राजनीति


प्रधानमन्त्रीको सचिवालयबाट एकैचोटि १८ कर्मचारी कटौती

प्रधानमन्त्रीको सचिवालयबाट एकैचोटि १८ कर्मचारी कटौती

नेपालखबर
पुस २६, २०८० बिहिबार ११:५६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयबाट ठूलो संख्यामा कर्मचारी कटौती गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयबाट सरकारी र निजीसमेत १८ जनालाई मंगलबारदेखि जिम्मेवारी हटाइएको स्रोतले जनाएको छ।

‘पीएम (प्रधानमन्त्री) को सचिवालयमा रहेका विभिन्न पदका १८ जनालाई हटाइएको छ’, स्रोतले नेपालखबरसँग भन्यो, ‘प्रधानमन्त्रीज्यूले सचिवालय चुस्त बनाउन सो कदम चाल्नुभएको हो।’

प्रधानमन्त्रीको सल्लाहकार सचिवालयमा ५, स्वकीय सचिवालयमा ३१ र निजी सचिवालयमा ४ जना थिए। 

जसमध्ये सरकारीतर्फका १० र निजीतर्फका ८ जनालाई हटाइएको स्रोतले जनाएको छ। 

हटाइएकामा जनसम्पर्क सल्लाहका देवेन्द्र पराजुली, प्रशासन सल्लाहकार रामदीप आचार्यदेखि प्रेस संयोजक नारायणप्रसाद ढु‌ंगानासम्म छन्।

पराजुली  र आचार्य राज्यमन्त्री सरहको सुविधा पाउनेगरी वैशाख ४ गते प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएका थिए। यस्तै ढु‌ंगाना सहसचिव सरहको सुविधा पाउनेगरी गत पुस २८ गते नियुक्त भएका थिए।

अघिल्लो वर्ष पुस १० गते प्रधानमन्त्री पदमा भएका प्रचण्डले सुरुमा ७ सदस्यीय सचिवालय बनाएका थिए। जसमध्ये ढुंगाना मात्र हटाइएका छन्। 

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य, परराष्ट्र सल्लाहकार रूपक सापकोटा, प्रमुख स्वकीय सचिव सन्तकुमार दरै, स्वकीय सचिव रमेश मल्ल र गंगा दाहाल भने यथावत् छन्। यसैगरी स्वकीय सहसचिव रहेका प्रेस विज्ञ मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेल पनि जिम्मेवारीमै छन्।

प्रधानमन्त्रीको सचिवालयमा रहेका स्वकीय उपसचिव रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल र सावित्रीकुमारी अधिकारी पनि हटाइएका छन्। उनीहरुलगायत ८ जनालाई सचिवालयबाट हटाउने निर्णय भइसकेको स्रोतको दाबी छ। 

गुरागाईं अघिल्लो वर्ष माघ १ गते, पौडेल र अधिकारी चैत २३ गते प्रधानमन्त्री कार्यालयमा नियुक्ति पाएका थिए।

यसैगरी कलबहादुरनाथ पनि प्रचण्डको सचिवालयबाट हटाइएका छन्। उनी पनि उपस्वकीय सचिवका रुपमा कार्यरत थिए।

स्रोतका अनुसार सरकारतीतर्फ स्वकीय शाखा अधिकृत पुनम खड्का, दीपेन्द्र खड्का र लाल कुमाल तथा प्रशासन सहायक रामलाल पराजुली र युवराज शाह, कम्प्युटर सहायक वासुदेव शर्मा र खड्ग ओलीलगायत १० जनालाई फिर्ता गरिएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सचिवालय कटौती गर्ने तयारी भइरहेको मात्र बताए।

‘निर्णय भइसकेको होइन, कटौती गर्ने तयारी हो, प्रधानमन्त्रीले आफैँ अध्ययन गरिरहनुभएको छ’, आचार्यले भने।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले भने माघदेखि लागू हुनेगरी सचिवालयका कर्मचारी घटाउने तयारी भइरहेको बताए। 

‘माघ १ देखि कर्मचारी घटाउने हो,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले सत्ता चलाएको एक वर्ष पुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ६८ जना कर्मचारी कटौती गरेका थिए।

यसैगरी उनले मन्त्रिपरिषद् बैठकमा लाग्ने खाजा खर्च वार्षिक ६० लाख रुपैयाँसमेत कटौती गरेका थिए। 

स्रोतहरुका अनुसार निजी सचिवालयमा राखिएका धेरै जनाबाट सन्तोषजनक काम नभएकाले हटाइएका हुन्। 

मन्त्रीसरहको सुविधामा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बनेका हरिबोल गजुरलले भने मंसिर २० गते पदबाट राजीनामा दिएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .