ad ad

राजनीति


राजदूतलाई औषधि लगिदिँदा कोरियामा रोकिए मा‌ओवादी नेता सापकोटा

दूतावासले भन्यो : समस्या समाधानको अन्तिम चरणमा छ
राजदूतलाई औषधि लगिदिँदा कोरियामा रोकिए मा‌ओवादी नेता सापकोटा

फाइल तस्बिर


नेपालखबर
असोज २, २०८० मंगलबार १३:२१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा 'दीपशिखा' दक्षिण कोरियामै रोकिएका छन्।

कोरियास्थित नेपाली राजदूत डा. ज्योति प्याकुरेल (भण्डारी) ले सेवन गर्ने गरेको औषधि लिएर जाँदा सापकोटा त्यही रोकिनुपरेको हो।

सामाजिक सञ्जालमा कोरियन प्रहरीले सापकोटालाई पक्राउ गरेर हिरासतमा राखेको चर्चाबीच नेपाली राजदूतावासले मंगलबार स्पष्टीकरणसहित विज्ञप्ति निकालेको छ।

दूतावासले केही सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै राजदूत प्याकुरेलले विगत एक वर्षदेखि नियमित रुपमा औषध लिइरहेको जनाएको छ।

‘उक्त औषधि राजदूतको अनुरोध बमोजिम सापकोटाले कोरिया आउँदा ल्याउने क्रममा डाक्टरको प्रेसक्रिप्सन ल्याउन छुटेको थियो’, दूतावासले भनेको छ, ‘कोरियाका भन्सार अधिकारीहरुले  प्रेसक्रिप्सनबिनाको औषधि लैजान नमिल्ने भनि सम्बन्धि कागजातहरु पेश गर्न माग गरेका सापकोटा कोरियामा रोकिनुभएको हो।’

भन्सार अधिकारीहरुको माग बमोजिमका कागजातहरु दूतावासले सम्बन्धित अधिकारीहरुलाई बुझाइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।

गत अगस्ट १० मा कोरिया गएका दीपशिखाले प्याकुरेलका लागि औषधि लगिदिएका थिए। राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ।

इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधिको प्रेस्क्रिप्सन नहुँदा त्यहाँका सुरक्षा अधिकारीले रोकेका थिए।

नेपाली दूतावासले उनलाई छुटाउन पहल गरे पनि कोरियाली कानुनअनुसार अनुसन्धान नसकिएसम्म देश नछाड्न भनिएको छ। नेपाली दूततावासले पनि उक्त कुरा स्वीकार्दै समाधान हुने अन्तिम क्रममा रहेको पनि जनाएको छ। 

यसैबीच सापकोटाले कोरियन सरकारको भन्सारले प्रेस्किप्सनसहित अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदूतावासले बुझाइसकेको जनाएका छन्। 

उनले भन्सारको भेरिफिकेशन नसकिएसम्म आफूलाई कोरियाबाट नेपाल फर्कन नदिएको स्वीकारेका छन्। तर उनले  नजरबन्द र गिरफ्तारी केही नभएको जनाएका छन्। 

‘नियतवश कुनै कमजोरी नगरेको कारण चाँडै नेपाल फर्कनेमा विस्वस्त छु’, उनले भनेका छन्, ‘आफ्नै देशको बिरामी राजदूतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्‍याइदिन र पीडित मलाई थप पिडा नदिनुहुन नेपाली मिडिया, सामाजिक सञ्जालका साथीहरूमा अपिल गर्दछु।’

सापकोटा माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का पूर्वअध्यक्ष पनि हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .