राजनीति


माघीमा प्रधानमन्त्रीको सन्देश : संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको कार्यभार

माघीमा प्रधानमन्त्रीको सन्देश : संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको कार्यभार

फाइल तस्बिर


नेपालखबर
माघ १, २०८० सोमबार ८:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक सद्भाव, एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। 

माघे संक्रान्ति पर्वको अवसरमा सोमबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरुले आ–आफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रुपमा माघे सङ्क्रान्ति तथा माघी पर्व मनाउने गरेको उल्लेख गरेका छन्।

उनले माघे संक्रान्ति पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन्।   

‘भौगोलिक रुपले यति सानो मुलुकमा हामीले जुन जातीय, भाषिक, सांस्कृतिक विविधता प्राप्त गरेका छौँ, यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति हो,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘माघे सङ्क्रान्ति पर्व खस–आर्य, मगर, राई, थारु, लिम्बु, नेवार, गुरुङ, मैथिली, कुमाल लगायतका जाति जनजातिहरुको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्व हो। यस अर्थमा पनि माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्दछन्।’

प्रधामन्त्रीले नेपाली जनताको सात दशक लामो न्यायपूर्ण सङ्घर्षको बलमा जनताका प्रतिनिधिहरुको सामूहिक विवेकद्वारा निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै स्वाधीनतासहितको समृद्ध नेपालको परिकल्पना गरेको उल्लेख गरेका छन्। 

‘संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै विविधतामा एकता हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो,’ उनको सन्देशमा भनिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .