ad ad

राजनीति


संसद्‌मा प्रधानमन्त्री बन्छु भन्दै ठट्टा गरेका विराजभक्त बने खेलकुदमन्त्री

संसद्‌मा प्रधानमन्त्री बन्छु भन्दै ठट्टा गरेका विराजभक्त बने खेलकुदमन्त्री

रुपक चौलागाईं
फागुन २३, २०८० बुधबार २१:६, काठमाडौँ

गत माघ २४ गते। संघीय संसदको प्रतिनिधि सभामा सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी विधेयकमाथि छलफल भइरहेको थियो।

छलफलमा भाग लिन पुगेका एकजना सांसदले रोष्ट्रमबाट दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा खुब भाइरल बन्यो। सांसद थिए– रास्वपाका विराजभक्त श्रेष्ठ। 

उनलाई छलफलमा भाग लिन बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले समय दिइन्। विराजभक्तलाई रानाले ३ मिनेटको समय दिएकी थिइन्। सांसद श्रेष्ठ उक्त विधेयकमाथि प्रश्न राख्दै थिए। 

उनी लगानी र लगानीकर्ताको स्थिति हेर्दा नेपालमा भविष्य राम्रो नभएको गुनासो गरिरहेका थिए। सभामुख रानाले उनको समय सकिएको जानकारी गराइन्। 

त्यसपछि उनको जवाफ थियो, ‘सभामुख महोदय, भूतपूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीलाई मात्रै होइन, अब भविष्यमा हुनसक्ने प्रधानमन्त्रीलाई पनि अलि समय चाहिँ मिलाउनुपर्‍यो।’

संसद् बैठकमै रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र सह–प्रवक्ता मनिष झाले हाँसोको फोहोरा छुटाउँदै टेबुल ठोके। 

पार्टीका अर्का सांसद मनिष झाले केही दिनअघि जनकपुर महोत्सवमा पनि यो प्रसंग उप्काए। बाल्यकालदेखि नै विराजभक्तलाई जात्रा मनपर्ने प्रसंग झाले सुनाए।

चुनावको बेलामा विराजभक्तले भनेको स्मरण गर्दै उनले भने, ‘विराजले भन्थ्यो, बच्चामा जहाँजहाँ जात्रा देख्थेँ, त्यो त्यो ठाउँ पुुग्न मन लाग्थ्यो। अब मलाई जिताइदिनुस्, जहाँजहाँ पुग्छु, त्यहाँत्यहाँ जात्रा गरिदिन्छु भन्यो। अहिले उसले सदनमा जात्रा पनि गरिरहेको छ।’

उनले केही दिनअघि मात्रै संसदमा श्रेष्ठको भनाइ स्मरण गर्दै सो कुरा बताएका थिए।

संसदमा भविष्यको प्रधानमन्त्री हुन्छु भनेका श्रेष्ठ मन्त्री बनेका छन्। उनलाई रास्वपाले युवा तथा खेलकुदमन्त्री बनाएको छ। उनी पहिलो पटक मन्त्री बनेका हुन्।

श्रेष्ठ गत प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी काठमाडौँ क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका थिए। 

रास्वपाबाट निर्वाचन लडेका विराजभक्त त्यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए। २०७४ को निर्वाचनअघि उनी उज्ज्वल थापासँगै सो पार्टीको अभियानमा लागेका थिए।

विराजभक्त २०७४ सालको प्रदेश सभा निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीबाट समानुपातिक सांसद बनेर बागमती प्रदेश सभा सदस्य बनेका थिए। काठमाडौँमा भएको गुठी विधेयक विरुद्धको आन्दोलन, अकुपाइ टुँडिखेल लगायतका अभियानमा जोडिएका उनले प्रदेश सभामा पनि चर्को आवाज उठाउने गरेका थिए। 

बागमती प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा रहेर समेत उनले काम गरेका थिए। 

नेपाल तेक्वान्दो संघ, काष्ठमण्डप पुनर्निर्माण समिति र हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन कार्यदलमा रहेर काम गरेको अनुभव उनीसँग छ। 

उनी ‘बिजनेस एड्मिनिस्ट्रेसन’मा स्नातक हुन्। उनले विभिन्न होटल–रेस्टुराँ पनि चलाए। 

अस्पताल, कम्पनी र विभिन्न परियोजनामा व्यवस्थापकको जागिरे बनेका श्रेष्ठ विवेकशीलका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजावादी दस्तावेज ल्याएपछि अलग भएका थिए।

उनी अहिले रास्वपामा संसदीय दलको उपनेताको भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .