राजनीति


रवि र बालेनको पहलमा अब २४ सै घण्टा खुल्दै ठमेल र दरबारमार्ग

रवि र बालेनको पहलमा अब २४ सै घण्टा खुल्दै ठमेल र दरबारमार्ग

रुपक चौलागाईं
चैत २९, २०८० बिहिबार २०:१६, काठमाडौँ

नयाँ वर्षबाट काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुल्ने भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानको उपस्थितिमा औपचारिक रुपमा यो अभियानको सुरुवात हुँदैछ। 

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार यसबारे जानकारी गराएको छ। 

परिषद् र बोर्डले संयुक्त विज्ञप्ति जारी गर्दै गृहमन्त्री लामिछानेको ‘सक्रियता’को प्रशंसा गर्दै प्रशासनलाई धन्यवाद दिएको छ।

खासगरी ठमेल र दरबारमार्गमा स्वदेशी र विदेशी पर्यटकसमेतलाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्न थालिएको बताइएको छ। 

चपेटामा परेका व्यवसाय र आर्थिक क्रियाकलाप चलायमान गराउन यो कदमले उल्लेख्य भूमिका खेल्ने परिषद् र बोर्डको अपेक्षा छ। 

२४ घण्टा व्यवसाय सञ्चालन हुने भएपछि केही स्थानीयले विरोध पनि गरेका थिए। गृह प्रशासनसहितले चासो दिएपछि ठमेल र दरबारमार्गबाट यसको परीक्षण सुरु गर्न व्यवसायीहरू सफल भएका हुन्।

यसरी भयो सम्भव
दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीका अनुसार विगत १० वर्षदेखि दरबारमार्गलाई २४ घण्टा खुला गराउनेबारे पहल थालिएको थियो। 

तर, लामिछाने गृहमन्त्री भएपछि कार्यान्वयन गराउन सहज भएको अधिकारी बताउँछन्।

‘१०÷१२ वर्ष पहिल्यैदेखि हाम्रो चाहना थियो। हाम्रो मात्रै चाहनाले हुने भए यसअघि नै हुन्थ्यो,’ अधिकारीले भने, ‘अहिले प्रशासनबाटै सहयोग भएपछि सम्भव भयो।’

उनका अनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्रबहादुर खत्रीसमेतको उपस्थितिमा केही साताअघि एउटा छलफल भएको थियो। 

सो छलफलमा काठमाडौँ उपत्यकामा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने केही व्यवसायीको पनि उपस्थिति थियो। 

व्यवसायीले राखेको माग बुझेर काठमाडौँका सीडीओ बस्नेतले गृहसचिव टेकनारायण अर्यालसमक्ष काठमाडौँ खुलाउनेबारे प्रस्ताव राखे।

गृहसचिव अर्याल पनि यसअघि काठमाडौँका सीडीओ थिए। अर्यालसमक्ष त्यतिबेला पनि व्यवासयीहरूले ठमेल र दरबारमार्ग खुलाउन प्रस्ताव राखेका थिए। 

‘अर्याल सीडीओ हुँदा पनि खोल्न अनुरोध गरेका थियौँ। त्यतिबेलै उहाँ पोजिटिभ हुनुहुन्थ्यो,’ यसबारे थप प्रष्ट पार्दै अधिकारीले भने, ‘अहिले उहाँ नै गृह सचिव हुनुहुन्छ र तारतम्य सबै मिल्यो र सम्भव भयो।’

बालेन्द्र पनि सकारात्मक
ठमेल र दरबारमार्ग खुलाउने विषयमा काठमाडौँ महानगरपालिका पनि सकारात्मक छ। मेयर बालेन्द्र शाह (बालेन)ले व्यवस्थित रुपमा सहर २४ घन्टै चलाउन सकिनेबारे यसअघि पनि छलफल गरेका थिए। 

सोही अभियान अन्तर्गत रहेर महानगरपालिकाले अहिले पनि ‘स्मार्ट ठमेल’ अभियान चलाइरहेको छ। 

मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार सुरक्षा चुनौतीका कारण अहिलेसम्म महानगरले यसबारे कुनै निर्णय लिन सकेको थिएन। 

‘२४ घण्टा खुलाउन अन्य समस्या होइन, महानगर पनि यसमा नेगेटिभ होइन,’ उनले भने, ‘मुख्य कुरा सुरक्षा चुनौती हो, त्यो सुरक्षा प्रदान गरिन सक्ने अवस्थामा व्यवसाय खुलाउने कुरालाई मेयरसाबले पनि सकारात्मक रुपमा लिनुभएको छ।’

मेयर सकारात्मक देखिएपछि गृहमन्त्री लामिछानेले यसबारे सक्रियता बढाएका थिए। केही दिनअघि संसदीय समितिमा पनि केही सांसदले यसबारे प्रश्न उठाएका थिए। 

त्यसको जवाफमा गृहमन्त्री लामिछानेले साँझैमा काठमाडौँका होटल–पसल बन्द हुने गरेकोले यस्तो अवस्थाको अन्त्य गर्नपर्ने बताएका थिए। 

लगत्तै उनले गृहसचिव अर्याल र सीडीओ बस्नेतसँग यसबारे छलफल अघि बढाएका थिए।

‘हाम्रो प्रयास त छँदै थियो, संयोगले रवीजी गृहमन्त्री भएर आउनुभयो,’ बोर्डका संयोजक अधिकारीले भने, ‘जसले यो कार्य सुरु गर्न निकै सहज बनायो।’ 

ठमेल विकास परिषद्का अध्यक्ष भविश्वर शर्माका अनुसार काठमाडौँ महानगरपालिकाले पनि अगाडि बढ्नु भनेको छ। 

‘स्थानीय, प्रदेश र केन्द्रको संयुक्त रुपमा अहिलेको योजना अघि बढेको हो। अस्ति गृहमन्त्रीज्यूको नेतृत्वमा काठमाडौँका नगरप्रमुख र उपप्रमुख पनि ठमेल जानुभएको थियो। उहाँहरूले पनि अघि बढ्नू भनेर भन्नुभएको छ,’ शर्माले भने।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी खत्रीका अनुसार अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ। विशेष सुरक्षा योजना नै तयार पारिएको पनि एसएसपी खत्रीले बताए। 

बढ्छ रोजगारी?
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलमा करिब ६० हजार व्यक्ति रोजगार रहेको दाबी गरे।

२ वर्गकिलोमिटरमा फैलिएको ठमेल क्षेत्रमा ८ हजार ५ सयको हाराहारीमा व्यवसायी रहेको शर्मा बताउँछन्। 

‘ठमेल भनेको स्वाभाविक रुपमा दरबारमार्गजस्तो सजिलो छैन। बाटो पनि साना छन्, ती सबै व्यवस्थापन गर्न चुनौती छ,’ उनले भने, ‘व्यवसायीको तर्फबाट हामीले गर्ने गृहकार्य गरेका छौँ।’

उनले २४ घण्टा नै व्यवसाय सञ्चालन हुने भएपछि स्वाभाविक रुपमा रोजगारी बढ्ने दाबी गरे। 

‘रोजगारी त बढ्छ नै। आर्थिक रुपमा चलायमान पनि हुन्छ,’ उनले भने, ‘राज्यले राजस्व पनि संकलन गर्न पाउनेछ।’

त्यस्तै, दरबारमार्ग विकास बोर्डका संयोजक अधिकारीका अनुसार दरबारमार्गमा करिब २ सय व्यवसाय सञ्चालनमा छन्। जसमा ६ देखि ७ हजार व्यक्ति रोजगार रहेको अधिकारीले बताए। महेन्द्रनारायणको सालिकदेखि दरबार संग्रहालयको गेटसम्मको भागमा व्यवसाय सञ्चालन हुने उनले बताए। 

स्थानीयलाई असर पर्दैन?
ठमेलमा २४ घण्टा नै व्यवसाय सञ्चालन गर्ने हल्ला चलेपछि केही स्थानीयले विरोध गरेका थिए। 

वडा नम्बर २६ का पूर्वअध्यक्ष विश्वम्भरलाल प्रधान लगायतले यो योजनाको विरोध गरे। आचारसंहिता बनाउँदा यहाँका घरधनीलाई कुनै जानकारी नगराइएको भन्दै स्थानीयको विरोध थियो। 

उक्त विरोधपछि व्यवसायीहरूले घरधनीसँग छलफल गरे। त्यसमध्ये ठमेल क्षेत्रमा पर्ने भगवानबहालमा भने सहमति जुट्न सकेन। 

सो क्षेत्रका स्थानीयले सुरक्षा संवदेनशीलतामाथि प्रश्न उठाएपछि अहिलेलाई सो क्षेत्रमा निषेध गरिएको छ।

‘भगवानबहाललाई केही समयका लागि सुरक्षित अनुभूति नगर्दासम्म बेलुकी १० देखि बिहान ६ बजेसम्म व्यावसायिक चहलपहल हुने छैन। पर्यटकलाई पनि त्यहाँ जान निषेधित गरिएको छ,’ ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष शर्माले भने। 

त्यहाँ धेरै घरधनी भएकाले उनीहरूकै इच्छा अनुसार उक्त क्षेत्रमा व्यवसाय सञ्चालन नगरिने भएको उनले बताए। 

व्यवसाय सञ्चालन गर्दैगर्दा उच्च सुरक्षा व्यवस्था मिलाइएकोले कुनै समस्या नहुने शर्मा बताउँछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .