ad ad

राजनीति


विदेशिएका युवालाई स्वदेश फर्किएर अवसर सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह

विदेशिएका युवालाई स्वदेश फर्किएर अवसर सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह

नेपालखबर
असोज ८, २०८१ मंगलबार ७:३२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सिर्जना गर्न आग्रह गरेका छन्। 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरमलाई सम्बोधन गर्दै विदेशमा रहेका युवालाई स्वदेश फर्किन आग्रह गरेका हुन्। 

उनले गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारेको बताए। 

‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्किनेको क्रम पनि बढेको दाबी गरे।  

प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जनाउँदै युवाविना मुलुकले रूपान्तरण गर्न सक्दैन भन्नेमा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गरे।

‘नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन। बरु म यसको समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हासिल गर्न सक्नेछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ। भारत र चीनजस्ता आर्थिक शक्तिराष्ट्रका छिमेकी पनि हौँ। त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ।’

उनलेआफूले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका संसद्का दुई ठुला दलसहितको सरकारको नेतृत्व गरिरहेको अवगत गराउँदै सुशासन र पारदर्शिता कायम गर्ने सङ्कल्प लिएको जानकारी दिए। ‘नेपालीलाई समृद्ध र सुखी बनाउनेबाहेक हामीसँग अरु कुनै अभिष्ट छैन। समृद्धिको यात्रामा हामी पूर्ण कटिबद्ध रहेका छौँ’, उनले भने।

प्रधानमन्त्री ओलीले युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’लाई सम्बोधन गर्दै लिडमुक्त अभियानमा ऐक्यबद्धता जनाए।

कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनका पत्नी डा। जिल वाइडेन, डोमिनिकाका राष्ट्रपति, मलावीका राष्ट्रपतिलगायतले सम्बोधन गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .