राजनीति


प्रधानमन्त्रीको गुनासो : भारतबाट आउँदा भव्य स्वागत होला भन्ने सोचेको थिएँ, गाली र आलोचना भयो

प्रधानमन्त्रीको गुनासो : भारतबाट आउँदा भव्य स्वागत होला भन्ने सोचेको थिएँ, गाली र आलोचना भयो

राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ २४, २०८० बुधबार १२:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ देखि २१ गतेसम्म चार दिने भारत भ्रमण सकेर फर्किँदा भब्य स्वागत होला भन्ने आफूले सोचेको बताएका छन्।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा देशका लागि उपलब्धिपूर्ण काम गरेर फर्किँदा भव्य स्वागतको साटो गाली खानुपरेको उनले बताए। 

‘भारतबाट फर्किएर आउँदा भव्य स्वागत होला भन्ने सोचेको थिएँ। तर सकी नकसी बल गरेर आलोचना गर्ने काम भएको छ’, उनले गुनासो गरे, ‘भारत भ्रमणका क्रममा ऐतिहासिक उपलब्धि भएको छ। सीमासम्बन्धी समस्या समाधान गर्न भारत तयार भएको छ, यति देख्दा देख्दै पनि सकी नकसी आलोचना कोसिस भइरहेको छ।’

उनले सीमासम्बन्धी समस्या समाधान गर्ने कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक सार्वजनिक मञ्चमा उक्लिएर भनेका पनि उनले दाबी गरे। यसलाई उनले भ्रमणकै ठूलो उपलब्धिका रुपमा व्याख्या गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली किन्ने मोदीको घोषणा सानोतिनो नभएको बताए। 

‘१० हजार मेगावाट बिजुली भारत पठाउने तयारी सानोतिनो होइन’, उनले भने, ‘हामीलाई बिजुलीको बजार त चाहिएकै छ। यो त ऐतिहासिक उपलब्धि हो. भारतीय प्रधानमन्त्रीले १० हजार मेगावाट बिजुली किन्छु भन्दा गर्व गर्नुपर्ने, प्रधानमन्त्रीलाई धन्यवाद भन्नु पर्नेमा उल्टै गाली र आलोचना पो भइरहेको छ।’

उनले समृद्धि र विकासको सवालमा नेपाली जनता एक ठाउँ नउभिँदा अन्तर्राष्ट्रिय समुदायमा राम्रो म्यासेज नगएको बताए। 

‘समृद्धिको कुरामा नेपाली एकै ठाउँ रहेछन् भन्ने भए पो’, उनले भने, ‘तर हामीलाई सहयोग गर्न चाहनेलाई पनि  भाँड्दैछौँ, राम्रा कुरामा प्रशंसा होला भनेको उल्टै खेद्ने र आलोचना पो भइरहेको छ।’

उनले मल कारखाना खोल्ने, कृषि उपजमा सहयोग लिने जस्ता कुरा पनि उपलब्धिपूर्ण भए पनि मुर्रा भैंसी मात्रै देखेकोमा दुखेसो पोखे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .