ad ad

राजनीति


राजसंस्था पुनर्स्थापनाकै पक्षमा फर्किने कमल थापाको संकेत

कार्यकर्तालाई भने : हाम्रो नीतिमा पुनर्विचार गर्ने बेला आयो
राजसंस्था पुनर्स्थापनाकै पक्षमा फर्किने कमल थापाको संकेत

नेपालखबर
असार २०, २०८० बुधबार १८:२१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन्।

मुलुकको  भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकता रहे पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको उनले बताए।

तर केन्द्रीय समिति बैठकमा ब्यक्त धारणा र देशभरका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाबारेको नीतिमा पुनर्विचार गरिने थापाले स्पष्ट पारे।

२०७८ मंसिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल बनाएका थिए।

थापाले त्यसपछि २०७८ फागुनमा राजसंस्था पुनर्स्थापनाको एजेण्डा त्यागेको घोषणा गरेका थिए।

थापा त्यसबेला लामो समयदेखि राजसंस्थाको माग गर्दै आएकामध्ये एक नेता थिए। तर राप्रपाको एकता महाधिवेशनमा आफूलाई हराउन पूर्वराजाले नै मुख्य भूमिका खेलेको आरोप लगाउँदै थापाले राप्रपा त्यागेका थिए। 

उनले २०७८ फागुन १८ गते काठमाडौंमा एक कार्यक्रम गरेर राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका थिए। 

राप्रपाको एकता महाधिवेशनमा पराजित भएपछि निर्मल निवासको नाङ्गो हस्तक्षेप गरेको आरोप उनले लगाएका थिए।

लिङ्देनले अध्यक्षको कार्यभार सम्हालिसकेपछि थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन माग गरेका थिए।

तर पार्टीबाट सुनुवाइ नभएको र लिङ्देनले आफूलाई बेवास्ता गरेको गुनासोसहित थापाले राप्रपा नेपाल ब्युँताएका थिए।

थापाले राजसंस्थाप्रति आस्था र सम्मान भए पनि आफ्नो कार्यनीतिमा नरहेको बताएका थिए। त्यसबेला हिन्दु राष्ट्र, सुशासन र समृद्धि पार्टीको मुख्य मान्यता रहेको बताए थिए। 

तर एक वर्षपछि उनी फेरि राजसंस्था पुनर्स्थापनाको एजेन्डामा फर्किने बिन्दुमा पुगेका हुन्। उनले राजसंस्था पुनर्स्थपानको एजेन्डामा फर्किने गरी कार्यकर्ताको सुझाव आएकाले अब त्यसतर्फ सोच्न सकिने बताएका हुन्।

पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस र कम्युनिस्टप्रति जनताको चरम वितृष्णा रहेको बताए।

थापाले नयाँ शक्तिको रुपमा आएका पार्टीहरु सत्ताकेन्द्रित भएको अवस्थामा २०८४ को निर्वाचन नयाँ शक्ति जनताको रोजाइ हुनेसमेत भविष्यवाणी गरे।

उनले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै सबै जनवर्गीय संगठनलाई संगठन केन्द्रित हुन निर्देशन दिए।

भ्रष्टाचार, बेरोजगारी, धर्मपरिबर्तन र कुशासनविरुद्ध जनतालाई जगाउनु पर्ने भन्दै थापाले त्यसका लागि दृढतापूर्वक उभिनसमेत आग्रह गरे।

कार्यक्रममा जनवर्गीय संगठनका प्रमुखहरुले कार्ययोजनासहित भावी रणनीति प्रस्तुत गरेको पार्टीका महामन्त्री राजारम बर्तौलाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .