राजनीति


आक्रामक सांसदलाई परराष्ट्र सचिवको नम्रताले जितेको एक रोचक संसदीय सुनुवाइ

‘छोरीलाई छरछिमेक र शक्तिराष्ट्रमा पढ्न नगइदेऊ भनेँ’
आक्रामक सांसदलाई परराष्ट्र सचिवको नम्रताले जितेको एक रोचक संसदीय सुनुवाइ

सीताराम बराल
मंसिर १०, २०८० आइतबार २३:३, काठमाडौँ

सुवर्ण शमशेरको नेतृत्वमा नेपाली कांग्रेसले पञ्चायतविरुद्ध सशस्त्र संघर्ष गरिरहेको थियो। जननिर्वाचित सरकारलाई अपदस्थ गरेकोमा भारत राजा महेन्द्रसँग क्रुद्ध थियो। आफ्नो कदमविरुद्ध सशस्त्र संघर्षका लागि भारतीय भूमि प्रयोग गर्न दिएकोमा राजा महेन्द्र पनि नयाँदिल्लीसँग क्रुद्ध थिए। 

न भारतले नयाँदिल्लीस्थित नेपाली राजदूतसँग संवाद जारी राखेको थियो, न दुई मुलुकका शीर्ष नेताबीच नै हार्दिक सम्बन्ध थियो। संवाद त हुन्थ्यो, तर सार्वजनिक तबरमा, आरोप–प्रत्यारोपका साथ मात्र। 

यही स्थितिमा काठमाडौँबाट नयाँदिल्ली जाँदै गर्दा नेपाली राजदूत नरप्रताप थापा (पूर्वपरराष्ट्रसचिव) को बाग्लुङमा भएको विमान दुर्घटनामा दुखद निधन भयो। राजा महेन्द्रले तत्कालीन परराष्ट्र सचिव यदुनाथ खनाललाई राजदूत बनाएर नयाँदिल्ली पठाए। 

राजदूत खनालले उपाय निकाले, भारतमा आयोजना हुने विभिन्न कार्यक्रमका मञ्चलाई आफ्ना कुरा राख्न प्रयोग गर्ने। त्यस्ता मञ्चमा अभिव्यक्त हुने विचारलाई भारतीयहरुले गम्भीरतापूर्वक लिन्थे। उनीहरुमार्फत् ती कुरा नीति–निर्माताको तहसम्म पुग्थ्यो। 

राजदूत खनालको यो उपाय प्रभावकारी भयो। उनकै कार्यकालमा काठमाडौँ–नयाँदिल्लीको सम्बन्ध सुधार भयो। केही समय अघिसम्म भारतीय भूमिबाट सशस्त्र संघर्ष सञ्चालन गरेको नेपाली कांग्रेसविरुद्ध परिचालित नेपाली सेनालाई थप बलियो बनाउन नेपाल–भारतबीच सैन्य सम्झौता (१९६५) समेत उनकै कार्यकालमा भयो।  

यस्तो प्रकारको ‘ट्र्याक टु डिप्लोमेसी’ बाट खराब सम्बन्ध भएका मुलुकले मात्र होइन, सुमुधर सम्बन्ध भएका मुलुकले पनि लाभ लिन सक्छन्। यो माध्यम सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन प्रभावकारी हुनसक्छ। 

क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत एवं परराष्ट्रसचिव भरतराज पौड्यालले नेपाल–क्यानाडा सम्बन्धलाई थप उचाइमा पुर्‍याउन खनालको उपायलाई पछ्याउने योजना बनाएका छन्।   

फरक प्रस्तुति 
संसदीय समितिमा सुनुवाइका क्रममा आइतबार प्रस्तावित राजदूत पौड्यालले १४ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरे। त्यसमा उनले आफ्नो परिचय छोटो रुपमा अन्तिम पृष्ठमा समावेश गरेका छन्। आफू पदमा रहँदा सफलतापूर्वक सम्पादन गरेका महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारी समेत उनले उल्लेख गरेका छैनन्। 

उच्च पदाधिकारीहरुमा आफ्नो बढाइ–चढाइ गर्ने जुन प्रवृत्ति छ, त्यो रोगबाट पौड्याल मुक्त देखिन्छन्। 

‘राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशमा आएको परिवर्तनसँगै राजदूतका जिम्मेवारीका आधारहरु पनि परिवर्तन हुन्छन्,’ भन्दै उनले आफूले निर्वाह गर्ने जिम्मेवारीका ७ आधार समिति समक्ष प्रस्तुत गरे। उनको भनाइमा पहिलो आधार नेपालको संविधानको मार्गदर्शन र प्रचलित नेपालको कानुनको परिपालन हो भने दोस्रो आधार नेपालको परराष्ट्र नीति हो। तेस्रो आधार भियना कन्भेन्सन अन डिप्लोम्याटिक रिलेसन्स १९६१ हो। अनि चौथो आधार नेपाल सरकारले जारी गरेको कूटनीतिक आचारसंहिता हो।  

क्यानाडा सरकारले कूटनीतिज्ञहरुका लागि कार्य नियमनका सम्बन्धमा जारी गरेका नियम, निर्देशन एवं आचार संहितालाई उनले पाचौँ आधारका रुपमा प्रस्तुत गरे। 

‘नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत् प्राप्त हुने नीतिगत निर्देशन र कार्यनिर्देशहरु छैटौँ आधार हुनेछन्,’ उनले भने, ‘सातौँ आधार चाहिँ परराष्ट्र मन्त्रालयबाट १७ भदौ २०७२ मा जारी क्यानडाका लागि नेपाली राजदूतको कार्यविवरण (अर्थात् टर्म्स अफ रिफरेन्स) हो।’ 

एउटा राजदूतका जिम्मेवारीका आधार वा सीमाको व्याख्या यति विस्तृत रुपमा संसदीय सुनुवाइ समितिमा पेस भएको यो पहिलो पटक हो। 

नेपाली राजदूतको जिम्मेवारी प्राप्त गरेमा आफूले निर्वाह गर्ने ७ कार्ययोजना पनि उनले आजको बैठकमा प्रस्तुत गरे। उनको पहिलो कार्ययोजना ‘दुई मुलुकबीच द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउनु’ हो।  

दोस्रो कार्ययोजनामा ‘आर्थिक कूटनीति’ लाई राखेका छन्। यो कार्ययोजनालाई उनले व्यापार–लगानी–प्रविधि हस्तान्तरण, पर्यटन प्रबद्र्धन, विकास सहायता, र जलवायु परिवर्तन गरी तीन भागमा बाँडेका छन्। ‘डायस्पोरा कूटनीति’ लाई कार्ययोजनाको तेस्रो बुँदामा समेटेका छन्। 

यसक्रममा उनले क्यानडास्थित नेपाली डायस्पोराको विशेषतालाई सुन्दर ढंगले प्रस्तुत गरे। 

‘क्यानडाका विश्वविद्यालयहरु, उच्च प्रविधिका क्षेत्रहरु, सरकारी एवं निजी क्षेत्रमा उच्चतम योग्यता, क्षमता र अनुभवले खारिएका नेपाललाई माया गर्ने डायस्पोरा समुदायका व्यक्तिहरु उल्लेख्य संख्यामा हुनुहुन्छ, त्यो समुदायसम्म पहुँच र सम्पर्क बढाई नेपालमा नयाँ प्रविधि, ज्ञान, सिप र लगानी भित्र्याउने कार्यमा सहयोग गर्ने सम्भावना रहन्छ,’ उनले भने, ‘यो समूहमा पर्ने व्यक्तिहरुमार्फत् क्यानडेली सार्वजनिक जीवन एवं समाजका प्रभावशाली तहमा सम्पर्क, पहुँच र मित्रता कायम गर्न सकिने सम्भावना रहन्छ। यसका लागि डायस्पोराको सहयोग र सद्भाव हासिल गर्ने र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन मेरो पहल हुनेछ।’   

कार्ययोजनाको चौँथो बुँदामा ‘जनस्तरको सम्बन्ध प्रबद्र्धनका लागि शैक्षिक, सांस्कृतिक र सार्वजनिक कूटनीतिमा जोड दिने’ रहेको छ। 

उनी क्यानडाको मन्ट्रियलमा मुख्यालय रहेको ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)’ को स्थायी प्रतिनिधि पनि प्रस्तावित भएका छन्। क्युबा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि पनि उनी प्रस्तावित राजदूत हुन्। पाचौँ र छैटौँ बुँदामा उनले क्रमशः उपरोक्त संगठन र मुलुकमा निर्वाह गर्ने जिम्मेवारीलाई समेटेका छन्। 

सुनुवाइका क्रममा सांसदहरुले पौड्यालको कार्ययोजना सटिक एवं पूर्ण र प्रस्तुति प्रभावकारी भएको टिप्पणी गरेका थिए। एमाले सांसद देवेन्द्र दाहालले कार्ययोजना पूर्ण र प्रस्तुति उच्च कूटनीतिक क्षमतायुक्त कूटनीतिज्ञको भएको भन्दै प्रशंसा गरे। 

‘बिहान उठ्दा प्रत्येक दिन देखिने गरी कोठामा टाँसेरै यसलाई राख्नुहोला,’ उनका कार्ययोजना सुनेपछि कांग्रेस सांसद रमेशजङ्ग रायमाझीले सुझाव दिए, ‘तपाईंका कार्ययोजना लागू गर्न सकिने खाल छन्। लागू हुँदा मुलुकले धेरै कुरा प्राप्त गर्न सक्छ।’ 

अब्बल जवाफ  
परराष्ट्रसचिव पौड्याल प्रश्नोत्तर कालखण्डमा पनि अब्बल रुपमा प्रस्तुत भए। ‘उजुरीबाट प्राप्त जानकारी’ भन्दै केही सांसदले व्यक्तिगत आक्षेपयुक्त प्रश्न पनि सोधेका थिए। तर, ती प्रश्नप्रति उनले रोष प्रकट गरेनन्। बरु ‘सार्वभौम सांसदहरुको जिम्मेवारीबोधका रुपमा लिएको र यसले सुनुवाइ समितिको औचित्य स्थापित भएको’ भन्दै जवाफ सुरु गरे। 

१९ मंसिरमा कार्यकाल सकिन लागेका सचिवलाई किन राजदूत बनाइयो? क्यानाडाको राजदूत पदमा परराष्ट्र सेवा बाहिरबाट राजदूत चयन गरिएन? कार्यकाल सकिन लागेको व्यक्तिलाई ‘करिअरवाला राजदूत भन्ने कि राजनीतिक नियुक्तिवाला राजदूत?’ उनलाई यस्ता प्रश्न पनि सोधिएका थिए। 

‘मलाई राजदूत सिफारिस गर्ने कुराको म आफै निर्णयकर्ता होइन, सरकारले सिफारिस गरेको हो,’ उनले जवाफ दिए, ‘परराष्ट्रसचिवलाई राजदूत बनाइने प्रचलन २००७ देखि नै चल्दै आएको छ, सरकारले यही प्रचलनलाई निरन्तरता दिएको होला। सरकारले चाहेको भए परराष्ट्र सेवा बाहिरबाट नियुक्त गर्न अवश्य सक्थ्यो।’  

पौड्यालका भनाइमा क्यानडामा नेपाली डायस्पोरा फैलिँदोक्रममा छ। अहिले नै त्यहाँ ६० हजार नेपाली छन्। तर, ओटावास्थित नेपाली दूतावासमा कर्मचारी दरबन्दी राजदूतसहित तीन जनाको मात्र छ। 

‘आफै परराष्ट्रसचिव हुँदा किन दरबन्दी बढाउन प्रयास गर्नुभएन?’ सांसदहरुको प्रश्न थियो, ‘यति थोरै दरबन्दीका भरमा कसरी नेपाली डायस्पोरालाई सेवा दिनुहुन्छ?’ 

‘नेपाली डायस्पोराबीच विभिन्न खालका नेटवर्क छन्,’ उनले भने, ‘त्यो नेटवर्कको परिचालन हाम्रो कामलाई प्रभावकारी बनाउन निकै उपयोगी हुनेछ। मेरो कूटनीतिक अनुभवका आधारमा ममा कन्फिडेन्स छ कि, राजदूतावासको टिम सानो भए पनि नेपाली डायस्पोराको नेटवर्कलाई उपयोग गरी प्रभावकारी सेवा दिन सक्नेछौँ।’  

‘नेपाल सरकारलाई आएको स्विट्जरल्यान्डको छात्रवृत्ति आफ्नी छोरीलाई उपलब्ध गराउनु भएको भन्ने उजुरी परेको छ,’ एमाले सांसद दाहाल र कांग्रेस सांसद जीवन परियारले सोधे, ‘छात्रवृत्तिबापत मासिक ६ लाख र आवासको सुविधा पनि छ रे! कुरा के हो?’   

२०४४ देखि निजामती सेवामा प्रवेश गरेका र दुई दशक भन्दा बढी समय परराष्ट्र सेवामा बिताएका सचिव पौड्यालले यो प्रश्नको जवाफ दिनुअघि ‘इमान्दार राष्ट्रसेवक’ का रुपमा प्रस्तुत गर्नुबाहेक आफूबारे खासै केही बताएका थिएनन्। 

तर, उजुरीकर्ताको हवाला दिँदै जब उनीमाथि यस्तो प्रश्न सोधियो आफू र परिवारको सन्दर्भमा बोल्न उनी बाध्य भए। खासमा जुन छोरीको छात्रवृत्तिको प्रसङ्ग उठाएर उनीमाथि प्रश्न गरिएको थियो, खासमा तिनले आफ्ना पिता (सचिव पौड्याल) को पेसागत इमान्दारी र राष्ट्रपतिको निष्ठामाथि प्रश्न नउठोस् भनेर उनले सम्झौता गरेकी रहिछन्। 

‘उनी हाम्रा दुई छिमेकी (भारत र चीन) वा संसारका प्रभावशाली र विकसित मुलुकमा पनि पढ्न जान सक्थिन्, हाम्रो मुलुकको अवस्थिति र मेरो जिम्मेवारी (परराष्ट्रसचिव) का कारण मैले छोरीहरुलाई ती देशमा नगइदेऊ भनेँ,’ उनले भने, ‘उनले हाम्रो आग्रह स्वीकार गरिन्। र, कसैले आक्षेप लगाउन नसक्ने मुलुकमा प्रतिस्पर्धाका आधारमा आधा मात्र छात्रवृत्ति पाउने गरी गइन्।’ 

सुनुवाइका क्रममा पौड्याल नेपाल–क्यानडा सम्बन्ध, राजदूतका हैसियतमा आफ्नो कार्ययोजना लगायतका विषयमा केन्द्रित हुन खोजिरहेका थिए। तर, सांसदहरुका कतिपय प्रश्नले उनलाई आफ्नैबारे जवाफ दिन बाध्य पारिरहेको थियो। एउटा प्रश्न यस्तै थियो, ‘परराष्ट्र सचिव हुँदा के–के गर्नुभयो र अहिले राजदूत भएर जाँदै हुनुहुन्छ?’  

यो प्रश्नको जवाफ उनले आफ्ना दुई हैसियत (परराष्ट्रसचिव र सामान्य नेपाली नागरिक) लाई संयोजन गरेर दिए। 

‘इराक, लिबिया, अफगानिस्तान, युक्रेनजस्ता मुलुकमा द्वन्द्वका कारण रोजगारीका लागि गएका नेपालीहरुको जीवनको सुरक्षा संकटमा पर्यो, तर हामीले कूटनीतिको माध्यमबाट हजारौँ नेपालीहरुलाई बिना आर्थिक व्ययभार सुरक्षित गराउन सक्यौँ,’ उनले भने, ‘मेरो बुबाले पढाएकाले पो म यहाँसम्म आइपुग्न सकेँ, नत्र म पनि इराक, लिविया, अफगानिस्तानमा हुन्थेँ। यही कुरा सोचेर हामीले उनीहरुलाई उद्धार गर्यौँ।’ 

राप्रपा नेता पशुपति शमशेर राणाले समितिको जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका थिए। पौड्यालका जवाफ उनी गम्भीरतापूर्वक सुनिरहेका थिए। सुनुवाइ अन्तिमतिर पुग्दै गर्दा राणाको ध्यान पौडेलको एक वाक्यले थप आकर्षित गर्यो। त्यो वाक्य ‘म शासक परिवारबाट होइन, सामान्य परिवारबाट आएको हुँ’  भन्ने थियो।    

एमाले सांसद महेश बर्ताैलाको जिज्ञासाको जवाफ दिने क्रममा पौड्यालले उक्त शब्दावली प्रयोग गरेका थिए। बर्तौलाको जिज्ञासा थियो, ‘तपाईं मन्त्रालयभित्र ‘टिम वर्क’ लाई प्रश्रय दिनुहुन्न, कर्मचारीहरुको वृत्तिविकासमा सहयोग गर्नुहुन्न भन्ने गुनासो छ। यो कुरा के हो?’  

‘म निजामती सेवामा प्रवेश गर्दा मेरो परिवारका कोही सरकारी सेवामा थिएनन्, मावली र ससुरालीतिरका पनि थिएनन्, अहिले बल्ल नातेदारमध्ये एकाध अधिकृत भएका छन्,’ उनले जवाफ दिए, ‘म सामान्य परिवारबाट आएको हुँ, शासक परिवारबाट होइन। यस्तो व्यक्तिले आफ्ना सहकर्मीहरुको वृत्तिविकासमा सहयोग गरेन भन्ने कुरा आरोपका लागि लगाइएको आरोप मात्र हो।’
  
उनको जवाफपछि आफ्नो प्रश्नप्रति कतिपय सांसदहरुलाई पछुतो भयो, सायद। त्यसैले कांग्रेस सांसद परियारले भने, ‘हामीले समितिमा परेको उजुरीका आधारमा यी प्रश्न सोधेका हौँ। कृपया हाम्रा जिज्ञासालाई अन्यथा नलिइदिनु होला। तपाईंको जवाफप्रति हामीलाई पूर्ण विश्वास छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .