नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले यस्तो बताएका हुन्।
विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भएकाले पनि विदेशी लगानी भित्र्याउने प्रयोजनका लागि गठित प्रधानमन्त्री नेतृत्वको बोर्ड तत्काल खारेज गर्नुपर्ने उनको तर्क थियो। ‘विदेशी पुँजी ल्याएर देश विकास हुँदैन।, बरु उपनिवेश हुन्छ,’ उनको तर्क थियो, भारतमा व्यापार गर्न आएको इष्ट इण्डिया कम्पनीले भारतलाई २१० वर्ष उपनिवेश बनाएको थियो। त्यसकारण विदेश लगानी ल्याउने लगानी बोर्डलाई तत्काल खारेज गर्नुपर्छ।’
सांसद सुवालले काठमाडौं उपत्यकाभित्र रहेका सबै औद्योगिक क्षेत्र हटाउन पनि सरकारलाई दबाब दिए। काठमाडौं उपत्यकाको वातावरण बिग्रन नदिन पनि ती औद्योगिक क्षेत्रहरु यहाँबाट हटाउनुपर्ने उनको भनाई थियो। ‘काठमाडौ उत्यकामा रहेका औद्यौगिक क्षेत्रलाई यहाँबाट हटाउनु पर्छ । यहाँको प्रदूषण कम गर्न पनि यो आवश्यक छ,’ उनले भने।
सरकारले जग्गा र भौतिक पूर्वाधार निर्माण गरी औद्योगिक क्षेत्र स्थापना गर्ने र विदेशी लगानी त्यहाँ लगाउने भनेको गाई मारी बाघ पोस्ने खालको नीति भएकाले त्यो ठीक नभएको उनको तर्क थियो। हाम्रो जग्गा, हाम्रो श्रम, अनि विदेशी पुँजीको रजाई गर्ने खालको सरकारको नीति रहेकाले त्यसमा सहमत हुन नसकिने पनि सुवालले बताए।
Shares
प्रतिक्रिया