प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।
देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने ओलीको भनाई थियो।
‘जुन तस्करी भयावह ढंगले भइराखेको छ। त्यो देशका लागि, देशको इज्जतको लागि, सबभन्दा ठूलो कुरो अर्थतन्त्रको लागि, आर्थिक उन्नतिमा यसले ठूलो बाधा पु¥याउँछ। यस हिसाबले यो धेरै गम्भिर कुरा हो,’ उनले भने, ‘यसलाई रोक्नैपर्छ। यदि यो कुरालाई तपाईले सरकारसँग जोडेको हो भने अहिले हाम्रो सरकारतिर ध्यान छैन। सरकारतिर ध्यान होइन, हाम्रो राजनीतिक स्थिरता, स्थायित्व, सुशासन, भ्रष्टाचार नियन्त्रण, तस्करीजन्य कुरा भ्रष्टाचारकै अंग हो।’
उनले एमालेले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको पनि बताए। ओलीले सत्तारुढ गठबन्धनको कुबुद्धिका कारण कोशी प्रदेश सरकारमा अस्थिरता आएको आरोप लगाए।
‘यी कुराहरू नियन्त्रण र आर्थिक विकास। यी प्रश्नहरूमा हाम्रो ध्यान छ। कोशी प्रदेश सरकार त बनेकै थियो। यो त सत्तारुढ गठबन्धनको कुबुद्धि र अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापको कारणले या अस्थिरता आएको न हो,’ उनले भने, ‘नत्र भने नबनेको सरकार बनाए भन्ने। सभामुखले भोट हालेर असंवैधानिक क्रियाकलाप गर्ने, गराउने। सभामुखलाई राजीनामा गराएर संकट खडा गराउने। यस्ता खालको काम सत्तापक्षले गरेर समस्या आएको न हो।’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापका कारण कोशी प्रदेश सरकार आफैँ संकटमा परिरहेको जिकिर गरे।
Shares
प्रतिक्रिया