राजनीति


इलाम हिँड्नुअघि बालुवाटारमा प्रचण्ड र माधव नेपालबाट सुहाङलाई जितको शुभकामना

इलाम हिँड्नुअघि बालुवाटारमा प्रचण्ड र माधव नेपालबाट सुहाङलाई जितको शुभकामना

रुपक चौलागाईं
चैत १९, २०८० सोमबार ७:४, काठमाडौँ

नयाँ वर्षसँगै देशले दुई नयाँ सांसद पाउँदैछ। एकजना प्रदेशमा र एकजना संघमा। 

१५ वैशाख २०८१ को उपचुनावबाट संघीय संसद्को भवन छिर्ने यात्रामा लागेका दुई युवाको यतिबेला निकै चर्चा छ। दुवैले इलाम–२ मा आफ्नो चुनावी प्रचार तिव्र बनाइसके। 

एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बू यतिबेला मतदाताका घरघर पुगिरहेका छन्। 

तर, सत्ता गठबन्धनको एक मुख्य घटक माओवादीलाई चुनावले छोएको छैन। राप्रपादेखि स्वतन्त्र उम्मेदवारसम्मलाई पनि लागिसकेको उपचुनाव देशको तेस्रो ठूलो राजनीतिक शक्ति माओवादीलाई नलाग्नु अर्थपूर्ण देखिन्छ। 

सत्ता साझेदार दल एमालेले बिना सल्लाहै सुहाङ नेम्वाङलाई टिकट दिएको चर्चाले माओवादीका नेता कार्यकर्ता अलमलमा देखिन्छन्। तर यी दुई दलको नेतृत्वबीच उपचुनावमा सहकार्य गरेर अघि बढ्ने समझदारी पहिल्यै बनेको थियो। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग सल्लाह गरेर मात्रै सुहाङलाई उम्मेदवार बनाएका हुन्। सोही कुराको संकेत गर्दै ओलीले शनिबार उपचुनावकै सिलसिलामा आयोजित एक कार्यक्रममा माओवादीले एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी पनि गरेका थिए। 

ओलीले उम्मेदवार बनाउने निर्णय गर्नासाथ सुहाङलाई प्रचण्डसँग भेट गराएका थिए।

चैत ११ गते सचिवालय बैठकबाट इलाम २ मा सुहाङलाई उम्मेदवार बनाउने निर्णय एमालेले गर्यो। त्यसको भोलिपल्ट (चैत १२) बिहान करिब ११ बजेतिर सुहाङलाई लिएर ओली बालुवाटार पुगे। 

बालुवाटार निकट स्रोतहरूका अनुसार, सो भेटमा प्रधानमन्त्री प्रचण्डसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि थिए, जहाँ ओलीले सुहाङलाई एमालेले इलाम २ को उम्मेदवार बनाएको जानकारी दिँदै सहयोगका लागि आग्रह गरे।

ओलीको आग्रहपछि प्रधानमन्त्री प्रचण्डले सुहाङलाई जितको शुभकामना दिए। 

ओलीको साथ लागेर बालुवाटार पुगेका सुहाङसँग प्रचण्डले लामो कुरा त गरेनन्। तर, राजनीतिमा युवा आएको कुरा आफूलाई सकारात्मक लागेको भन्दै खुसी व्यक्त गरेका थिए।

सुहाङले पनि प्रधानमन्त्री प्रचण्डलाई अभिभावकत्व निभाउन आग्रह गरे। तीनै शीर्ष नेतालाई सुहाङले ‘अंकल’ सम्बोधन गरे। उनी प्रायः अग्रज नेताहरूलाई ‘अंकल’ नै सम्बोधन गरिरहेका हुन्छन्।

‘म आएँ उठेँ, बुवालाई जसरी अभिभावकत्व निभाएर उचाइसम्म पुर्‍याउनुभयो, त्यही अभिभावकत्व निभाइदिनुहोला,’ तीनै शीर्ष नेताका अघि बसेर सुहाङको कुरा सुनेका एक सहभागीले भने, ‘मलाई धेरै कुरा सिक्नु छ, केही बिराएँ भने भन्नुहोला।’

ओलीसँगै एक प्रकारको समझदारी बनाइसकेका प्रचण्डले सुहाङको नम्र स्वभावप्रति खुसी मात्रै व्यक्त गरिरहे।

माधवले पनि सुहाङलाई इलाम २ बाट जितेर आउन शुभकामना दिए। झण्डै आधा घन्टा तीन नेतासँग छलफल गरेर सुहाङ प्रधानमन्त्री निवासबाट बाहिरिएका थिए।

भेटमा प्रचण्डलाई इलाममा माओवादीको संगठन बलियो नभएको भन्दै ओलीले सहयोग गर्न अनुरोध गरेका थिए। 

गत निर्वाचनको तथ्याकं अनुसार, इलाम–२ मा माओवादीले समानुपातिकतर्फ ५ हजार १ सय ५३ मत ल्याएको थियो। यही तथ्यांक प्रस्तुत गर्दै ओलीले इलाममा एमालेलाई सहयोग गर्न भनेका थिए। 

नेताहरूका अनुसार, अहिलेको सत्ता गठबन्धनको प्रमुख दल भएकाले इलाममा एमालेका उम्मेदवारलाई सहयोग गर्न प्रधानमन्त्री प्रचण्ड तयार भएका हुन्। तर, उपचुनावमा उम्मेदवारी दिनैपर्ने दबाब पार्टीभित्रैबाट प्रचण्डलाई छ। केही नेताहरूको विरोध हुन सक्ने कुरामा पनि प्रचण्ड सचेत देखिन्छन्।

सायद यसैका निम्ति माहोल बनाउन होला, शनिबारबाट उनले वामपन्थी एकताको भाषण सुरु गरिसके। प्रचण्डले एमालेसहित वामपन्थी एकतातर्फ आफू फर्किएको शनिबार एक सार्वजनिक कार्यक्रमबाट भनेका थिए।

अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै शान्ति प्रक्रिया, संवैधानिक परिषद् लगायतका उल्झन फुकाउन प्रचण्डले एमालेको साथ खोजिरहेका छन्। यस्तोमा जित्नैपर्ने दबाब भएको एमालेलाई सहयोग नगर्दा समस्या हुने प्रचण्डको बुझाइ देखिन्छ। 

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले अहिलेसम्म इलाममा उम्मेदवारी दिने गरी नै पार्टीमा निर्णय भएको बताए। यद्यपि, आफ्नो पार्टीले यसअघि पनि सहकार्यकै नीति अवलम्बन गरेको भन्दै उनले त्यतातर्फ जान सक्ने संकेत गरे। 

‘इलाममा हामी पनि समानुपातिकतर्फ ५ हजार बढी भोट भएको दल हौँ,’ आचार्यले भने, ‘अहिलेसम्म उम्मेदवार उठाएरै जाने भन्ने कुरा छ, अन्य दलसँग सहकार्य गरेर जाने पनि हुन सक्छ।’

माओवादीकै अर्का एक पदाधिकारी भने उम्मेदवारी दर्ताका लागि अझै केही दिन बाँकी भएकाले त्यतिबेलासम्म परिस्थिति जे पनि हुन सक्ने बताउँछन्। 

माओवादीका सचिव देवेन्द्र पौडेल इलाममा एमालेसँग सहकार्य गर्न सकिने विषयमा शीर्ष नेताबीच छलफल भएको जानकारी नभएको बताउँछन्।

‘इलाममा माओवादीको उम्मेदवार उठाउने गरी नै छलफल भइरहेको छ,’ पौडेलले भने, ‘माओवादी–एमालेबीच शीर्ष तहमा के छलफल भइरहेको छ, थाहा छैन।’

तर, माओवादीकै नेताहरूबीच भने एमालेसँग सहकार्य गरेर जान सकिन्छ कि भनेर छलफल भइरहेको पौडेलको भनाइ छ।

‘सकेसम्म एमालेसँग मिलेर जाने कि भनेर पनि नेताहरूबीच छलफल भइरहेको छ। अन्तिम समयमा मिलेर जाने सम्भावना हुन सक्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .