राजनीति


बजेटमा चित्त नबुझेपछि पर्यटनमन्त्री किरातीले संसद्‍मै मागे माफी

असन्तुलित बजेट ल्याएको भन्दै अर्थमन्त्रीसँग असन्तुष्ट
बजेटमा चित्त नबुझेपछि पर्यटनमन्त्री किरातीले संसद्‍मै मागे माफी

फाइल तस्बिर


नेपालखबर
असार ११, २०८० सोमबार १५:१२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका हुन्। 

उनले बजेट असन्तुलित भएकोमा माफीसमेत मागे। किरातीले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजना समेट्न नसकेको बताए। 

उनले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए।

मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रम समावेश गरिएको  बताए। 

त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पुर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले बताए।

‘सदाझैँ यसपालि मन्त्रालयको सिलिङ बजेटको व्यवस्था भएन। हाम्रो मन्त्रालयमा जिरो थियो सिलिङ बजेट। पुरातत्व विभाग र पर्यटन विभागमाथि हामी भर पर्नु पर्‍यो। धरै योजना अटाउनै सकिएन। सबैको चित्त प्रशन्न बनाउनै सकिएन। बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ। स्वभाविक रुपमा बजेट असन्तुलित भएको छ। त्यसका लागि सदनमा म क्षमाप्रार्थी छु। सांसदहरुको मागलाई हामीले लिपिबद्ध गरेर सम्बन्धित मन्त्रालय पठाएका थियौँ’, उनले भने, ‘त्यहाँ पनि बजेटको सीमाले योजना पर्न सकेन भनेर हामीले बुझ्दा राम्रो हुन्छ होला। बजेको सीमा करिब ४५ प्रतिशतले हाम्रो मन्त्रालयमा घटेर आयो। हुँदा हुँदै पनि सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी कार्यक्रमहरु समावेश गरिएको छ।’ 

उनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्य सम्पन्न भएको पनि बताए। 

मन्त्री किरातीले पशुपतिस्थित जलहरीको विषयमा अख्तियारले छानबिन गरिरहेको पनि बताए। उनले विमानस्थल थप्नेभन्दा विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताए। उनले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .