राजनीति


गणतन्त्र र धर्मनिरपेक्षता जनआन्दोलनका उपलब्धि, संघीयता विदेशी दबाबको परिणाम : मसाल

गणतन्त्र र धर्मनिरपेक्षता जनआन्दोलनका उपलब्धि, संघीयता विदेशी दबाबको परिणाम : मसाल

फाइल फोटो


नेपालखबर
असोज ३, २०८० बुधबार १६:५५, काठमाडौँ

नेकपा (मसाल) ले संविधानमा उल्लेखित संघीयता विदेशीको दबाबको परिणाम भएको बताएको छ।

नवौँ संविधान दिवसका अवसरमा बुधबार वक्तव्य प्रकाशित गरी मसालले संविधानमा उल्लेखित गणतन्त्र र धर्मनिरपेक्षता जनताको संघर्षबाट प्राप्त उपलब्धि र संघीयता विदेशी दबाबको उपज भनेको छ।

महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘निश्चय नै, त्यो संविधानमा संघीयता पनि समावेश गरिएको छ। संविधानमा उल्लेखित गणतन्त्र र धर्मनिरपेक्षता जनताको आन्दोलनबाट प्राप्त उपलब्धि हुन् भने संघीयता विदेशी दबाबको परिणाम हो।’

साथै, मसालले संविधान जनताको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि भएकोले यसको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि अझै संघर्ष गर्नुपर्ने बताएको छ।

यस्तो छ वक्तव्य
आज नवौँ संविधान दिवस हो। यसले नेपालको राजनैतिक इतिहासमा नै ठूलो महत्व राख्दछ। नेपालमा जनताको लामो संघर्ष तथा त्याग र बलिदानपछि नै संविधान सभाको चुनाव भएको थियो। त्यो संविधानले नेपाललाई गणतन्त्र र धर्मनिरपेक्षता समेत दिएको छ। निश्चय नै, त्यो संविधानमा संघीयता पनि समावेश गरिएको छ। संविधानमा उल्लेखित गणतन्त्र र धर्मनिरपेक्षता जनताको आन्दोलनबाट प्राप्त उपलब्धि हुन् भने संघीयता विदेशी दबाबको परिणाम हो।

त्यसैले हाम्रो पार्टीले सुरुदेखि नै गणतन्त्र र धर्मनिरपेक्षतालाई दृढतापूर्वक समर्थन गर्दै आएको छ भने संघीयताको विरोध गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गर्दै आएको छ। आज संविधान दिवसको उपलक्ष्यमा हामीले उक्त दुवै विषयहरुमा जोड दिन चाहन्छौँ।

देशमा गणतन्त्रको स्थापना भएको समयदेखि नै राजावादीहरुले गणतन्त्र र धर्मनिरपेक्षतालाई खारेज गर्न आवाज उठाउँदै आएका छन्। अब त्यो गतिविधिमा पूर्वराजा पनि सामेल भएका छन्। त्यसरी प्रतिगमनको खतरा अत्यन्त गम्भीर बनेर गएको छ। ओलीको नेतृत्वको एमालेले पनि लोकतन्त्र र बहुदलीय व्यवस्थामाथि बारम्बार लोकतन्त्रमाथि हमला गरेर प्रतिगमनको खतरालाई अरु बढाउँदै लगेको छ।

त्यो अवस्थामा जनताको महान आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षाका लागि प्रतिगमनका विरुद्ध भएका शक्तिहरुबीचको एकता आजको राष्ट्रिय आवश्यकता भएको छ। त्यही आवश्यकता पूरा गर्न नै पाँच दलीय गठबन्धन बनेको थियो र प्रतिगमनका विरुद्धको संघर्षमा त्यसको ऐतिहासिक भूमिका रहेको थियो। हाम्रो के सोचाई छ भने प्रतिगमनको खतरा अहिले पनि विद्यमान छ र त्यो लगातार बढ्दै गइरहेको छ। त्यसकारण प्रतिगमनका विरुद्ध भएका शक्तिहरुको एकता अहिले पनि आवश्यक भएको कुरामा हाम्रो पार्टीले अहिले पनि जोड दिन्छ।

मधेशवादीहरुले पनि सुरुदेखि नै संविधानको विरोध गर्दै आएका र अहिले पनि त्यसमा कैयौं राष्ट्रघाती प्रकारका संशोधनहरुको माग गरिरहेका छन्। त्यो कुनै लुकेको कुरा होइन कि आफ्ना निहित स्वार्थहरुको अनुकुल नभएको हुनाले नै भारतीय साम्राज्यादले नेपालको संविधानको विरोध गरेको थियो र अहिलेसम्म नेपालको संविधानलाई स्वागत गरेको छैन। भारतीय साम्राज्यवादको संविधानप्रतिको त्यसप्रकारको विरोध देशको राष्ट्रियता र अखण्डता समेतका विरुद्ध छ।

अन्तमा आज संविधान दिवसको उपलक्ष्यमा गणतन्त्र, धर्मनिरपेक्षता तथा राष्ट्रियता र देशको अखण्डता समेतको रक्षाको लागि जोड दिने बेलामा यो कुराप्रति पनि हाम्रो पूरा ध्यान रहेको छ कि अहिले देशमा कायम भएको गणतन्त्र र बहुदलीय व्यवस्था समेतबाट जनताका आधारभूत समस्याहरूको समाधान र देशको दिगो विकास सम्भव छैन। त्यसका लागि दीर्घकालीन क्रान्तिकारी आन्दोलनको आवश्यकता छ। तैपनि तात्कालिक रूपमा अहिले देशमा कायम भएको गणतन्त्र र बहुदलीय व्यवस्था समेतको प्रगतिशील र सकारात्मक महत्व छ। त्यसकारण तात्कालिक रूपमा तिनीहरूको रक्षाका लागि हाम्रो पार्टीले विशेष जोड दिन्छ। आज संविधान दिवसको उपलक्ष्यमा हामीले त्यसका लागि उच्च प्रकारको सतर्कता अपनाउन सम्पूर्ण जनतासित अपिल गर्दछौँ।

२०८० असोज ०३ गते।
मोहनविक्रम सिंह
महामन्त्री

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .