राजनीति


बीपी राजावादी नभएको स्वीकारे, ‘विचारभन्दा माथि देश’मा ल्याएर मुछे

बीपी राजावादी नभएको स्वीकारे, ‘विचारभन्दा माथि देश’मा ल्याएर मुछे

नेपालखबर
साउन ६, २०८० शनिबार १३:४३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र एकताका बीपी कोइराला राजतन्त्र पक्षधर रहेको बताउँथे। उनले आफ्ना अन्तर्वार्ताहरूमा बीपीसहित गणेशमान सिंह र कृष्णप्रसाद कोइराला राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा अडिग रहेको तर राष्ट्रियतासँग उनीहरूले राजतन्त्र पनि राखेको जिकिर गर्थे।

तर शनिबार बीपी स्मृति दिवसमा बीपी राजावादी नभएको स्वीकारेका छन्। सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गर्दै उनले लेखेका छन्, 'सहमत : बीपी कोइराला राजसंस्थावादी हुनै सक्दैन थिए।'

अगाडि उनले लेखेका छन्, 'कोही पनि मेरिटोक्र्याट्स (उत्कृष्टतामा विश्वास गर्ने व्यक्ति) सैद्धान्तिक रूपमा मोनर्किस्ट (राजसंस्थावादी) हुन सक्दैन। किनभने, मेरिटोक्रसी कर्मसिद्ध अधिकारमा विश्वास गर्छ। मोनर्की जन्मसिद्ध अधिकारमा विश्वास गर्छ। यी दुई सैद्धान्तिक रूपमा विपरीत ध्रुव हुन्।'

त्यसभन्दा अगाडि उनले बीपीले 'विचारभन्दा माथि देश'लाई राखेको जिकिर गरेका छन्। बीपी सच्चा देशभक्त भएकाले बीपी अन्तत: राजसंस्थावादी बनेको जिकिर उनले गरेका छन्। विचार व्यक्तिगत हुने र देश सबैको साझा हुने बताउँदै उनले  नेपालको हितका लागि बीपी राजसंस्थावादी बनेको उनले लेखेका छन्।

'बीपी सच्चा देशभक्त थिए। कोही पनि सच्च देशभक्त जब देशको कुरा आउँछ, आफ्नो विचारलाई गौण राख्छ र देशको हितलाई प्रधान बनाउँछ। किनभने, विचार व्यक्तिगत हुन्छ - देश सबै जनताको साझा हुन्छ,' उनले लेखेका छन्, 'त्यसैले बीपी सैद्धान्तिक रूपमा गणतन्त्रवादी भए पनि एकजना देशभक्त दूरद्रष्टा हुनाले नेपालको हितका लागि राजसंस्थावादी बन्न पुगे।'

राजसंस्थाबाट बीपीले अनेकौँ पीडा बेहोरे पनि ती पीडालाई बीपीले अन्तिमसम्म पचाइदिएको उनले बताएका छन्।

उनले अहिलेका गणतन्त्रवादीले बीपीबाट प्रेरणा लिएर 'विचारभन्दा माथि देश' हुने मनन गर्नुपर्ने जिकिर गरेका छन्। 'अहिलेका गणतन्त्रवादीहरूराजाको सेनाले हामीलाई कार्यालयमा बन्दुक देखाए, बाटोमा टियरग्यास चलाए, यति महिनारवर्ष जेल हाले भन्छन्। ती सच्चा देशभक्त बीपीवादी हुन् भने उनीहरूभन्दा सयौँ गुणा बढी पीडा भोगेका बीपीबाट तिनले प्रेरणा लिऊन्। जहिले पनि जब देशको कुरा आउँछ, ३विचारभन्दामाथिदेश हुन्छ भन्ने मनन् गरून्,' उनले भनेका छन्।

गिरिजाप्रसादले पार्टी र देशलाई उधोगतिमा लगेको आरोप उनले लगाएका छन्। जब कांग्रेस बीपीको शिरबाट जीपीको पैतालामा झर्यो, त्यसपछि कांग्रेस र देश दुबै अधोगति-उन्मुख भयो,' उनले भनेका छन्, 'जति छिटो कांग्रेस बीपीको बाटोमा फर्किन्छ, त्यति छिटो कांग्रेस र देश उभोगति उन्मुख हुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .