ad ad

राजनीति


कांग्रेसको आकलन : इलाम २ मा डम्बरले जित्न सक्छन् यी ४ आधारमा

मुख्य प्रतिस्पर्धा भने नेकपा एमालेसँगै हुने निष्कर्ष
कांग्रेसको आकलन : इलाम २ मा डम्बरले जित्न सक्छन् यी ४ आधारमा

रुपक चौलागाईं
चैत २५, २०८० आइतबार २०:४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अहिले काठमाडौँमा छन्। पार्टीले उनलाई इलाम–२ को उपनिर्वाचनमा चुनावी कमान्डर बनाएको छ। 

दुई–तीन दिन काठमाडौँ बसेर इलाम जाने कार्यतालिका छ शर्माको। 

करिब एक साता इलाम घुमेर फर्किएका शर्माले काठमाडौँ फिरेर सभापति शेरबहादुर देउवासमक्ष त्यहाँको अवस्थाबारे ब्रिफिङ गरेका थिए। 
विश्वप्रकाशको ब्रिफिङ सुन्नुअघि नै डम्बर खड्कालाई नै उम्मेदवार बनाउने निचोडमा थिए, सभापति शेरबहादुर देउवा। 

यसैबीच, भेषराज आचार्यलाई टिकट दिलाउन संस्थापनइतर समूहको लामो रस्साकस्सी चल्यो। तर, इतर पक्षको कुरा देउवाले सुनेनन्। डम्बरले नै टिकट पाए। 

डम्बरलाई टिकट दिनुअघि इलाममा हार भए त्यसको जिम्मा देउवाले नै लिनुपर्ने भन्दै बूढानीलकण्ठमा इतर खेमाका नेताहरूको आक्रोश थियो। 

तर, निर्वाचनमा होमिएपछि इलाममा पार्टीपंक्ति एक हुने दाबी गर्छन्, उम्मेदवार खड्का। ‘एकाध साथीभाइबाहेक हामी इलाममा संस्थागत भएरै अघि बढ्छौँ,’ खड्काले नेपालखबरसँग भने, ‘टिकट लिने बेलामा पार्टीभित्र भएको आन्तरिक प्रतिस्पर्धाले निर्वाचनमा असर पार्दैन।’

अघिल्लो निर्वाचनमा झीनो मतान्तरले पराजित खड्का यसबटक जसरी पनि बदला लिने दाउमा छन्।

कांग्रेसले पनि पहिचान पक्षधर र जनजाति उम्मेदवारबीचको द्वन्द्वको फाइदा उठाएर इलाममा चुनाव जित्न सकिने आकलन गरेको छ। किनभने, कांग्रेसले मुख्य प्रतिस्पर्धी ठानेका एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिम्बु समुदायका उम्मेदवार उठाएका छन्। त्यसमाथि पहिचान पक्षधरले बेग्लै स्वतन्त्र उम्मेदवार उठाएका छन्।

निर्वाचनमा होमिएका सबै प्रतिस्पर्धीलाई कमजोर नठान्ने तर मुख्य प्रतिस्पर्धा भने नेकपा एमालेसँगै हुने कांग्रेसको निष्कर्ष छ। यही बुझाइमा रहेर इलाम–२ को प्रचारप्रसार तीव्र बनाइएको कांग्रेस जिल्ला सचिव पूर्ण गौतमले जानकारी दिए। पार्टीले निर्वाचनका बेलामा आवश्यक वस्तुस्थिति बुझ्न र कार्यकर्ता परिचालन गर्न गौतमलाई खटाएको छ। 

‘हामीले अघिबाटै निर्वाचनको तयारी तीव्र बनाएका थियौँ,’ गौतमले भने, ‘अझै व्यवस्थित रूपमा चुनावी प्रचार प्रसार अघि बढाउने गरी कार्यतालिका तय गर्दै छौँ।’

इलाम–२ मा आक्रामक प्रचार थालेका प्रतिस्पर्धी युवा नेताका बीच डम्बरले टिकट नै ढिलो पाएका थिए। सचिव गौतमले बताए अनुसार, अब पार्टी सभापति देउवासहितको उपस्थितिमा चुनावी आमसभा गर्ने तयारी छ। 

उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र अन्य केन्द्रीय नेताको अनुकूल हुने गरी कांग्रेसले सभाको तयारी गरेको गौतमले जानकारी दिए। 

कांग्रेस नेताहरूका भनाइमा, डम्बरले जित्न सक्ने यी आधार देखिएका छन्-

अघिल्लो निर्वाचनको मत
खासमा कांग्रेसले अघिल्लो निर्वाचनको मतलाई देखाउँदै जित्ने दाबी गर्दै आएको छ। ०७९ मंसिरमा भएको निर्वाचनमा कांग्रेसबाट खड्का नै उम्मेदवार थिए। 

उनले त्यतिखेर २९ हजार ९ सय ६ मत पाएका थिए। विजयी सुवास नेम्वाङभन्दा उनको १ सय १४ मत मात्रै कम थियो। 

यो मत कांग्रेसको मात्रै भने होइन। त्यतिबेला एमालेविरुद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपालगायत दलहरूको गठबन्धन थियो।

‘त्यतिबेला गठबन्धनको भोट ट्रान्स्फर भएको थियो तर हाम्रो पनि समानुपातिक मत कमजोर भने छैन,’ सचिव गौतमले भने। 

कांग्रेसले इलाममा समानुपातिकतर्फ २२ हजार ३ सय ३३ मत पाएको थियो। उक्त मतलाई आफ्नो सांगठनिक मतको रूपमा व्याख्या गर्दै सभापतिसमेत रहेका उम्मेदवार खड्का यही मत जोगाउँदा चुनाव जितिने दाबी गर्छन्। 

‘इलाममा हामी एकताबद्ध बन्ने कुरामा समस्या छैन,’ खड्काले दाबी गर्दै भने, ‘यस्तो अवस्थामा हाम्रै मत प्रतिस्पर्धाका लागि पर्याप्त छ।’

कोसीमा एमालेप्रति पहिचान पक्षधर असन्तुष्ट भएको र एमालेको भोट बढी काटिने कांग्रेसको विश्लेषण छ। 

जातीय भोटको प्रतिस्पर्धा
इलामको निर्वाचनमा जातीयता र पहिचानको मुद्दाले असर गर्ने र यसको लाभ आफूलाई मिल्ने कांग्रेसको आकलन छ। यही बुझेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत लिम्बू समुदायको उम्मेदवार रोजेको छ। 

उता, नेकपा एमालेले पनि लिम्बू समुदायकै उम्मेदवार बनाएको छ। रास्वपाले मिलन लिम्बू र एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ। 

मिलन योङहाङ र सुहाङ नेम्वाङ दुवै लिम्बु समुदायका हुन्। 

यसका अलवा नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बु, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, राप्रपाका लक्ष्मी गुरुङ, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू र योगेन्द्र गुरुङ पनि जनजाति उम्मेदवार छन्। 

कांग्रेस उम्मेदवार खड्का भने खसआर्य समुदायका हुन्। अहिलेसम्मको निर्वाचन इतिहास हेर्दा यहाँ खस आर्यले प्रतिनिधि सभाको निर्वाचन जितेको छैन।

पछिल्लो जनगणना अनुसार, इलाममा राईको बाहुल्य छ। दोस्रोमा लिम्बुको संख्या संख्या छ। २ लाख ७९ हजार ५३४ जनसंख्या रहेको इलाममा राईको मात्र ६८ हजार ३ सय ३९ को  छन्। 

लिम्बुको जनसंख्या ४५ हजार ७ छ। जनगणनाको तथ्याकंमा उल्लेख भएअनुसार क्षत्री ३८ हजार ८५६ र ब्राम्हणको ३५ हजार ५६९ जनसंख्या छ। 

‘सबैभन्दा धेरै भोट झर्ने लिम्बु समुदायको मत विशेष गरी सुहाङ र मिलनमा विभाजित हुँदा त्यसको फाइदा लिन सकिने कांग्रेसको बुझाइ हो,’ इलाममै खटिएका कांग्रेसका अर्का एक नेताले भने। 

‘भूगोल बुझेका उम्मेदवार’
कांग्रेसले खड्कालाई इलामको भूगोलमा भिजेको उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ। उनी लामो समयदेखि इलामकै भूगोलमा राजनीति गरिरहेका नेता हुन्। 

दुई साताअघि निर्वाचनको वस्तुस्थिति बुझ्न पुगेका महामन्त्री शर्माले पनि खड्काबारे आम जनतामा बलियो छाप रहेको ब्रिफिङ सभापति देउवालाई गरेका थिए। 

जनताका हरेक दुःख र अप्ठेरोमा हात दिएकाले यसपटक आफ्नो जित सहज रहेको खड्काले बताए। स्थानीय मुद्दा र योगदानका आधारले हेर्दा उमेरले मात्रै फरक नपार्ने केही दिनअघि कांग्रेस महामन्त्री शर्माले नेपालखबरसँग भनेका थिए। 

‘उमेरकै आधारले मात्र भोट जाने होइन,’ शर्माले भनेका थिए, ‘राष्ट्रिय र स्थानीय मुद्दासहित योगदान पनि हेर्नुपर्छ, उमेरकै हिसाबले मात्र हुँदो रहेनछ।’

खड्का नेविसंघको राजनीतिबाट उदाएका नेता हुन्। पार्टीको १२ औँ अधिवेशनबाट जिल्लाका कोषाध्यक्ष बनेका उनी १३ औँ अधिवेशनमा सभापतिका दाबेदार थिए। तर उनले त्यतिबेला निर्वाचनमा हार बेहोरे। पछि १४ औँ महाधिवेशनमा इतर पक्षका भेषराज आचार्यलाई हराउँदै इलाम सभापति बनेका थिए। 

संसदीय निर्वाचनमा भने उनको यात्रा सुखद छैन। ०७४ को उपनिर्वाचनमा इलाम–२ (क) मा प्रदेश सभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार राम रानासँग पराजित बने। 

त्यसपछि ०७९ मा प्रतिनिधि सभा निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग पराजित भए। 

पहिचानवादीको मुद्दामा नरम
कोसी प्रदेशको नामकरणदेखि पहिचान पक्षधरका गतिविधि अहिले पनि भइरहेका छन्। 

उपनिर्वाचनमा पहिचान पक्षधरले स्वतन्त्र उम्मेदवार नै मैदानमा उतारेका छन्। पहिचान पक्षधर ४१ वटा घटकको साथ लिएर डकेन्द्रसिंह लिम्बु थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। 

कांग्रेसले पहिचानको मुद्दामा नरम नीति अख्तियार गरेकोले पहिचान पक्षधरले एमालेलाई तारो बनाउने, अनि आफू सुविधानजक ठाउँमा हुने कांग्रेसको बुझाइ छ। 

उम्मेदवार खड्का पनि पहिचान पक्षधरका लागि आफू लागिपरेको र कांग्रेसप्रतिको बुझाइ सकारात्मक भएको दाबी गर्छन्।

प्रदेशका विभिन्न १४ जिल्ला सभापतिबाट निर्णय नै गराएर सभापति देउवासम्म यो मुद्दा पुर्‍याएको उनको खड्काको भनाइ छ। 

‘कोसी नामकरणको विषयमा नेपाली कांग्रेसले सोच्नुपर्छ, पहिचानको पक्षमा लड्दै आएका साथीभाइलाई उचित न्याय दिनुपर्छ भनेर मैले निर्णय नै गराएको छु,’ खड्काको दाबी छ।  

इलाम २ को मैदानमा अन्य प्रतिस्पर्धी नयाँ र युवा अनुहार देखिँदा खड्का पुरानो पुस्ताका प्रतिनिधित्व गर्छन्। युवा पक्षधरको मत बाँडिँदा पनि आफैलाई फाइदा पुग्ने कांग्रेसको आकलन छ। 

कांग्रेसको यो आकलन कति यथार्थपरक छ भन्नेचाहिँ चुनावी परिणामले नै देखाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .