नेपाली कांग्रेसले संसद्मा प्रमुख प्रतिपक्षले उठाएका महत्त्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको बताएका छन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सिंहदरबारमा पत्रकारसँगको भेटघाटमा संसद्मा प्रमुख प्रतिपक्षले उठाएका महत्त्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको बताएका हुन्।
उनले मन्त्री वा कुनै व्यक्ति विशेष नभई हजारौँ जनताको अर्बाैं रकम हिनामिना र अपचलन भएको विषयमा छानबिन गरौँ भन्दा त्यसलाई बेवास्ता गरिएको आरोप लगाए। प्रमुख सचेतक लेखकले भने, ‘जनताले छाक काटेर सहकारीमा राखेको रकम अपचलन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ। मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको सहकारी अभियानलाई राम्रो बनाएर लैजानुपर्छ।’
आफ्नो पार्टी सरकारमा रहँदा पनि ऐन निर्माणका लागि आवश्यक विधेयक ल्याउने र पारित गर्ने विषयमा कमीकमजोरी भएको स्वीकार्दै उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ, हिजोको त्यो कमी कमजोरी यथावत छ। विधायनको काम कमजोर भयो भनी आएका सुझाव बोधगम्य छन्।’
संसद्को प्रभावकारिता हुन सकेन र जनतालाई संसद् हाम्रा लागि हो भन्ने अनुभूति भएन भने व्यवस्थालाई नै कमजोर तुल्याउन सक्ने चिन्ता पनि उनले व्यक्त गरे।
नेता लेखकले संसद्लाई काम दिने र जवाफदेही तुल्याउने जिम्मेवारी सरकारकै भएको धारणा पनि राखे।
लेखकले एमालेसँग नयाँ समीकरण बनाउने र अहिलेको गठबन्धन भत्काउने खेलमा आफ्नो पार्टी नरहेको प्रतिक्रिया पनि दिए।
देश र जनताका महत्त्वपूर्ण र आधारभूत विषयमा सरकार, प्रमुख प्रतिपक्ष दलबीच सहमति, सहकार्य र समन्वय हुन जरुरी रहेको बताउँदै उनले यसपटक पहिलाजस्तो छाया सरकार बनाएर अघि बढ्ने मनःस्थितिमा कांग्रेस नरहेको जानकारी दिए।
Shares
प्रतिक्रिया