँ अस्पतालमा उपचार गर्दागर्दै उपचार खर्च तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने। अस्पतालमा बन्धक बन्नुपर्ने यो गलत हो। यस्तो गर्न पाइँदैन भनेर संसदमा हामीले कानुन बनाएका छौँ।’

त्यो कानूनलाई संशोधन गर्ने प्रस्तावकमध्ये एक आफैँ भएको उनले बताए। 

‘म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट सिंगो नेपाली नागरिकका तर्फबाट अनुरोध गर्न चाहान्छु, त्यो उपचार खर्च मैले मेरो खल्तीबाट व्यहोर्छु भन्नुस्। यो गणतन्त्र हो त्यसैले बिरामी हुँदै गर्दा उपचार खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ। म बेहोर्छु भनेर राष्ट्रपति बाहिर आइदिनुस्’, उनले भने, ‘त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्‍याउँछ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .