राजनीति


०७४ सालदेखि नागरिकता दिएर सुन तस्कर तयार पारिएको रहेछ : ओली

०७४ सालदेखि नागरिकता दिएर सुन तस्कर तयार पारिएको रहेछ : ओली

नेपालखबर
असोज ८, २०८० सोमबार १७:१४, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणका जुनसुकै फाइल खोलेपनि आफूहरूलाई त्रास नभएको दाबी गरेका छन्। 

सोमबार बागमती प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै ओलीले सरकारले नै सुन तस्करी छानबिन गर्न नचाहेको आरोप पनि लगाए।

‘नेकपा एमालेलाई कुनै फाइल खोलेपनि, केही गरेपनि त्यो फाईलसँग नेकपा एमालेलाई कुनै त्रास होइन, नेकपा एमाले फाइल खोल भन्छन सरकारलाइ। फाईल खोल, कारबाही गर,’ ओलीले भने।

सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारेपनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर थियो।

उनले सरकारले आयोगलाई  सुन तस्करी छानबिन नभईे तस्करी हुन नदिने गरी कानून निर्माण गर्नका लागि सुझाव दिनुपर्ने जिद्दी गरिरहेको पनि बताए।

‘सरकार छानविन गर्नुहुँदैन भनिराखेको छ। पछि भविष्यमा कस्तो कानुन ल्याउने भन्ने सिफारिस गरोस् आयोगले। छानविन गर्न पाइँदैन। छानविन गर्न किन पाइँदैन? तपाईं हामी सबैले एक महिनासम्म सय किलो सुन सुन्यौ पनि, पढ्यौं पनि। एक महिना पछि ६१ किलो भन्नेमा झर्‍यो। ३९ किलो चाहीँ कहाँ गयो? साँढे ९ केजी सुनको कारबाही के भयो? २९४ पल्ट भएका टेलिफोन वार्ता, कुदेर पटकपटक एयरपोर्ट गएका साँठगाँठ। ती कहाँ गए? २०७४ सालदेखि नागरिकता दिइदिइकन तयार गरिएको रहेछ नि मान्छे त। तस्कर त तयार गरिएको रहेछ नि नागरिकता दिएर। ती मान्छे को हुन?,’ ओलीले भने।

अध्यक्ष ओलीले सरकार सुन तस्करहरूलाई भगाउनका लागि सो आयोग एक महिना पछि मात्रै बनाउन सहमत भएको समेत बताए। आफ्नो पार्टीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै पनि दिन छानबिन गराएरै छाडने चेतावनी समेत उनले दिए।

‘हामीले एक महिनासम्म संघर्ष गरेर सुन तस्करीको छानबिन गर्नुपर्छ, व्यापक छानबिन गर्नुपर्छ भन्यौँ। सरकार मानेन्। एक महिना पछि बल्ल आयोग बनाउन मान्यो। त्यसको एक महिनापछि मात्रै आयोग बनाउने र काम गर्ने भन्यो। किन एक महिना पर्खिनु पर्‍यो? किन एक महिना पर्खिनु पर्‍यो भने सरकार विलम्ब गर्न किन चाहन्छ, ढिलो गर्न किन चाहन्छ भने एयरपोर्टमा पक्रिनुपर्ने सुन पक्रिएन। त्यहाँबाट उम्केपछि गोदामा पिछा गरेर गएर समाउनु पथ्र्यो। बीचैमा समात्यो,’ ओलीले अघि भने, ‘मेरो सुन भन्नेहरू बाटोमा पक्राउ पर्छन्। राजस्व अनुसन्धानमा पुर्‍याएर सय किलो सुन तस्करी गरेका तस्करलाई चाहिएका बेला हाजिर हुन्छु भन्ने एक लाईनको कागज गराएर छोडिन्छ। र, सामान सबै लुकाउन लगाइन्छ। मान्छे भगाउन लगाइन्छ। पर्सी पल्ट ३ दिनपछि खोज्न जान्छ। तीन दिन पछि खोज्न जाँदा १६५ वटा रित्ता बाक्सा भेटिन्छन। सामान भेटिँदैन। किनभने सरकारले पहिले नै लुकाउन लगाइसकेको छ। हो यसैकारण उसलाई एक महिनाको समय चाहिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .