ad ad

राजनीति


बंगलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा

बंगलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा

बंगलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल भ्रमणमा आएका छन् (तस्बिरः चन्द्रकला भण्डारी/रासस)


नेपालखबर
चैत १०, २०८० शनिबार १४:३१, झापा

बंगलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै आज नेपाल भ्रमणमा आएका छन्।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार काठमाडौँमा आजदेखि आयोजना हुने नेपाल र बङ्गलादेशबीच मन्त्रिस्तरीय वार्तामा सहभागी हुन बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहनमन्त्री चौधरी काँकडभिट्टाको स्थलमार्ग हुँदै नेपाल आएका हुन्। 

सो अवसरमा उनले यहाँस्थित सुक्खा बन्दरगाहको अवलोकन गरे।

मन्त्री चौधरीलाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी र काँकडभिट्टा सुक्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले नेपाल तथा बंगलादेशबीचको पारवहन मार्गको सञ्चालन, द्विदेशीय व्यापारलगायत विषयमा जानकारी गराएका थिए।

मन्त्री चौधरी नेपाल–बङ्गलादेशबीचको स्थल पारवहन मार्गको बंगलादेशी नाका बङ्गलाबन्ध हुँदै भारत आएका थिए।

नेपाल आउनुअघि उनले भूटानको फुन्चोलिङस्थित नवनिर्मित सुक्खा बन्दरगाहको पनि अवलोकन गरेको बताइएको छ।

कोभिड–१९ महामारीका कारण भएको बन्दाबन्दीपश्चात् पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न चाहने भूटानी नागरिकबाहेक तेस्रो मुलुकका नागरिकलाई भारतले प्रवेशाज्ञा अनुमति दिएको थिएन।

चार वर्षयता पूर्वी नाका भएर नेपाल आउने उनी पहिलो बंगलादेशी उच्चस्तरीय पाहुना हुन्। 

मन्त्री चौधरीको नेतृत्वमा आएको नौ सदस्यीय प्रतिनिधिमण्डललाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी, बन्दरगाहकी प्रमुख सुवेदी, काठमाडौँस्थित बङ्गलादेशको दूतावासका उपप्रमुख इसरात जहानलगायतले स्वागत गरे।

बंगलादेशको प्रतिनिधिमण्डलमा बङ्गलादेश स्थल बन्दरगाह प्राधिकरणका अध्यक्ष महम्मद जिलुर रहमान चौधरी, बंगलादेश पारवहन मन्त्रालयका संयुक्त सचिव मुन्सी महम्मद मोनिरुज्मान, बङ्गलादेश स्थल बन्दरगाह प्राधिकरणका सञ्चालक समितिका सदस्य जियाउद्दिन अहमद भुइयान, बङ्गलादेश पारवहन मन्त्रालयका वरिष्ठ सूचना तथा जनसम्पर्क अधिकृत महम्मद जाहगिर आलम खान, बंगलादेशको विदेश मन्त्रालयका सहसचिव महम्मद माहादे आलम बिन्टु, बङ्गलादेश स्थल बन्दरगाह प्राधिकरणका सुपरीवेक्षक महम्मद हसन, आइमा इन्टरनेसनल बिडी लिमिटेडका अध्यक्ष खालिलुर रहमान र पारवहनमन्त्री चौधरीका निजी सचिव महम्मद मुक्तादिर हुसेन हुन्। 

उक्त प्रतिनिधिमण्डल चन्द्रगढी विमानस्थल हुँदै आजै काठमाडौँ प्रस्थान गर्दैछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .