ad ad

राजनीति


रेशम र रञ्जिताको विवाद मिलाउन प्रचण्ड सक्रिय, छुट्टाछुट्टै बोलाएर भेटे

रेशम र रञ्जिताको विवाद मिलाउन प्रचण्ड सक्रिय, छुट्टाछुट्टै बोलाएर भेटे

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८० मंगलबार १५:८, काठमाडौँ

फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन्। 

उनले मंगलबार बालुवाटार बोलाएर नागरिक उन्मुक्तिका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठसँग अलग अलग संवाद गरेका छन्। 

नागरिक उन्मुक्ति पार्टीमा खासगरी सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर देखिएको विवादले उग्र रुप लिएका बेला प्रचण्डले दुवै नेतासँग संवाद गरेका हुन्।  

प्रचण्डलाई मंगलबार बिहान नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता र कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुलाई लिएर पुगेकी थिइन्।

उनले प्रधानमन्त्रीसँग छलफलका लागि आफू बालुवाटार पुगेको बताइन्। बालुवाटारमा मेयर थारुले अघि सारेको टीकापुर विकासका योजनाबारे प्रधानमन्त्रीसँग छलफल भएको बताएकी छन्।

'टीकापुरलाई स्मार्ट सिटी बनाउने अभियानमा छौँ। मेयर सा'वले त्यसका लागि काम गरिरहनु भएको छ', उनले भनिन्, 'हामी पार्टीको विवादलाई लिएरभन्दा टीकापुरको विकासबारे छलफलका लागि गएका थियौँ। प्रधानमन्त्रीसँग पार्टीको विवादबारे त्यस्तो कुरा भएन।'

रञ्जिताले नेपालखबरसँगको कुराकानीका क्रममा पार्टीभित्रको विवाद मिल्दै जाने बताइन्। 'पार्टीमा विवाद भइरहन्छ। तर मैले रेशमजीसँग अहिले कुरा गरेकी छैन, भेट पनि हुन पाएको छैन', उनले भनिन्, 'उहाँसँग बालुवाटारमा भेट भएको छैन। उहाँ बालुवाटार गएको कुराबारे मलाई जानकारी पनि छैन।'

प्रधानमन्त्रीको सचिवालयले रेशम र रञ्जितासँग प्रधानमन्त्रीले छलफल गरेको पुष्टि गरेको छ। तर सचिवालयले रेशम र रञ्जितासँग प्रधानमन्त्रीले गरेको कुराकानीबारे केही खुलाएको छैन। 

सोमबार मात्रै अनामनगरस्थित कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेताहरूमाथि कुटपिट भएको थियो।

त्यसपछि रञ्जिताले पार्टीका गण्डकी र बागमती प्रदेश अध्यक्षलाई निष्कासन गरिदिएकी छन्। उनीहरूमाथि टीकापुरका मेयर रामलाल डगौरा थारु र संस्थापक केन्द्रीय सदस्य रमेश विकमाथि हातपातको आरोप लगाइएको छ। 

सुदूरपश्चिममा कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र मुख्यमन्त्री लिएर नयाँ गठबन्धनबाट अघि बढ्नुपर्ने पक्षमा रहेको रञ्जिता पक्षबीचको विवाद अझै चर्किरहेको छ।

सत्ता गठबन्धनले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले आधा आधा कार्यकाल मुख्यमन्त्री लिने गरी सोमबार सहमति जुटाइसकेको छ। गठबन्धनले अन्य ५ वटा प्रदेशमा पनि भागबन्डा मिलाइसकेको छ।

तर अध्यक्ष रञ्जिता र संस्थापक रेशमबीचको विवादले पार्टी फुटको संघारमा पुगिसकेको छ। रञ्जिता पक्ष संघीय सरकारमा सहभागी हुँदै सुदूरपश्चिमको मुख्यमन्त्री लिने गरी नयाँ गठबन्धनमा मिसिने पक्षमा उभिएको छ।

उता रेशमलाल भने संघमा प्रतिपक्षमा बस्दै सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारालई निरन्तरता दिनुपर्ने अडानमा छ। त्यहाँ रेशम पक्षका ५ जना सांसद मन्त्री नै भइसकेका छन्। सुदूरमा रञ्जिता पक्षका २ जना सांसद छन्। 

नागरिक उन्मुक्तिमा देखिएको किचलोका कारण सुदूरपश्चिमका मुख्यमन्त्रीले यही बिहीबार लिने भनिएको विश्वास पनि अनिश्चित भएको छ। नागरिक उन्मुक्ति विभाजित हुँदा शाहले विश्वासको मत पाउने सम्भावना कम छ। उनी राजीनामा दिने या विश्वासको मत लिने दोधारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .