ad ad

राजनीति


चिवाभन्ज्याङ नाका र पाक्युङ-काठमाडौं हवाइ उडान चाँडै सञ्चालनमा आउँछ : भारतीय लोकसभा सदस्य सुब्बा

चिवाभन्ज्याङ नाका र पाक्युङ-काठमाडौं हवाइ उडान चाँडै सञ्चालनमा आउँछ : भारतीय लोकसभा सदस्य सुब्बा

नेपालखबर
असार १५, २०८१ शनिबार १३:५१, काठमाडौँ

भारतको सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किम (सिक्किम) का लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले सिक्किम सरकार नेपालसँगको सम्बन्ध बिस्तारका लागि लागि परेको बताएका छन्।

लोकसभामा नेपाली भाषामा शपथग्रहण गरेसँगै चर्चामा आएका सुब्बाले सिक्किम सरकार नेपालसँग हवाई, सडक सञ्जाल, आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध बिस्तारका लागि हरप्रयत्न गर्न तयार रहेको बताए। 


न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पाक्युङ-काठमाडौंको बीचमा हवाई उडान सुरु गर्नका लागि आवश्यक अध्ययन भइरहेको भन्द्र र चाँडै नै हवाइ उडान सुरू हुने विश्वास समेत व्यक्त गरे। 

‘सिक्किम सरकारले चाहेको के हो भने नेपालसँग कुनैपनि तरिकाले हाम्रो बीचमा सम्बन्ध बिस्तार गर्न सकिन्छ, त्यो कोसिसमा हामी छाै‌‌‌,’ सुब्बाले भने, ‘हवाईबाट होस् वा सडकबाट होस्। चाहे अरु कुनैपनि तरिकाले नेपाल र भारतको बीचको जुन सम्बन्ध छ, त्यसलाई बलियो बनाउनमा सिक्किमले गर्नपर्ने जति गर्न हामी तयार छौँ।’
 
उनले पाख्युङ-काठमाडौंको बीचमा उडान सुरु भए त्यसले नेपालको पर्यटनमा समेत फाइदा पुर्‍याउने दाबी गरे। ‘पाख्युङ-काठमाडौंको बीचमा फ्लाइट सुरू भयो भने धेरै कुराको सुविधा हुन्छ,’ उनले भने, ‘नेपालमा जस्तै सिक्किममा पनि धेरै पर्यटकहरु आउँछन्। नेपालमा पनि पर्यटक बढ्नेछन्। यसलाई अघि बढाउन हाम्रो सरकार सकारात्मक छ। हाम्रो प्रयास पनि चाँडो सुरू गर्ने कोसिस छ।’

उनले सिक्किम क्रान्तिकारी मोर्चा सरकार आएपछि नेपाल र सिक्किम सीमानाको चिवाभन्ज्याङ नाका खोल्न पहल गरिरहेको जानकारी दिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङले त्यसका लागि धेरै पहले गरेको जिकिर समेत गरे।

सुब्बाले भने, ‘सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आएपछि चिवाभञ्ज्याङ पहिलो पटक पुग्ने मुख्यमन्त्री सायद प्रेमसिंह तामाङ हुनुहुन्छ। सिक्किम एउटा राज्यलाई नेतृत्व दिनुहुने उहाँ स्वयं एक पटक च्विाभञ्ज्याङ पुगेर त्यहाँको पोसिबिलिटी नेपालसँगको एउटा इकोनोमिक करिडोर बनाउने, मल्टीमोडल करिडोर बनाउने पोसिबिलिटीलाई ग्राउण्ड जिरोमै गएर मुख्यमन्त्री उहाँ हुनुहुन्छ। उहाँको प्रतिवद्धताको कारणले गर्दा आज भारत हाम्रो सेन्ट्रल लिडरसिप जो हुनुहुन्छ, उहाँहरु पनि यो विषयमा एकदमै पोजिटिभ हुनुहुन्छ। जुन चिवाभञ्ज्याङसम्म जाने रोड छ, त्यसलाई हाइवे बनाएर त्यो नाकालाई मल्टिमोडल करिडोर बनाउने कामको प्रपोजल अहिले अघि बढिरहेको छ। केन्द्र सरकारले पनि हाइवेका निम्ति सर्वे गर्ने बताइसक्नुभएको छ।’

सुब्बाले भारतमा नेपाली भाषीहरू धेरै रहेको र यसमा आफूहरुलाई गर्वको महसुस हुने बताए। नेपाली भाषालाई अझै प्रचलित बनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे। ‘भारत देशमा हामी नेपाली भाषीहरु धेरै बस्छौँ। यो हाम्रो भाषा हो। हामीलाई यसमा गर्व छ। हामीले बोल्ने भाषामा मैले शपथग्रहण गर्न पाउनु भनेको मेरो ठूलो सौभाग्य हो। यसमा जो जतिले पनि मलाई माया नेपाली भाषालाई माया गर्नुहुन्छ, नेपाली भाषामा शपथग्रहण गर्दा खसी जाहेर गर्नुभयो, मलाई माया पठाउनु भयो। सम्पूर्णप्रति म आभार व्यक्त गर्न चाहन्छु। हाम्रो भाषालाई अझै अघि बढाउने, नेपाली भाषालाई अझै प्रचलित बनाउने पनि म कटिवद्धता जनाउँछु। हामीले हाम्रो भाषालाई नै अझै प्रचलित बनाउनु पर्छ। यो भाषा मीठो र राम्रो भाषा छ',सुब्बाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .