राजनीति


माघ २४ गते सातै प्रदेशमा विरोध सभा गर्ने नौ दलको घोषणा

माघ २४ गते सातै प्रदेशमा विरोध सभा गर्ने नौ दलको घोषणा

नेपालखबर
माघ ११, २०७६ शनिबार १६:०,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) र नेकपा क्रान्तिकारी माओवादी लगायतका नौ दलले भारतले गरेको सीमा अतिक्रमण तथा एमसीसी प्रकरण विरुद्ध संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

शनिबार नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको नौ दलको बैठकले यही माघ २४ गते सातै प्रदेशमा विरोध सभाको गर्ने निर्णय गरेको जनाइएको छ। काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा हुने संयुक्त वक्तव्यमा उल्लेख छ।

‘भारतद्वारा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र समेतको भूमि अतिक्रमण भएको र अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विरुद्ध संघर्ष भइरहेको स्थितिमा उक्त संघर्षका कार्यक्रमहरूलाई व्यापक र सशक्त बनाउन’ संयुक्त कार्यक्रमको घोषणा गरिएको जनाइएको छ।

यस्तै वक्तव्यमा अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त रणनीतिको अंगको रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको समेत विरुद्ध रहेको ठहर गरिएको छ। सो सम्झौतालाई खारेज गर्न सरकारसँग माग गर्नुका साथै सम्झौतालाई संसदबाट अनुमोदन नगर्न पनि आह्वान गरिएको छ।

संयुक्त वक्तव्यमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी–माओवादी) का महासचिव मोहन बैद्य (किरण), नेकपा (माले) का महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुभासराज काफ्ले र राष्ट्रिय जागरण परिषद्का सहसंयोजक महेन्द्र शर्माको हस्ताक्षर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .