राजनीति


बालुवाटारमा प्रचण्ड, ओली र रविबीच तीन घण्टा वार्ता

बालुवाटारमा प्रचण्ड, ओली र रविबीच तीन घण्टा वार्ता

फाइल तस्बिर


नेपालखबर
बैशाख २३, २०८१ आइतबार १५:१२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। विशेषगरी गृहमन्त्री लामिछानेमाथि नेपाली कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएकोबारे छलफल भएको हो।

‘बजेट निर्माण प्रक्रिया, प्रदेश सरकार, विश्वविद्यालय लगायतका विषयमा साझा धारणा बनाउनेगरी उहाँहरू छलफलमा जुट्नुभएको हो,’ बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो।

पार्टी संसदीय दलको बैठकदेखि सर्लाहीमा आयोजित कार्यक्रमसम्म सकेर प्रचण्डले शनिबार साँझ ओली र लामिछानेसँग झण्डै तीन घण्टा छलफल गरेका हुन्। 

सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ। सो अधिवेशन सुरु हुनुअघि नै एकखालको सहमति जुटाउनेगरी प्रधानमन्त्री प्रचण्डले केही दिनदेखि नै पहल गरेका थिए। 

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले यसबारे ब्रिफिङ गरेका थिए। बैठकमा सहभागी एक सांसदका अुनसार, पार्टीमा छलफल गरेपछि मात्रै सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूसँग छलफल हुने प्रचण्डले बताएका थिए। 

सोही अनुसार उनले शनिबार साँझ नै गृहमन्त्री लामिछाने र अध्यक्ष ओलीसँग एक चरणको छलफल सकाएका छन्। 

प्रचण्डले देशभरका सहकारी समस्या समाधान गर्नेगरी छानबिन समिति बनाउने प्रस्तावसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट्ने तयारी गरेका छन्।

त्यस्तै, विभिन्न प्रदेशमा देखिन थालेको सत्ता संकट समाधान गर्नेबारे प्रचण्ड–ओली निरन्तर छलफलमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .