राजनीति


बोआओ फोरममा जाने अधिकारी टुंगो नलाग्दा अप्ठेरोमा बेइजिङस्थित नेपाली दूतावास

हङकङ, बोआओ, छन्दु, यिउ र ग्वान्झाओमा नेपाल ‘प्रि–इन्भेस्टमेन्ट समिट’ आयोजना
बोआओ फोरममा जाने अधिकारी टुंगो नलाग्दा अप्ठेरोमा बेइजिङस्थित नेपाली दूतावास

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ


सीताराम बराल
चैत १, २०८० बिहिबार २२:४१, बेइजिङ

प्रत्येक वर्ष चीनले आयोजना गर्ने ‘बोआओ फोरम फर एसिया’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व कसले गर्ने भन्ने सन्दर्भमा नेपाल अझै अनिर्णीत रहँदा मित्रराष्ट्र चीनसँगै बेइजिङस्थित नेपाली राजदूतावासलाई समेत अप्ठेरो पर्न थालेको छ। 

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा फोरमकै आसपासमा नेपाली राजदूतावास बेइजिङले एउटा महत्वपूर्ण कार्यक्रम आयोजना गरेको छ। काठमाडौँमा १६—१७ वैशाख (२०८१) मा हुने इन्भेस्टमेन्ट समिटको तयारीको क्रममा बेइजिङस्थित नेपाली राजदूतावासको आयोजनामा ‘प्रि–इन्भेस्टमेन्ट समिट’ हुन लागेको हो।

तर, बोआओ फोरममा नेपालको प्रतिनिधित्व कसले गर्ने भन्ने टुंगो नहुँदा बेइजिङमा दूतावासले आयोजना गर्ने कार्यक्रममा पनि राजदूतावासको तर्फबाट सहभागी रहने अधिकारीहरुको टुंगो लगाउन कठिन परेको छ। 

यस वर्षको बोआओ फोरम यही मार्च २६–२९ (१३–१६ चैत्र) मा हुने घोषणा आयोजकहरुले गत नोभेम्बरमै गरिसकेका छन्। उता बोआओमा फोरमको सुरुवात हुने दिन १३ चैत्रकै दिन नेपाली राजदूतावासले ‘प्रि–इन्भेस्टमेन्ट समिट’ को तयारी धेरै अघिदेखि गरेको छ। 

काठमाडौँमा आगामी १६–१७ वैशाखमा हुने नेपाल इन्भेस्टमेन्ट समिटको पूर्वतयारीको रुपमा गर्न लागिएको ‘प्रि–इन्भेस्टमेन्ट समिट’ मा नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएका र लगानी गर्न चाहने चिनियाँ व्यवसायी र लगानीकर्ताहरु निम्त्याइएका छन्। 

‘प्रि–इन्भेस्टमेन्ट समिट’ मा लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट सहभागी हुँदैछन्। बेइजिङअघि यस्तै प्रकारको कार्यक्रम १० चैत्रमा हङकङ, १२ चैत्रमा छन्दु, १५ चैत्रमा यिउ र २९ चैत्रमा ग्वान्चौमा आयोजना गरिएको छ। बेइजिङबाहेकका कार्यक्रममा बोर्डका अन्य अधिकारीहरु सहभागी हुनेछन्।

कार्यक्रममा चीनका महत्वपूर्ण व्यवसायी र लगानीकर्ताहरुलाई निम्तो दिइएको छ। स्रोतका भनाइमा नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्न उनीहरुको सुझावसमेत समेटेर दूतावासले प्रतिवेदनसमेत बोर्डमा पठाइसकेको छ। 

नेपाली राजदूतावास आयोजक भएकोले कार्यक्रममा राजदूत विष्णुपुकार श्रेष्ठ नै सहभागी हुँदा बढी उपलब्धिमूलक हुन्छ। राजदूत उपस्थित हुँदा चिनियाँ व्यवसायी र लगानीकर्ताहरुले पनि सम्मानित महसुस गर्छन्। 

तर, बोआओ सम्मेलनमा नेपालको प्रतिनिधित्व कसले गर्ने भन्ने अनिश्चयले गर्दा ‘प्रि–इन्भेस्टमेन्ट समिट’ मा राजदूत श्रेष्ठ आफै उपस्थित हुन सक्छन् सक्दैनन् भन्ने अनिश्चित भएको छ। किनकि, बोआओमा नेपालबाट उच्च राजनीतिक तहबाटै सहभागिता हुने भयो भने उनी त्यसतर्फ जानुपर्ने हुन्छ। 

‘प्रधानमन्त्री, उपप्रधानमन्त्री वा मन्त्रीले बोआओमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने भयो भने राजदूत पनि उपस्थित हुनुपर्ने हुन्छ,’ राजदूत श्रेष्ठले भने, ‘त्यो स्थितिमा बेइजिङमा हुने कार्यक्रममा राजदूत सहभागी हुने स्थिति बन्दैन।’ 

राजदूतावासले ‘प्रि–इन्भेस्टमेन्ट समिट’ को मिति चयन सत्ता गठबन्धनमा उथलपुथल सिर्जना हुनुअघि गरेको थियो। यसअघि सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएकाले फोरममा सहभागी हुन मध्यमतहका अधिकारी बोआओ आउने अनुमान थियो। 

त्यो स्थितिमा राजदूत श्रेष्ठ ‘प्रि–इन्भेस्टमेन्ट समिट’ का लागि बेइजिङमै रहने र उपनियोग प्रमुख सुरेन्द्र यादव नेपाली प्रतिनिधिमण्डलमा सहभागिताका लागि बोआओ जाने सम्भावना रहन्थ्यो। 

तर, नेपालमा अकस्मात गठबन्धन–राजनीतिमा उथलपुथल सिर्जना भयो। कांग्रेस–माओवादी गठबन्धनको साटो एमाले–माओवादी गठबन्धनको सरकार निर्माण भयो। 

एमाले–माओवादीसहितको गठबन्धन सरकार निर्माण भएलगत्तै प्रधानमन्त्री नै नभए पनि त्यसपछिका उच्च अधिकारीको भ्रमणको सम्भावना बढेको छ। 

‘प्रधानमन्त्रीले चीन भ्रमण गरिसक्नु भएको छ, प्रधानमन्त्रीज्यूपछिको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने उच्च अधिकारी उपप्रधानमन्त्री वा परराष्ट्रमन्त्रीज्यू हो,’ राजदूत श्रेष्ठले नेपालखबरसँग भने, ‘अहिले उपप्रधानमन्त्रीज्यूले नै परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँ नै आउनुहुने भयो भने म पनि बोआओ पुग्नुपर्ने हुन्छ।’ 

बेइजिङमा प्रि–इन्भेस्टमेन्ट समिट राखिएकै दिन बोआओ फोरमको उद्घाटन हुने भएकाले राजदूत श्रेष्ठले दुवैतिर उपस्थिति जनाउन सक्ने स्थिति छैन।

‘ठूलो संख्यामा चिनियाँ लगानीकर्ता र व्यवसायीहरुलाई निम्त्याएका छौँ, त्यसैले पूर्वनिर्धारित मिति परिवर्तन गर्न सकिने स्थिति पनि छैन,’ उपनियोग प्रमुख यादवले भने, ‘धेरै पहिले तय भइसकेको कार्यक्रम हो, हाम्रो अनुकूलता हेरेर मिति परिवर्तन गर्दा विश्वसनीयता पनि रहँदैन।’ 

जिम्मेवारी बाँडफाँट गरेर भए पनि दूतावासका अधिकारीहरुले बोआओ फोरम र बेइजिङको प्रि–समिटमा दुवैतिर सहभागिता जनाउने योजना बनाएका छन्। तर, फोरम सुरु हुन १२ दिन मात्र बाँकी रहँदा अझै नेपालको प्रतिनिधित्व कसले गर्ने भन्ने टुंगो नलागेकाले दूतावासलाई असहज चाहिँ भइरहेको छ। 

राजदूत श्रेष्ठका भनाइमा यो अनिश्चयको स्थिति थप लम्बिने सम्भावना भने कम छ। 

‘किनकि एकदुई दिनमै बोआओमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व कसले गर्ने भन्ने कुराको टुंगो लाग्छ,’ उनले भने, ‘त्यसपछि हामी पनि बोआओमा को जाने र प्रि–समिटका लागि बेइजिङमा को रहने भन्ने कुराको टुंगो लगाउछौँ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .