ad ad

राजनीति


श्रीमतीको सहारामा सार्वजनिक बसमा संसद् धाइरहेका माननीय

‘खम्बु सर’ भन्छन्– सांसदको जीवन त नाटकीय पो हुँदो रहेछ
श्रीमतीको सहारामा सार्वजनिक बसमा संसद् धाइरहेका माननीय

तस्बिर/भिडिओ : सरोज नेपाल


रुपक चौलागाईं
माघ २४, २०८० बुधबार ७:१३, काठमाडौँ

२०६५ साल जेठको कुरा हो। प्राध्यापक डा. कालुराम राई (केआर खम्बू) बिर्ता उच्च माविका विद्यार्थीहरूलाई लिएर कोसीटप्पुमा शैक्षिक भ्रमणमा पुगेका थिए।

सर्प, भ्यागुता र छेपाराबारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका राईले दिनभर विद्यार्थीहरूलाई पर्यावरण र जैविक विविधताबारे बताए। देखाए। 

भ्रमण सकिएपछि विद्यार्थीहरूलाई उनले गाडी चढाएर घर पठाए। आफू भने मोटरसाइकल हाँकेर फर्किन थाले।

तर, त्यो यात्रा उनका लागि भयानक दुस्वप्न बन्न पुग्यो।

‘घर पुग्नै लाग्दा आँखाबाट जुनकिरी उडेर गएजस्तो भयो र एकदमै पोल्न थाल्यो,’ राईले सुनाए, ‘के भयो भयो, त्यो क्षण सम्झनै सक्दिनँ। एक्कासि आँखा पोल्यो र रातो भयो। जीन्दगी त अनिश्चित हुँदो रहेछ।’

त्यस दिनदेखि राईले आँखा देखेका छैनन्।

भिडिओ

‘जीवनसाथी भनेको जीवन नै रहेछ। जीवनसाथी नहुँदा जीवन नै छैन,’ कुराकानीको बीचमा उनी भावुक भए। एकछिन रोकिए अनि दोहोर्‍याएर ठोकुवा गरे, ‘साथी मात्रै होइन, जीवन नै हो।’

हुन पनि उनका लागि ‘जीवनसाथी’ शब्दको अर्थ निकै फराकिलो छ।

शुभलक्ष्मी राईसँग उनको विवाह ०४१ सालमा भएको थियो। जिन्दगी त साथ बित्यो, बित्यो, बुढेसकाल लाग्दै जाँदा उनी श्रीमतीमा अझ ज्यादा निर्भर भएका छन्।

सांसद बनेपछि राई भक्तपुर मध्यपुरथिमीमा नेपाल कोरिया मैत्री अस्पतालको छेवैमा डेरा लिएर बसेका छन्। राईसँग संसद् आउजाउ गर्न आफ्नै सवारी साधन छैन। सधैँ सार्वजनिक यातायातमै उनी नयाँ बानेश्वर र सिंहदरबार पुग्ने गर्छन्।

श्रीमती शुभलक्ष्मीले नै उनलाई डोर्‍याएर संसद् भवनभित्र पुर्‍याउँछिन्। एउटा हातमा सेतो छडी र अर्को हातमा श्रीमतीको हात : उनको सहारा यिनै हुन्।

संसद् सचिवालयले शुभलक्ष्मीलाई राईको स्वकीय सचिव नियुक्त गरेको छ। शुभलक्ष्मीलाई सुरु–सुरुमा अलिक अप्ठेरो पनि लाग्थ्यो रे! 

‘अहिले त असजिलो लाग्दैन, सिंहदरबार पुगेपछि सबैजसो चिनेजानेकै साथीहरू भेटिन थालेका छन्,’ शुभलक्ष्मीले भनिन्। 

शुभलक्ष्मीको निरन्तरको साथले अहिले राईलाई जीवनदेखि अत्यास लाग्न छाडेको छ। 

३६ वर्ष प्राध्यापनमा बिताएका राई विद्यार्थी कालदेखि नै वाम राजनीतिमा जोडिएका थिए। प्राध्यापनमा रहँदा उनी सांसद बन्ने अनि शिक्षामन्त्री बनेर शिक्षा प्रणाली सुधार्ने सपना देख्थे। 

सांसद बन्ने रहर त उनको पूरा भयो, तर आँखाको ज्योति गुमेपछि। प्रा.डा. राईलाई एमालेले समानुपातिक सांसद बनाएर संघीय संसदमा प्रवेश गराएको हो।

‘उहाँको धोको त शिक्षामन्त्री बन्ने नै थियो, ज्योति गुमेपछि अहिले त्यो कुरा गर्न छाड्नुभयो,’ नजिकै बसेर कुरा सुनिरहेकी श्रीमती शुभलक्ष्मीले सुनाइन्। 

माया मारेका बुवा विश्वयुद्धबाट फर्किए
उनका बुवा विष्णुध्वज बेलायती सेनाका जागिरे थिए। 

नेपाल सरकारको झार्लाङ्गे (अनिवार्य सैनिक भर्ना) मा परेर बुवा बेलायती सेनामा गएका थिए। त्यतिबेला १६ वर्षमाथि र ४० वर्षमुनिका युवा बेलायती फौजीमा जानैपर्ने सरकारी आदेश थियो। 

उनी लाहुर गएको एक वर्षमै दोस्रो विश्वयुद्ध सुरु भयो। उनी बर्माको सीमास्थित इरावती नदीको किनारमा तैनाथ थिए।

एकदिन त्यहाँ जापानी सेनाले बमबारी गर्‍यो।

‘दुईजना काका इरावतीमै जापानको बमबारीमा बित्नुभयो। बुवाका मिल्ने साथी बालुवाभित्र पुरिनुभएछ,’ राईले भने, ‘बमबारी रोकिएको धेरै समयपछि बालुवामुनि अलिअलि चलेको अवस्थामा बुवा भेटिनुभएछ।’

बालुवा मुनिबाट बौरिएर उठ्दा चारैतिर उनले कहालिलाग्दो दृश्य देखेछन्।

‘बुवा त्यो युद्धबाट बचेपछि अब मान्छे मार्ने काम नगरौँ भनेर हातहतियार र रगतले लतपतिएको लुगा फालेर हिँड्नुभएछ,’ राईले सुनाए।

त्यहाँबाट भागेर कोलकाता हुँदै मालगाडीमा चढेर निकै वर्षपछि ‘भारत छोड अभियान’को सहारामा उनका बुबा घर आइपुगे।

‘भारत स्वतन्त्र भएपछि मात्रै बुवा ७/८ सालतिर साधुको ड्रेसमा आउनुभयो। घरमा मरिसकेको मान्छे फर्केर आयो भनेर भागाभाग समेत चल्यो,’ उनले सुनाए। 

राजनीतिक गुरु 
राई कक्षा ८ मा पढ्दै थिए। नजानिँदो किसिमबाट उनी राजनीतिमा प्रवेश गर्दै थिए। 

त्यतिबेला स्कुलमा योग्यता पुगेका शिक्षक भेटिँदैनथे। यही विषयमा आन्दोलन गर्ने तयारी भयो। त्यतिबेला कांग्रेस र कम्युनिस्ट भनेर राजनीति दुई ध्रुवमा बाँडिएको थियो। विद्यार्थीमा पनि नेविसंघ र अनेरास्ववियु थियो। 

‘राष्ट्रियता र विद्यालयको मुद्दामा संगठन एकजुट हुन्थ्यो,’ उनले विद्यार्थी राजनीति स्मरण गर्दै भने, ‘यहीँबाट सुरु भएको राजनीतिक यात्राले मलाई ओलीसँग भेट गरायो।’

‘विसं २०२७ सालतिर पारवहन सन्धिको निहुँमा भारतले नाकाबन्दी लगायो। त्यसको विरुद्धमा हामीले क्याम्पसमा आन्दोलन थालिसकेका थियौँ,’ उनले भने, ‘त्यतिबेला मेची क्याम्पसको स्ववियु सभापति सीपी मैनाली हुनुहुन्थ्यो, उहाँसँगै मुकुन्द न्यौपाने पनि क्याम्पसमा आएर भारतको विरुद्धमा आन्दोलन गर्नपर्छ भन्नुभयो।’

ओलीलाई भेटेपछि आफू निकै प्रभावित भएको उनको भनाइ छ।

‘त्यतिबेला झापामा नेपाल क्रान्तिकारी कम्युनिस्ट संगठन थियो। त्यसको नेताहरू रामनाथ दाहाल, आरके मैनाली र केपी ओली हुनुहुन्थ्यो। उहाँहरू हामीले सीपीलाई त्यहाँ पठाएको, के भएको हो त्यहाँ, भनेर सोध्न आउनुभयो,’ ओलीसँगको पहिलो भेट स्मरण गर्दै उनले भने, ‘ओलीलाई भेटेपछि मात्रै मैले पार्टी हाम्रो देशमा पनि रैछ है, भनेर बुझेँ। पार्टी के हो, कसरी काम गर्ने, भन्ने केही थाहा थिएन। उहाँहरूले नै सिकाउनुभयो।’

यसरी बने ‘खम्बू सर’
उनको नाम कालुराम राई थियो। मान्छे चाहिँ गोरो।

साथीहरू र शिक्षकहरू पनि उनलाई सोध्थे, तेरो नाम त सेतुराम हुनुपर्ने, कसले राख्यो कालुराम?

‘एसएलसी दिन हामी विराटनगर गएका थियौँ। हामी ६–७ जना साथीहरू एउटै घरमा बसेका थियौँ,’ उनले सुनाए, ‘त्यहाँ कविता लेख्ने कुरा भयो।’

कविता लेखेपछि सबैले उपनाम राख्ने कुरा चाल्यो। त्यतिबेला कविता लेख्नेहरूले उपनाम राख्ने चलन बढ्दै थियो। 

सबैले नाम राखेपछि उनले आफ्नो नामको पछाडि ‘खम्बू’ राखे। खासमा खम्बू राख्नुको पनि अर्थ थियो।

सानैदेखि गाउँमा उनको परिवार चाहिँ राई, अरु खम्बू भन्ने गरिन्थ्यो। उनलाई त्यसबारे जिज्ञासा थियो। एकदिन हजुरबुवालाई सोध्दा उनले थाहा पाए। 

हजुरबुवाले गाउँभरिको तिरो उठाउने र लगेर जिल्लामा बुझाइदिने गर्नुहुँदो रहेछ। त्यतिबेला उक्त पदलाई राई पगरी भनिन्थ्यो। सानैदेखि कम्युनिस्ट सोच बोकेका खम्बुले आफूलाई अरुजस्तै सामान्य बनाउन ‘खम्बु’ उपनाम राखेको बताउँछन्। 

‘हजुरबुवाले मलाई झपार्नुभयो। आफू ठूलो हुने टाइटल राख्नुपर्नेमा सानो हुनेगरी राख्ने भनेर गाली गर्नुभयो,’ उनी भन्छन्।

त्यसबेलादेखि नै उनी ‘केआर खम्बू’ बने।

उसो त उनका चार नाम छन्। सानैमा उनको बोलाउने नाम काशीराम थियो। स्कुलमा कालुराम लेखियो। राजनीतिमा केआर र प्राज्ञिक क्षेत्रमा खम्बु सर।

धरानबाट सुरु भएको प्राध्यापन
राई अहिले ६६ वर्षका भए। 

३६ वर्ष त्रिभुवन विश्वविद्यालय मातहतका विभिन्न क्याम्पसहरूमा अध्यापन गराएका राईलाई प्राज्ञिक क्षेत्रमा हुँदा राजनीतिमा आइएला भन्ने लागेको थिएन। 

‘राजनीति नै गरुँला भनेर सुरु गरेको त थिइनँ। मैले पढेर मात्रै नभई जागिर खाएर भए पनि परिवारलाई भरथेग गर्नुपर्छ भन्ने लागिरहेको थियो,’ उनी सुनाउँछन्। 

राईले प्राध्यापकका रुपमा पहिलो नियुक्ति धरानमा पाए। 

‘धरानमा नियुक्ति लिएर जाँदा पनि मलाई नेता आयो मात्रै भन्थे,’ उनले सुनाए, ‘यसले अब धरान सक्ने भयो भनेर मलाई काम गर्न नदिने प्रपन्च भयो।’

काठमाडौँस्थित डिन कार्यालयबाट नियुक्ति बोकेर राई धरानतिर लागे। त्यही बेलामा क्याम्पस चिफ पनि काठमाडौँ नै आएका रहेछन्। 

उनलाई सहायक क्याम्पस चिफले हाजिर गराए। क्याम्पस चिफलाई भने त्यो कुरा थाहा थिएन। 

‘त्यतिबेला डिन अफिसबाट ६–६ महिनाको नियुक्ति पाइन्थ्यो,’ उनी भन्छन्, ‘मैले नियुक्ति लगेकोबारे क्याम्पस चिफले काठमाडौँमै थाहा पाइसक्नु भएछ।’

त्यसको भोलिपल्टै धरान पुगेका क्याम्पस चिफले निराश स्वरमा राईलाई भनेका थिए, ‘हाजिर गराइहाल्नुभएछ, ठिकै छ, अब क्लासमा जानुस्।’

पीएचडी
राई नेपालमा पाइने उभयचर र सरसृप (हर्पेटो फौना) मा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन्। 

‘मभन्दा अगाडि त्यसलाई छुन पनि मान्छे मान्दैनथे’, उनी भन्छन्। 

राईले १४ वटा नयाँ सरिसृप र ६ वटा उभयचर पत्ता लगाएका छन्।

मास्टर्ससम्मको अध्ययन सकेपछि उनले काठमाडौँ आएर डिनलाई भेट। त्यतिबेला डिन कार्यालयकी प्रमुख थिए, कृष्ण मानन्धर।

उनै मानन्धरले राईको सम्भावनाबारे ब्रिफिङ गरे। उनलाई घस्रने जीवहरूको बारेमा अध्ययन गरेर विषय रोज्न सुझाए। उनैले राईलाई जर्मनीका एकजना प्रोफेसरसँग सम्पर्क गराइदिए।

युर्निभर्सिटी अफ म्युनिखका प्राध्यापक डा. हर्मन स्लाइसको सुपरभिजनमा उनले पीएचडी गरेका हुन्। 

‘अरु राम्रा राम्रा विषय सकिइहाले, यो कसलै नगरेको मलाई नै छाडेको होला भन्ने लाग्यो,’ उनी हाँस्दै भन्छन्। 

राईले बलैमा थेसिस बुझाए। चाँडै थेसिस सकेर आउनू भनेर जर्मनीबाट ‘पोस्टडक्टरल’ का लागि उनलाई निम्ता आएको थियो। तर, ६ महिनाभित्रै सकिएला भनेको थेसिस २ वर्षसम्म पनि सकिएन।

उनले पठाएका तीनवटामध्ये दुईवटा थेसिस डिन कार्यालयमा फर्किए। उनले पनि पाए। 

उनी दुई वर्षभन्दा बढी जर्मनीबाट आफ्नो थेसिसको ‘रेस्पोन्स’आउने पर्खाइमै रहे। तर, आएन।

०६२ सालतिरको कुरा हो। राई काठमाडौँ आए। डिन कार्यालयमा थेसिसबारे बुझ्न पुगे। त्यहाँ डिनले हतार–हतार उनलाई बोलाए। 

डिनले सुनाए– तपाईंको मूल्यांकन भेटियो। 

राईलाई पत्यारै लागेको थिएन।

खासमा ढिलाइ हुनुको कारण अर्कै रहेछ। विदेशबाट मूल्यांकन भएर आएका पत्रहरू नखोल्दै त्यतिबेलाका सहायक डिन डा. अम्बर गुरुङको निधन भएछ।

गुरुङको निधनपछि उनको नाममा आएका चिठी खोल्न हुँदैन भनेर डस्टबिनमा फालिएछ।

‘उहाँ त बितिसक्नुभयो, उहाँको नाममा आएको चिठी हेर्न हुँदैन भनेर त्यहाँ खोलिएनछ र डस्टबिनमा फालिएछ। पियनले ढ्वाङमा हालिदिएछ,’ राई सुनाउँछन्, ‘अर्को वैशाख आउनुअघि अर्को स्विपरले सफा गर्ने बेलामा डस्टबिनभित्रका कागज हेर्दा मात्र मेरो मूल्यांकन फेला परेछ।’

जब डाक्टरले भने : अब आँखा देख्नुहुन्न
आँखाको ज्योति गुमेपछि राई निकै चिन्तित भए। सुरुमा उपचारका लागि उनी तिलगंगा आँखा अस्पताल पुगे। 

‘त्यहाँ चिकित्सकले अब ज्योति फर्कंदैन भनेपछि मन भारी भयो,’ राई सम्झन्छन्।

उनले त्यहाँ चिकित्सकसँग झगडा समेत गरेका थिए। 

‘मलाई त आँखामा धुलो परेको छ भन्ने मात्रै लागेका थियो,’ उनी भन्छन्।

तिलगंगाका डाक्टरको निर्णयमा चित्त नबुझेपछि उनी उपचारका लागि भारतको चेन्नई पुगे। 

झण्डै दुई वर्ष चेन्नई धाएपछि उनलाई एकजना प्रोफेसरले भनेको उनी अझै सम्झन्छन्, ‘कुदरत ने जितना लेना था ले गया, जितना रखना था रखदिया है।’

झिनो आशासहित चेन्नई पुगेका राई निराश भए। श्रीमतीलाई लिएर नजिकैको समुद्र किनारमा दिनभर घुमे। अर्को दिन तिरुपति गए। 

‘त्यहाँबाट फर्किएपछि ढुक्कले बसेको छु। आँखा अस्पताल नै गएको छैन,’ उनी भन्छन्। 

खुसी फर्काउने गौतम
अचानक दृष्टि गुमेपछि राईको जीवनमा बज्रपात पर्‍यो। उनी आत्तिए। पढाउन नसक्ने भएपछि जागिर छाड्ने तयारी गर्न थाले।

उनले जागिर छाड्ने खबर सुनेछन्, हिमप्रसाद गौतमले। जो उनका साथीका भाइ थिए।

०६६ तिर गौतमले झापा पुगेर उनलाई भेटे। दृष्टि गुमे पनि सबै काम कम्प्युटबाटै गर्न सकिने उनले सुनाए।

गौतमलाई सम्झँदै उनी भन्छन्, ‘उहाँले नै कम्युटर पनि चलाउन सक्नेगरी सफ्टवेयर सेट गरिदिनुभयो।’

केही समय उनले तालिम लिए। 

‘काठमाडौँ आएर अनामनगरमा इन्टरनेट, पावर पोइन्ट, वर्ड लगायता सिकेँ,’ उनले सुनाए, ‘दुई हप्ताका लागि भनेर सिक्न थालेको एक हप्तामा नै सबै सिकेँ।’

त्यसपछि उनी आँखा नदेखे पनि देखेजसरी नै सबै काम आफैँ गर्न सक्ने भए। त्यसैको सहारामा उनले मेची बहुमुखी क्याम्पसमा एक दशक अध्यापन गराए।

‘०६८ देखि ०७७ सम्म झण्डै एक दशक पावर पोइन्टको सहायतामा पढाएँ,’ उनले भने। 

उनले आफूले गरेका अनुसन्धानका विषयहरू सबै शब्दमा उतारेका छन्। जसलाई नाम दिएका छन्, ‘अनुसन्धान यात्रा।’

उनले श्रीमतीकै सहयोगमा त्यो किताब लेखेका हुन्। 

‘उहाँलाई भिजन आउँदैन र मैले कमाएका सबै कुराहरू खेर जान्छ भन्ने चिन्ता थियो,’ शुभलक्ष्मीले भनिन्, ‘मैले जागिर खाँदै ६ महिना लगाएर उहाँको कुरा सुन्दै त्यो किताब लेखेको हुँ।’

त्यसको केही समयपछि राई आफैँले ‘छायाको लस्कर’ भन्ने किताब लेखे। जुन किताबलाई गङ्गा अधिकारी, रघुजी पन्त, नारायण वाग्ले र भुषिता वशिष्ठले क्रमशः पहिलो, दोस्रो र तेस्रो चरणमा सम्पादन गरे।

साथीहरूले ‘खम्बू सर’ले जीवनबारे लेख्नैपर्छ भनेपछि आफैँले ल्यापटपमा टाइप गरेर सो किताब लेखेको उनी बताउँछन्। 

संसद् अनुभव
गत चुनावमा उनी झापामै थिए। जागिर छाडेको दुई वर्ष पुगेको थियो। परिवार र टेलिमेसिनको सहारामा उनी राजनीतिक गतिविधिबारे जानकारी राख्थे। 

एकदिन झापाकै एमाले नेता देवराज घिमिरे (हाल सभामुख) उनलाई भेट्न पुगे। घिमिरे त्यतिबेला एमाले कोशी प्रदेशको इञ्चार्ज थिए। 

घिमिरेले उनलाई पार्टीको तर्फबाट समानुपातिक सांसद बन्न आग्रह गरे। 

राईले सुरुमा उनको प्रस्ताव इन्कार गरेका थिए। 

‘सुरुमा मैले नजाने भनेको थिएँ,’ राई सुनाउँछन्, ‘खासमा धेरैले समानुपातिकका लागि दाबी गरेका रहेछन्, मेरो नाममा सर्वसम्मत भएपछि प्रस्ताव आएछ।’

त्यसपछि उनी संसद् प्रवेश गरे। विशुद्ध प्राज्ञिक क्षेत्रमा रमाएका राईको मनमा कुतूहल थियो– कस्तो हुन्छ होला संसद् जीवन?

‘यहाँको जीवन त साह्रै औपचारिक हुँदो रहेछ, यो त नाटकीय जीवनजस्तो पो हुँदो रहेछ,’ राईले हाँस्दै थपे, ‘कानुनी नियम, दफा, उपदफा, धारा, उपधाराले त टाउकै दुखाउँदो रहेन नि!’

पछिल्लो समय बल्ल उनलाई संसद्का भाषा र बैठकमा बानी पर्दै गएको छ। उनी नियमित संसद् र समितिका बैठकमा पुग्छन्। तर, संसदमा प्रतिपक्षका सांसदहरू निरीह बनेको उनको अनुभव छ।

‘प्रतिपक्षका सांसदहरू त निरीह नै हुँदा रहेछन्,’ राई भन्छन्, ‘जति नै उफ्रीपाफ्री गरे पनि, घेराउ गरे पनि केही सुनुवाइ नहुँदो रहेछ।’

संसदमा शक्तिको खेल देखेर उनले निकालेको निष्कर्ष छ, ‘जसको लाठी, उसकै भैँसी छ।’

सांसदप्रति जनधारणा राम्रो छैन। तर, सबैलाई एउटै घानमा हालेर हेर्नुहुन्न भन्छन् राई।

‘सांसद् बनेर मैले राष्ट्रलाई घाटा पारेको छैन, सांसदहरूले भत्ता मात्रै लिन्छन् भन्ने जुन बुझाइ छ, त्यो मेरो लागि लागू हुँदैन,’ उनले भने।

प्रविधिमा निपुणताले उनलाई धेरै सहज भएको छ। बैठकहरूमा उनी ल्यापटप लिएर जान्छन्, सांसदले बोलेका महत्वपूर्ण विषय खरर टाइप गर्छन्।

उनी ज्यादाजसो अपांगता, पर्यावरण, जीवजन्तुलगायतमा सरोकार राख्ने विषयमा धारणा राख्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .