राजनीति


रास्वपाकै नेता भन्छन्– ओलीलाई अँगालेर प्रचण्ड बोकेपछि मिसन ८४ ले हावा खायो

‘पार्टीमा यस्तै अवस्था रहे रास्वपाको औचित्य सकिन्छ’
रास्वपाकै नेता भन्छन्– ओलीलाई अँगालेर प्रचण्ड बोकेपछि मिसन ८४ ले हावा खायो

पार्टी सभापति रवि लामिछानेले आफूविरुद्ध उठेको सवालमा निर्धक्क संसदीय छानबिन समिति बनाएर सहयोग गर्नुपर्ने कार्कीको तर्क छ


नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १३:३३, काठमाडौँ

पहिलो प्रयासमै २१ सिट लिएर संघीय संसद्को चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बारे पछिल्लो समय पार्टीभित्रकै नेता कार्यकर्ताहरू आलोचनात्मक टिप्पणी थालेका छन्। 

हतार गरेर पुरानै दलसँग सरकारमा जानुहुँदैन भन्ने मत बढिरहँदा रास्वपा दोस्रोपटक प्रचण्ड नेतृत्वको सरकारमा बसेर काम गरिरहेको छ। 

विशेषगरी पछिल्लो पटक इलाम–२ को उपनिर्वाचनमा पार्टीले ब्यहोरेको हारपछि पार्टीभित्र अझै आलोचनाका स्वरहरू बढ्न थालेका छन्। 

रास्वपा केन्द्रीय सदस्य गणेश कार्की सुरुदेखि नै नेतृत्वले गरेका गल्तीबारे खुलेर आलोचना गर्नेमध्येका एक हुन्।

बिहीबार न्युज एजेन्सीसँग कुराकानी गर्ने क्रममा उनले सरकारमा गएका कारणले पार्टीमा ठूलो असन्तुष्टिको आवाज उठिरहेको टिप्पणी गरेका छन्। 

‘हामी सरकारमा मिसन ०८४ कै आधारमा जान खोजेको हो, गएको पनि हो। तर अर्कैको मिसन ८४ को लागि पुग्यौँ। हामीले नो नट एगेन भनेको ओलीलाई अँगालो मारेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा, खायो,’ अन्तर्वार्ताका क्रममा उनले भनेका छन्। 

पुरानै दलसँग लाग्नुले नयाँ र आशा जगाएको आफ्नो दललाई ठूलो क्षति हुने उनको विश्लेषण छ। 

‘हामीलाई यसले मिसन ०८४ मा ठूलो क्षति गर्छ। यो निर्णयले कसैलाई पनि खुशी दिएको छैन,’ कार्कीले भनेका छन्। 

उनले पार्टीमा यस्तै अवस्था रहिरहे औचित्य नै समाप्त हुनसक्ने आशंका समेत गरेका छन्। 

जतिसक्दो चाँडो सरकारबाट बाहिरिँदा पार्टी र मिसन ०८४ लाई फाइदा पुग्ने उनले बताएका छन्। 

उनले पार्टी सभापति रवि लामिछानेले आफूविरुद्ध उठेको सवालमा निर्धक्क संसदीय छानबिन समिति बनाएर सहयोग गर्नुपर्ने तर्क पनि पेस गरेका छन्। 

‘मेरो विचारमा विपक्षीले संसद रोकेर संसदीय छानविन गर्नुपर्छ भन्यो भने बनाउनु पर्छ भन्ने हो। तर यहाँ समस्या देखियो, यो दुःखद् छ,’ उनले भने।

सभापति लामिछानेको व्यक्तिगत मुद्दाका विषयमा पार्टी जोडिन नहुने तर्क उनले गरे। 

‘हामीले  दुई वटा रवि लामिछाने छुट्टयाउन अप्ठ्यारो मानिरहेका छौँ। व्यक्तिगत रूपमा रवि लामिछानेसँग जोडिएका मुद्दामा पार्टी जोडिन हुँदैनथ्यो। जे–जे व्यहोर्नुपर्ने व्यक्तिगत रूपमा रविजीले व्यहोर्नु हुन्थ्यो,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .